[1] हे याहवेह, मेरो परमेश्वर, म तपाईंमा नै शरण पर्दछु; मेरो खेदो गर्नेहरूबाट मलाई बचाउनुहोस् र छुटकारा दिनुहोस्,
[2] नत्रता तिनीहरूले मलाई सिंहले झैँ फहराउनेछन्; मेरो उद्धार गर्ने कोही नहुँदा तिनीहरूले मलाई टुक्रा-टुक्रा पार्नेछन्।
[3] हे याहवेह, मेरा परमेश्वर, यदि मैले यो गरेको छु र यदि मेरा हातबाट केही अधर्म भएको छ भने;
[4] यदि मसँग मिल्ने मित्रहरूलाई मैले खराबी गरेको छु भने; वा कारणविना मेरा शत्रुहरूलाई केही लुटेको छु भने;
[5] यदि मैले यसो गरेको भए, मेरो शत्रुहरूले मलाई खेदून् र पक्रून्; तिनीहरूले मेरो प्राणलाई धुलोमा कुल्चिऊन्, र मेरो इज्जत धुलोमा पारून्। सेला
[6] हे याहवेह, तपाईंको क्रोधमा उठ्नुहोस्; मेरा शत्रुहरूको क्रोधको विरुद्धमा खडा हुनुहोस्, हे मेरा परमेश्वर, उठ्नुहोस् र आफ्नो न्याय आदेश गर्नुहोस्।
[7] जाति-जातिहरू तपाईंको वरिपरि भेला होऊन्; उच्च सिंहासनमा विराजमान भई तिनीहरूमाथि शासन गर्नुहोस्;
[8] याहवेहले जाति-जातिहरूको न्याय गरून्। हे याहवेह, सर्वोच्च परमेश्वर मेरो धार्मिकताअनुसार, र मेरो इमानदारीताअनुसार निर्दोष प्रमाणित गर्नुहोस्।
[9] हे धार्मिक परमेश्वर, जसले हृदय र मन जाँच्नुहुन्छ, दुष्टहरूको उपद्रवको अन्त्य गर्नुहोस्, अनि धर्मीहरूको सुरक्षा गर्नुहोस्।
[10] सर्वोच्च परमेश्वर मेरो ढाल हुनुहुन्छ, जसले सोझो हृदय भएकाहरूलाई बचाउनुहुन्छ।
[11] परमेश्वर धार्मिक न्यायकर्ता हुनुहुन्छ, यस्तो परमेश्वर, जसले प्रतिदिन आफ्नो क्रोध प्रकट गर्नुहुन्छ।
[12] यदि मानिसले पश्चात्ताप गरेन भने, उहाँले आफ्नो तरवारमा शान लगाउनुहुनेछ; उहाँले आफ्नो धनुमा ताँदो चढाउनुहुनेछ र निसाना लगाउनुहुनेछ।
[13] उहाँले आफ्ना प्राणघातक हातहतियार तयार पार्नुभएको छ; उहाँले आफ्ना अग्निकाँडहरू तयार पार्नुभएको छ।
[14] जसले अधर्मको गर्भधारण गर्दछ, त्यसले सङ्कष्ट बोक्दछ र छललाई जन्म दिन्छ।
[15] जसले खनेर खाडल बनाउँछ र अरूलाई गिराउन चाहन्छ, त्यसले खनेको खाडलमा आफैँ जाकिन्छन्।
[16] त्यसले रचेका उपद्रवले आफैँलाई नै बेर्नेछ; र त्यसको अत्याचार त्यसकै टाउकोमा खनिन्छ।
[17] उहाँका धार्मिकताको कारण म याहवेहलाई धन्यवाद चढाउनेछु र सर्वोच्च याहवेहको नामको स्तुति गाउनेछु।