[1] हे याहवेह, मेरा शब्दहरूमा कान लगाइदिनुहोस्; मेरो सुस्केरामा ध्यान दिनुहोस्।
[2] हे मेरा राजा, मेरा परमेश्वर, सहायताको निम्ति मेरो पुकार सुनिदिनुहोस्; किनकि तपाईंलाई म प्रार्थना गर्दछु।
[3] हे याहवेह, बिहानै तपाईंले मेरो सोर सुन्नुहुन्छ; सबेरै तपाईंको अगि मेरो बिन्ती राख्दछु, र आशामा प्रतीक्षा गर्दछु।
[4] तपाईं दुष्टतासँग प्रसन्न हुनुहुने परमेश्वर हुनुहुन्न; दुष्ट मानिसहरू तपाईंसँग बास गर्न सक्दैनन्।
[5] घमण्डी मानिसहरू तपाईंको सामु खडा हुन सक्दैनन्। दुष्ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्छ।
[6] झूटो बोल्नेहरूलाई तपाईंले नष्ट पार्नुहुन्छ; रक्तपात गर्ने र छलीहरूलाई तपाईं याहवेहले घृणा गर्नुहुन्छ।
[7] तर मचाहिँ तपाईंको अचुक प्रेमद्वारा तपाईंको भवनभित्र आउनेछु; तपाईंको पवित्र मन्दिरतिर म श्रद्धासाथ दण्डवत् गर्नेछु।
[8] हे याहवेह, तपाईंको धार्मिकतामा मलाई डोर्याउनुहोस्; मेरा शत्रुहरूका कारण, तपाईंको मार्ग मेरो सामु सोझो पारिदिनुहोस्।
[9] तिनीहरूका मुखका एउटै शब्दमा पनि सत्यता छैन; तिनीहरूका हृदय विनाशले भरिएको छ। तिनीहरूका घोक्रो खुल्ला चिहानजस्तै छ; तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्।
[10] हे परमेश्वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्; तिनीहरूका आफ्नै जाल पतनको कारण होस्। तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्यागिदिनुहोस्; किनकि तिनीहरूले तपाईंका विरुद्धमा विद्रोह गरेका छन्।
[11] तर तपाईंमा शरण लिनेहरूचाहिँ खुशी होऊन्; र तिनीहरू आनन्दले गीत गाऊन्। तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्; र तपाईंको नामलाई प्रेम गर्नेहरू तपाईंमा आनन्दित होऊन्।
[12] निश्चय नै, हे याहवेह, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ; तपाईंले ढाललेझैँ, तपाईंको कृपादृष्टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ।