[1] हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ? मलाई बचाउनको लागि तपाईं किन धेरै टाढा हुनुहुन्छ? मेरा गुहारका शब्दहरूबाट तपाईं किन यति धेरै टाढा हुनुहुन्छ?
[2] हे मेरा परमेश्वर, म दिनमा पुकार्छु, तर तपाईंले जवाफ दिनुहुन्न; रातमा पनि मलाई विश्राम छैन।
[3] तरै पनि तपाईं पवित्र परमेश्वर, सिंहासनमा विराजमान हुनुहुन्छ; इस्राएलले प्रशंसा गर्ने तपाईं मात्र हुनुहुन्छ।
[4] हाम्रा पितापुर्खाले तपाईंमा नै भरोसा राखेका थिए; तिनीहरूले भरोसा राखे, र तपाईंले तिनीहरूलाई छुटकारा गर्नुभयो।
[5] तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले बचाउनुभयो; तिनीहरूले तपाईंमाथि भरोसा गरे, र शर्ममा परेनन्।
[6] तर म त मानिस होइनँ, एउटा किरा मात्र हुँ; सबैबाट गिल्ला गरिएको र मानिसहरूद्वारा अपमानित गरिएको।
[7] मलाई देख्नेहरू सबैले मेरो गिल्ला गर्दछन्; तिनीहरूको टाउको हल्लाउँदै अपमान गर्दै भन्दछन्:
[8] “त्यसले याहवेहमा भरोसा गर्दछ, याहवेहले नै त्यसलाई बचाऊन्; किनकि त्यसले उहाँमा नै रमाहट गर्दछ, उहाँले नै त्यसलाई छुटकारा देऊन्।”
[9] तपाईंले नै मलाई आमाको गर्भबाट निकाल्नुभयो; म मेरी आमाको कोखमा बालक हुँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने तुल्याउनुभयो।
[10] मेरो जन्मदेखि नै म तपाईंमा सुम्पिएको हुँ; आमाको गर्भदेखि नै तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
[11] मबाट टाढा नहुनुहोस्; किनकि सङ्कष्ट मेरो नजिकै छ, र मलाई सहायता गर्ने कोही पनि छैन।
[12] धेरै साँढेहरूले मलाई घेरेका छन्; बाशानका बलिया साँढेहरू मेरा चारैपट्टि छन्।
[13] गर्जने सिंहहरू, जसले आफ्नो शिकार टुक्रा-टुक्रा पार्दछन्, तिनीहरू नै मेरा विरुद्धमा आफ्ना मुख बाउँछन्।
[14] म त पानीझैँ पोखिएको छु, र मेरा सारा हड्डीहरू जोर्नीबाट खुस्केका छन्; मेरो हृदय मैनजस्तै भएको छ; त्यो मभित्रै पग्लेको छ।
[15] मेरो शक्ति माटोको खपेटोजस्तै सुकेको छ, र मेरो जिब्रो तालुमा टाँसिएको छ; तपाईंले मलाई मृत्युको धुलोमा छोडिदिनुभएको छ।
[16] कुकुरहरूले मलाई चारैतिर घेरेका छन्; खराब मानिसहरूको झुण्डले मलाई चारैपट्टि घेरेका छन्; तिनीहरूले मेरा हात र खुट्टाहरू छेडेका छन्।
[17] मेरा सबै हाडहरू म गन्न सक्छु; मानिसहरूले मलाई एकोहोरो लगाएर खराब दृष्टिले हेर्छन्।
[18] तिनीहरूले मेरा बाहिरी वस्त्रहरू एक-आपसमा बाँड्छन्, र मेरो भित्री वस्त्रको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्।
[19] तर हे याहवेह, तपाईं मबाट टाढा नहुनुहोस्! तपाईं मेरो बल, चाँडो आएर मलाई सहायता गर्नुहोस्!
[20] तरवारबाट मलाई बचाउनुहोस्; र मेरो अमूल्य जीवन कुकुरहरूका पञ्जाबाट छुटाउनुहोस्।
[21] सिंहहरूका मुखबाट मेरो छुटकारा गर्नुहोस्; जङ्गली साँढेहरूका सिङबाट मलाई बचाउनुहोस्।
[22] म आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका बीचमा तपाईंको नाम घोषणा गर्नेछु; मानिसहरूको भेलामा म तपाईंको प्रशंसा गर्नेछु।
[23] तिमीहरू, जो याहवेहको भय मान्दछौ, उहाँको प्रशंसा गर! याकोबका सबै वंशहरू हो, उहाँको आदर गर! हे इस्राएलका सबै सन्तानहरू हो, उहाँको भय मान!
[24] किनकि उहाँले दुःखीहरूको पीडालाई तुच्छ मान्नुभएको वा अवहेलना गर्नुभएको छैन; उहाँले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुभएको छैन, तर मदतको निम्ति तिनीहरूको पुकार उहाँले सुन्नुभएको छ।
[25] ठूलो महासभामा मेरो प्रशंसाको विषय तपाईं नै हुनुहुन्छ; तपाईंको भय मान्नेहरूका सामु म आफ्नो भाकल पूरा गर्नेछु।
[26] गरिबहरू खाएर तृप्त हुनेछन्; याहवेहलाई खोज्नेहरूले उहाँको प्रशंसा गर्नेछन्, तिनीहरूका हृदय आनन्दले सदासर्वदा रमाउनेछ।
[27] पृथ्वीका अन्त्यसम्म रहने समस्त मानिसले याहवेहलाई सम्झना गर्नेछन्, र उहाँतर्फ फर्किनेछन्; र राष्ट्रहरूका सबै परिवारहरू उहाँको सामु निहुरिएर दण्डवत् गर्नेछन्।
[28] किनकि शासन याहवेहको हो, र उहाँले नै राष्ट्रहरूमाथि शासन गर्नुहुन्छ।
[29] पृथ्वीका सबै धनीहरू भोजन गर्दै उहाँको आराधना गर्नेछन्; जो धुलोमा मिलिजानेछन्, ती सबैले उहाँको सामु घुँडा टेक्नेछन्; जस-जसले आफूलाई बचाउन सक्दैनन्।
[30] पछि आउने पुस्ताले उहाँको सेवा गर्नेछन्; भावी सन्तानहरूलाई प्रभुको बारेमा बताइनेछ।
[31] तिनीहरूले भावी पुस्तालाई उहाँले गर्नुभएको धार्मिकताको घोषणा गर्नेछन्; उहाँले यस्तो अद्भुत काम गर्नुभएको छ!