[1] मैले धीरजसाथ याहवेहको प्रतीक्षा गरेँ; उहाँ मतिर फर्कनुभयो र मेरो पुकार सुन्नुभयो।
[2] उहाँले मलाई खाडलबाट, दलदले हिलोबाट तानेर निकाल्नुभयो; उहाँले मेरा खुट्टाहरू चट्टानमाथि बसाल्नुभयो; र मलाई उभिन स्थिर स्थान दिनुभयो।
[3] उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो; हाम्रा परमेश्वरका प्रशंसाको एउटा गीत। धेरै जनाले यो देख्नेछन्, र याहवेहको भय मान्नेछन्, र उहाँमाथि भरोसा राख्नेछन्।
[4] धन्य हो त्यो मानिस, जसले याहवेहमा आफ्नो भरोसा राख्दछ, जसले घमण्डीहरूमा भरोसा राख्दैनन्, जो झूटो देवहरूपट्टि लाग्दैनन्।
[5] हे याहवेह, मेरा परमेश्वर, तपाईंले गर्नुभएका अद्भुत कार्यहरू धेरै छन्; तपाईंले हाम्रो निम्ति गर्नुभएका योजनाहरू धेरै छन्। तपाईंको तुलना कसैसँग गर्न सकिँदैन; मैले तपाईंका कामहरूका बारेमा वर्णन गर्नुपर्यो भने, ती घोषणा गर्न असंख्य हुनेछन्।
[6] तपाईंले बलिदान र भेटी चाहनुभएन, तर मेरा कानहरू तपाईंले खोलिदिनुभएको छ, तपाईंले होमबलि र पाप शुद्धीकरण बलि चाहनुभएन।
[7] तब मैले भनेँ, “हेर्नुहोस्, म आएको छु, धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ।
[8] म तपाईंको इच्छा पूरा गर्न चाहन्छु, हे मेरा परमेश्वर; तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।”
[9] म ठूलो महासभामा तपाईंको धार्मिकताको घोषणा गर्छु; म मेरा ओठहरू बन्द गर्नेछैनँ; हे याहवेह, तपाईंले यो जान्नुहुन्छ।
[10] तपाईंको धार्मिकता म मेरो हृदयमा लुकाउँदिनँ; तपाईंको विश्वासयोग्यता र तपाईंको मुक्तिको विषयमा म बोल्छु। तपाईंको अचुक प्रेम र तपाईंको सत्यता म ठूलो महासभामा लुकाउँदिनँ।
[11] हे याहवेह, तपाईंको कृपा मदेखि नरोक्नुहोस्; तपाईंको अचुक प्रेम र तपाईंको विश्वासयोग्यताले मलाई निरन्तर रक्षा गरून्।
[12] किनकि असंख्य कष्टहरूले मलाई चारैतिर घेरेका छन्; मेरा अपराधहरू यतिसम्म थुप्रिएका छन्, कि म देख्न पनि सक्दिनँ। ती मेरा शिरका केशभन्दा बढी छन्; यसैले मेरो हृदय हताश भएको छ।
[13] हे याहवेह, मलाई बचाउन प्रसन्न हुनुहोस्; हे याहवेह, मलाई मदत गर्न चाँडै आउनुहोस्!
[14] मेरो प्राण लिन खोज्नेहरू सबै जना शर्ममा र अन्योलमा परून्; मेरो विनाश चाहनेहरू सबै पिठिउँ फर्काएर भागून् र अपमानित होऊन्!
[15] मलाई “खुच्चिङ! खुच्चिङ!” भन्नेहरू सबै लाजले गर्दा व्याकुल होऊन्।
[16] तर तपाईंलाई खोज्नेहरू सबै, तपाईंमा रमाऊन् र आनन्दित होऊन्; तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्, “याहवेह महान् हुनुहुन्छ!”
[17] तर म त गरिबी र अभावमा छु; प्रभुले मेरो बारेमा विचार गरिदिनुहोस्। तपाईं मेरा सहायक र मलाई छुटाउने हुनुहुन्छ; हे मेरा परमेश्वर, ढिलो नगर्नुहोस्।