Skip to content
Opens in a new window
Listen to this chapter • 2:49

[1] म याहवेहलाई प्रेम गर्दछु; किनकि उहाँले मेरो सोर सुन्‍नुभयो; उहाँले मेरो दयाको पुकार सुन्‍नुभयो।

[2] किनकि उहाँले आफ्नो कान मतिर फर्काउनुभयो, म जीवित रहुन्जेल उहाँमा पुकार गर्नेछु।

[3] मृत्युका पासोहरूले मलाई घेरेका थिए; र चिहानको पीडा ममाथि आइलागेको थियो; दुःख र शोकले मलाई गाँजेको थियो।

[4] तब मैले याहवेहको नाममा पुकार गरेँ: “हे याहवेह, मलाई बचाउनुहोस्!”

[5] याहवेह अनुग्रही र धार्मिक हुनुहुन्छ; हाम्रा परमेश्‍वर कृपाले पूर्ण हुनुहुन्छ।

[6] याहवेहले सोझाहरूलाई रक्षा गर्नुहुन्छ; जब म अति असहाय थिएँ, तब उहाँले मलाई बचाउनुभयो।

[7] हे मेरो प्राण, फेरि एक पटक विश्राम गर्; किनकि याहवेह तँप्रति भलो हुनुभएको छ।

[8] किनकि हे याहवेह, तपाईंले मलाई मृत्युदेखि, मेरा आँखालाई आँसुदेखि, र मेरा गोडालाई ठेस लाग्नदेखि जोगाउनुभएको छ।

[9] ताकि म जीवितहरूका देशमा, याहवेहको सामु हिँड्‍डुल गर्न सकूँ।

[10] मैले याहवेहमा विश्‍वास गरेँ, यसकारण मैले भनेँ, “म धेरै पीडित छु।”

[11] अनि आफ्नो व्याकुलतामा मैले भनेँ, “हरेक मानिस झूटो हो।”

[12] याहवेहले मप्रति गर्नुभएका सम्पूर्ण भलाइको साटोमा, म उहाँलाई के फिर्ता दिन सक्छु र?

[13] म मुक्तिको कचौरा उठाउनेछु र याहवेहको नाममा पुकार गर्नेछु।

[14] याहवेहलाई गरेका मेरो भाकलहरू, म उहाँका सारा प्रजाको सामु पूरा गर्नेछु।

[15] याहवेहको नजरमा, उहाँका विश्‍वासयोग्य जनहरूको मृत्यु अनमोल छ।

[16] हे याहवेह, साँच्‍चै नै म तपाईंको सेवक हुँ; म तपाईंकी सेविकाको छोरो, तपाईंको सेवक हुँ; तपाईंले मलाई मेरो बन्धनबाट छुटाउनुभएको छ।

[17] म तपाईंलाई धन्यवादको बलि चढाउनेछु, र याहवेहको नाममा पुकार गर्नेछु।

[18] याहवेहलाई गरेका मेरा भाकलहरू, म उहाँका सारा प्रजाको सामु पूरा गर्नेछु;

[19] याहवेहको भवनको चोकहरूमा, हे यरूशलेम, तेरो बीचमा म त्यो पूरा गर्नेछु। याहवेहको प्रशंसा गर!

भजनसंग्रह — Chapters