Skip to content
Opens in a new window
Listen to this chapter • 4:30

[1] याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

[2] इस्राएलले भनोस्: “उहाँको अचुक प्रेम सदाकाल रहिरहन्छ।”

[3] हारूनको घरानाले भनोस्: “उहाँको अचुक प्रेम सदाकाल रहिरहन्छ।”

[4] याहवेहको भय मान्‍नेहरूले भनून्: “उहाँको अचुक प्रेम सदाकाल रहिरहन्छ।”

[5] मेरो कष्‍टमा मैले याहवेहलाई पुकार गरेँ, उहाँले मलाई जवाफ दिनुभयो, र मलाई विशाल ठाउँमा ल्याउनुभयो।

[6] याहवेह मेरो साथमा हुनुहुन्छ, म डराउनेछैनँ। मरणशील मानिसले मलाई के गर्न सक्छ र?

[7] याहवेह मेरो साथमा हुनुहुन्छ; उहाँ मेरा सहायक हुनुहुन्छ। म मेरा शत्रुहरूमाथि विजयको दृष्‍टिले हेर्छु।

[8] मानिसमाथि भरोसा गर्नुभन्दा त याहवेहमाथि शरण लिनु उत्तम हो।

[9] राजकुमारहरूमा भरोसा गर्नुभन्दा त याहवेहमाथि शरण लिनु उत्तम हो।

[10] सम्पूर्ण राष्ट्रहरूले मलाई घेरेका थिए, तर याहवेहका नाममा मैले तिनीहरूलाई नष्‍ट पारेँ।

[11] तिनीहरूले मलाई घेरेका थिए, हो तिनीहरूले घेरेका थिए, तर याहवेहका नाममा मैले तिनीहरूलाई नष्‍ट पारेँ।

[12] तिनीहरूले मलाई मौरीहरूले झैँ घेरेका थिए; तर तिनीहरू काँडाहरूमा लागेका आगोझैँ निभिहाले; याहवेहका नाममा मैले तिनीहरूलाई नष्‍ट पारेँ।

[13] मेरा शत्रुले मलाई घचेटे, र म लड्नै लागेको थिएँ; तर याहवेहले मलाई सहायता गर्नुभयो।

[14] याहवेह मेरो बल र मेरो रक्षा हुनुहुन्छ, उहाँ मेरो मुक्ति हुनुभएको छ।

[15] धर्मीहरूका पालहरूमा हर्ष र विजयको सोर गुञ्जिन्छ: “याहवेहका दाहिने बाहुलीबाट पराक्रमका काम भएका छन्!

[16] याहवेहका दाहिने बाहुली उच्‍च पारिएको छ; याहवेहका दाहिने बाहुलीबाट पराक्रमका काम भएका छन्।”

[17] म मर्नेछैनँ, तर जीवित रहनेछु, र याहवेहले के गर्नुभएको छ, त्यो घोषणा गर्नेछु।

[18] याहवेहले मलाई कठोर दण्ड दिनुभएको छ; तर उहाँले मलाई मर्न दिनुभएको छैन।

[19] मेरा निम्ति धार्मिकताका ढोकाहरू खोलिदिनुहोस्; म तीभित्र पस्‍नेछु र याहवेहलाई धन्यवाद दिनेछु।

[20] याहवेहको ढोका यही हो, जसबाट धर्मी जनहरू प्रवेश गर्नेछन्।

[21] म तपाईंलाई धन्यवाद दिनेछु; किनकि तपाईंले मलाई जवाफ दिनुभयो, तपाईं मेरो मुक्ति हुनुभएको छ।

[22] जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही नै कुनाको मुख्य ढुङ्गा बन्यो;

[23] यो याहवेहले गर्नुभएको हो; अनि यो हाम्रो दृष्‍टिमा आश्‍चर्यमय छ।

[24] आजको दिन याहवेहले सृजनुभएको हो; यसमा हामी आनन्द मनाऔँ र रमाऔँ।

[25] हे याहवेह, हामीलाई बचाउनुहोस्; हे याहवेह, हामीलाई सफलता दिनुहोस्!

[26] याहवेहको नाममा आउने धन्यको हो, हामी याहवेहको भवनबाट तिमीहरूलाई आशीर्वाद दिन्छौँ।

[27] याहवेह नै परमेश्‍वर हुनुहुन्छ; र उहाँले आफ्नो ज्योति हामीमाथि चम्काउनुभएको छ। हातमा स्याउला लिएर शोभायात्रामा सहभागी होओ, हर्षकासाथ डोरीहरूले वेदीका सिङहरूमा बाँध!

[28] तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद चढाउनेछु; तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई उच्‍च पार्नेछु।

[29] याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।

भजनसंग्रह — Chapters