[1] हे परमेश्वर, किन तपाईंले हामीलाई सधैँका लागि त्याग्नुभएको छ? तपाईंको क्रोध तपाईंका खर्कका भेडाहरूका विरुद्धमा किन दन्कन्छ?
[2] आफ्ना राष्ट्रलाई सम्झना गर्नुहोस्, जसलाई तपाईंले प्राचीन समयमा किन्नुभएको थियो; जसलाई तपाईंका उत्तराधिकारका प्रजा हुनलाई तपाईंले मोल तिरेर छुटाउनुभयो— सियोन पर्वत, जहाँ तपाईं बास गर्नुहुन्छ।
[3] आफ्ना कदमहरू यी अनन्त भग्नावशेषतिर बढाउनुहोस्; पवित्रस्थानमा भएका सबै थोक शत्रुहरूले नष्ट पारेका छन्।
[4] तपाईंले हामीसँग भेट गर्नुभएको ठाउँमा तपाईंका वैरीहरू गर्जेका छन्; तिनीहरूले आफ्ना झण्डाहरू विजयको चिन्हको रूपमा गाडेका छन्।
[5] झाडीका रूखहरू बन्चरोले काट्दै नष्ट पार्ने मानिसजस्तै तिनीहरू थिए।
[6] तिनीहरूले ठूलो बन्चरो र घनले बुट्टादार काठहरूलाई चकनाचुर पारे।
[7] तपाईंका पवित्रस्थानलाई तिनीहरूले आगो लगाए; तपाईंका नामको वासस्थान तिनीहरूले अपवित्र पारे।
[8] तिनीहरूले आफ्ना मनमा भने, “हामी तिनीहरूलाई पूर्ण रूपले नाश पारौँ!” तिनीहरूले देशमा भएका परमेश्वरका आराधना गरिने हरेक पवित्रस्थान जलाए।
[9] परमेश्वरबाट हामीले कुनै अलौकिक चिन्हहरू पाएका छैनौँ; अब कोही अगमवक्ता बाँकी रहेनन्, यस्तो हालत कहिलेसम्म रहने हो, सो हामी कसैले जान्दैनौँ।
[10] हे परमेश्वर, कहिलेसम्म शत्रुहरूले तपाईंको ठट्टा उडाउनेछन्? के वैरीहरूले तपाईंको नामको निन्दा सदासर्वदा गर्नेछन् त?
[11] किन तपाईं आफ्नो बाहुली, तपाईंको दाहिने हात रोक्नुहुन्छ? हस्तक्षेप गर्नुहोस् र तिनीहरूलाई नष्ट पार्नुहोस्।
[12] तर परमेश्वर प्राचीन समयदेखि नै मेरा राजा हुनुहुन्छ; उहाँले नै पृथ्वीमा मुक्ति ल्याउनुहुन्छ।
[13] तपाईंले नै आफ्नो शक्तिद्वारा समुद्रलाई दुई भाग पार्नुभयो; तपाईंले समुद्रको विशाल जन्तुहरूका टाउकाहरू कुच्याउनुभयो।
[14] तपाईं नै हो, जसले लिव्यातनको शिर कुच्याउनुभयो; र त्यसलाई मरुभूमिका पशुहरूलाई आहाराको निम्ति दिनुभयो।
[15] तपाईंले छहरा र नदीनालाका मूल फुटाइदिनुभयो; तपाईंले अटुट बगिरहने नदीहरूलाई सुकाइदिनुभयो।
[16] दिन तपाईंको हो, र रात पनि तपाईंकै हो; तपाईंले नै सूर्य र चन्द्र स्थापित गर्नुभएको हो।
[17] तपाईं नै हो, जसले पृथ्वीका सबै सिमानाहरू बनाउनुभयो; तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु दुवैलाई बनाउनुभयो।
[18] हे याहवेह, तपाईंलाई शत्रुहरूले कसरी खिसी गर्थे, सम्झनुहोस्; र मूर्खहरूले कसरी तपाईंका नामको गिल्ला गर्थे।
[19] आफ्नो ढुकुरको प्राण जङ्गली जनावरहरूका हातमा नसुम्पनुहोस्; आफ्ना पीडित मानिसहरूका प्राणलाई सदाकाल नभुल्नुहोस्।
[20] तपाईंका करार सम्झनुहोस्; किनकि देशका अँध्यारा ठाउँहरू हिंसाले भरिएका छन्।
[21] थिचोमिचोमा परेकाहरू लाजमा परेर पछि नहटून्; पीडित र अभावमा हुनेहरूले तपाईंको नामको प्रशंसा गरून्।
[22] हे परमेश्वर, उठ्नुहोस्, र आफ्नो पक्षमा लड्नुहोस्; मूर्खहरूले कसरी दिनभरि नै तपाईंको ठट्टा गर्दछन्, सो कुरा सम्झनुहोस्।
[23] तपाईंका विरोधीहरूको रिसको होहल्ला र तपाईंका शत्रुहरूले गरिरहेका खैलाबैला नभुल्नुहोस्।