[1] हे स्वर्गदूतहरू हो, याहवेहको गुणगान गर। याहवेहलाई महिमा र शक्तिको श्रेय देओ।
[2] याहवेहलाई उहाँको नाम अनुसारको महिमा देओ; याहवेहलाई उहाँको पवित्रतामा सुशोभित भएर आराधना गर।
[3] याहवेहको आवाज पानीहरूमाथि प्रतिध्वनि हुँदछ; महिमाका परमेश्वर गर्जनुहुन्छ; याहवेह शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्छ।
[4] याहवेहको आवाज शक्तिशाली छ; याहवेहको आवाज प्रतापी छ।
[5] याहवेहको आवाजले देवदारुका काठहरू भाँचिन्छन्; याहवेहले लेबनानका देवदारुका काठहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ।
[6] उहाँले लेबनानलाई एउटा बाछाझैँ, र सिरिओनलाई जवान जङ्गली साँढेझैँ उफ्रन लगाउनुहुन्छ।
[7] याहवेहको आवाजले बिजुलीका चमकझैँ प्रहार गर्छ।
[8] याहवेहको आवाजले मरुभूमिलाई हल्लाउँदछ; याहवेहले कादेशको मरुभूमिलाई थर्कमान पार्नुहुन्छ।
[9] याहवेहको आवाजले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्छ, र जङ्गललाई लाछलुछ पारेर उजाड पारिदिन्छ। उहाँको भवनमा सबै जना “महिमा!” भन्दै कराउँछन्।
[10] याहवेह बाढी माथिको सिंहासनमा विराजमान हुनुहुन्छ; याहवेह राजा भई सदासर्वदै सिंहासनमा विराजमान हुनुहुन्छ।
[11] याहवेहले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ; याहवेहले आफ्ना मानिसहरूलाई शान्तिको आशिष् दिनुहुन्छ।