Skip to content
Opens in a new window
Listen to this chapter • 1:50

[1] म तपाईंको अचुक प्रेम र न्यायको गीत गाउनेछु; हे याहवेह, म तपाईंको प्रशंसा गाउनेछु।

[2] म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु, तपाईं मकहाँ कहिले आउनुहुनेछ? म निर्दोष हृदय लिएर आफ्नो घरको कामकाज गर्नेछु।

[3] म आफ्नो आँखाहरू अगि कुनै पनि अनुचित कुराहरू राख्नेछैनँ। पथभ्रष्‍ट भएकाहरूका कामलाई म घृणा गर्छु; यसमा मेरो कुनै सरोकार हुनेछैन।

[4] कुटिल हृदय भएकाहरू मबाट टाढा रहनेछन्; दुष्‍टसँग मेरो कुनै सरोकार रहनेछैन।

[5] जसले गुप्‍तमा आफ्ना छिमेकीको निन्दा गर्दछ, म त्यसलाई नाश गर्नेछु; अहङ्कारी दृष्‍टि भएका र घमण्डी हृदय भएकालाई, म सहनेछैनँ।

[6] देशका विश्‍वासयोग्य जनहरूमाथि म मेरो नजर राख्नेछु; ताकि तिनीहरू मसित बास गरून्; त्यो, जसको चालचलन निर्दोष छ, उसले नै मेरो सेवा गर्नेछ।

[7] छली काम गर्ने कसैले पनि मेरो घरमा बास पाउनेछैन; झूटो बोल्ने कोही पनि मेरो उपस्थितिमा खडा हुनेछैन।

[8] हरेक बिहान म देशका दुष्‍ट काम गर्नेहरू सबैलाई नाश पार्नेछु; याहवेहको सहरबाट म हरेक दुष्कर्मीलाई नष्‍ट पार्नेछु।

भजनसंग्रह — Chapters