[1] उच्च सोरले म याहवेहलाई पुकार्दछु; दयाको निम्ति याहवेहमा म आफ्नो आवाज उचाल्छु।
[2] उहाँको सामु म आफ्नो उजुर पोख्दछु; उहाँको सामु म आफ्नो पीडा प्रकट गर्दछु।
[3] मेरो आत्मा मभित्र व्याकुल हुँदा, त्यो तपाईं नै हुनुहुन्छ, जसले मेरो मार्ग जान्नुहुन्छ। म हिँड्ने मार्गमा मानिसहरूले मेरो निम्ति पासो थापेका छन्।
[4] मेरो दाहिने हातपट्टि हेर्नुहोस्; कसैलाई मेरो वास्ता छैन। मेरो शरणस्थान कहीँ छैन; कसैले मेरो जीवनको वास्ता गर्दैन।
[5] हे याहवेह, म तपाईंलाई पुकार गर्छु; म भन्दछु, “तपाईं मेरो शरणस्थान हुनुहुन्छ, अनि जीवितहरूका देशमा मेरो भाग हुनुहुन्छ।”
[6] मेरो पुकार सुनिदिनुहोस्; किनकि म ज्यादै नम्र भएको छु; मलाई खेद्नेहरूबाट मलाई बचाउनुहोस्; किनकि तिनीहरू मभन्दा धेरै बलिया छन्।
[7] मेरो कैदबाट मलाई छुटाउनुहोस्; ताकि म तपाईंको नामको प्रशंसा गर्न सकूँ। म प्रतिको तपाईंको भलाइको कारण, धर्मीहरू मेरा चारैतिर भेला हुनेछन्।