Skip to content
Opens in a new window
Listen to this chapter • 3:45

[1] हे इस्राएलका गोठाला, हामीलाई सुन्‍नुहोस्; तपाईं, जसले योसेफलाई भेडाबाख्राको बगाललाई झैँ अगुवाइ गर्नुहुन्छ, तपाईं, जो करूबहरूका बीचमा विराजमान हुनुहुन्छ, प्रकाशमान् हुनुहोस्!

[2] एफ्राइम, बेन्यामीन र मनश्शेको सामु। आफ्नो सामर्थ्य जगाउनुहोस्; आउनुहोस् र हामीलाई बचाउनुहोस्!

[3] हे परमेश्‍वर, हामीलाई पुनर्स्थापना गर्नुहोस्; आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्; र हामी बचाइन सकौँ।

[4] हे याहवेह, सेनाहरूका परमेश्‍वर, आफ्नो प्रजाका प्रार्थनाको विरुद्ध, तपाईंको क्रोध कहिलेसम्म सल्किरहन्छ?

[5] तपाईंले तिनीहरूलाई आँसुका रोटी खुवाउनुभएको छ; र पिउनलाई कचौराभरि आँसु दिनुभएको छ।

[6] तपाईंले हामीलाई छिमेकीहरूका लागि झगडाको पात्र बनाउनुभएको छ, र हाम्रा शत्रुहरूले हामीलाई गिल्‍ला गर्छन्।

[7] हे सेनाहरूका परमेश्‍वर, हामीलाई पुनर्स्थापन गर्नुहोस्; आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्; र हामी बचाइन सकौँ।

[8] तपाईंले इजिप्टबाट एउटा दाखको बोट ल्याउनुभयो; र राष्ट्रहरूलाई लखेटेर त्यसलाई रोप्नुभयो।

[9] तपाईंले त्यसको निम्ति भूमि तयार गर्नुभयो, र त्यसको जरो गड्यो; र त्यो देशभरि फैलियो।

[10] त्यसका छायाले पहाडहरू ढाकिए, र त्यसका हाँगाबिँगाहरूले शक्तिशाली देवदारुका रूखहरू ढाके।

[11] त्यसका हाँगाहरू भूमध्य समुद्रसम्म गए, अनि त्यसका मुनाहरूचाहिँ यूफ्रेटिस नदीसम्मै फैलिए।

[12] तपाईंले त्यसका पर्खाल किन भत्काइदिनुभएको छ? के त्यहाँबाट जाने सबैले त्यसको फल टिपून्?

[13] जङ्गलका बँदेलहरूले त्यसलाई नष्‍ट पार्छन्। र जङ्गली जनावरहरू त्यसमा चर्छन्।

[14] हे सेनाहरूका परमेश्‍वर, हाम्रा बीचमा फेरि फर्कनुहोस्! स्वर्गबाट तल दृष्‍टि गर्नुहोस् र हाम्रो दुर्दशा हेर्नुहोस्! यस दाखको बोटको हेरचाह गर्नुहोस्।

[15] तपाईंको आफ्नो दाहिने बाहुलीले रोप्नुभएको त्यो विरुवाको जरा, त्यो दाख, जसलाई तपाईंले आफ्नो लागि हुर्काउनुभएको छ।

[16] तपाईंका दाखको बोट काटेर ढालिएको छ, आगोले डढाइएको छ; तपाईंको हप्कीले तपाईंका प्रजा नष्‍ट हुन्छन्।

[17] तपाईंको दायाँतर्फ भएको मानिसमाथि तपाईंको हात रहोस्। त्यो मानिसको पुत्र, जसलाई तपाईंले आफ्नो निम्ति खडा गर्नुभएको छ।

[18] तब हामी तपाईंबाट पिठिउँ फर्काउनेछैनौँ; हामीलाई नयाँ जीवन प्रदान गर्नुहोस्, र हामी तपाईंका नाम पुकार गर्नेछौँ।

[19] हे याहवेह, सेनाहरूका परमेश्‍वर; हामीलाई पुनर्स्थापना गर्नुहोस्, आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्, र हामी बचाइन सकौँ।

भजनसंग्रह — Chapters