Skip to content
Opens in a new window
Listen to this chapter • 2:25

[1] हे शासकहरू हो, के तिमीहरू न्यायपूर्वक बोल्दछौ? के तिमीहरू मानिसहरूलाई समान रूपमा न्याय गर्छौ?

[2] होइन, तिमीहरू हृदयमा अन्याय रच्दछौ; र पृथ्वीमा तिमीहरूका आफ्ना हातले हिंसाका काम गर्छन्।

[3] दुष्‍ट मानिसहरू जन्मैदेखि भड्केर जान्छन्; तिनीहरू गर्भदेखि नै पथभ्रष्‍ट हुन्छन्, झूटो फैलाउँछन्।

[4] तिनीहरूको विष विषालु सर्पको विषजस्तै छ; तिनीहरू गोमन सर्पजस्तै छन्, जसले आफ्नो कान बन्द गरेको छ,

[5] सपेराको सङ्गीतको धुन होस्, या जतिसुकै निपुण जादुगरको जादु होस्, तिनको सोर सुनिँदैन।

[6] हे परमेश्‍वर, तिनीहरूका दाँत तिनीहरूकै मुखमा तोडिदिनुहोस्; हे याहवेह, ती सिंहहरूका बङ्गाराहरू भाँचिदिनुहोस्!

[7] बग्ने पानीजस्तै तिनीहरू विलाइजाऊन्; जब तिनीहरूले धनुमा ताँदो चढाउँछन्, तब तिनीहरूका काँडहरू निशानासम्म नपुगून्।

[8] चिप्ले किराजस्तै तिनीहरू हिँड्दा-हिँड्दै पग्लेर जाऊन्; जन्मिनै नपाई तुहेको बालकजस्तै तिनीहरूले सूर्यको उज्यालो कहिल्यै नदेखून्।

[9] तिम्रा भाँडाहरू काँडाको आगोमा तात्तिन अगि, ती हरिया हुन् वा सुकेका, दुष्‍टहरू बगाएर लगिनेछन्।

[10] जब पापीहरूमाथि बदला खनिन्छ, जब धर्मी जनहरूको पाउहरू दुष्‍टहरूको रगतमा चोबिन्छन्, तब धर्मी जनहरू हर्षित हुनेछन्।

[11] तब मानिसहरूले भन्‍नेछन्, “निश्‍चय नै धर्मी जनहरू पुरस्कृत हुन्छन्; साँच्‍चै नै परमेश्‍वर हुनुहुन्छ, जसले पृथ्वीको न्याय गर्नुहुन्छ।”

भजनसंग्रह — Chapters