[1] ए मेरो प्राण, याहवेहको प्रशंसा गर्; ए मेरो सारा अन्तस्करण, उहाँको पवित्र नामको प्रशंसा गर्!
[2] ए मेरो प्राण, याहवेहको प्रशंसा गर्, र उहाँका सबै उपकारहरू नबिर्सी—
[3] जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ; र जसले तेरा सबै रोगहरू निको पार्नुहुन्छ;
[4] जसले तेरो जीवनलाई चिहानबाट छुटाउनुहुन्छ; र तँलाई प्रेम र करुणासहितको मुकुट लगाइदिनुहुन्छ;
[5] जसले तेरो जीवनलाई उत्तम कुराहरूले तृप्त गरिदिनुहुन्छ; ताकि तेरो जवानी चीलको जस्तै नयाँ होस्।
[6] थिचोमिचोमा परेकाहरू सबैका निम्ति याहवेहले धार्मिकता र न्यायको काम गर्नुहुन्छ।
[7] उहाँले आफ्नो मार्ग मोशालाई, आफ्नो काम इस्राएलीहरूलाई प्रकट गर्नुभयो:
[8] याहवेह कृपालु र अनुग्रही हुनुहुन्छ, रिसाउनमा ढिलो र प्रेमले भरिपूर्ण।
[9] उहाँले सधैँ दोष लगाइरहनुहुन्न, न त आफ्नो क्रोध सदासर्वदा लिइरहनुहुन्छ;
[10] उहाँले हामीसित हाम्रा पापअनुसारको व्यवहार गर्नुहुन्न, न त हाम्रा अधर्मअनुसार हामीलाई बदला लिनुहुन्छ।
[11] किनकि पृथ्वीबाट स्वर्ग जति उच्च छ, उहाँका डर मान्नेहरूमाथि उहाँको अचुक प्रेम त्यत्ति नै महान् छ।
[12] पश्चिमबाट पूर्व जति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा हटाइदिनुभएको छ।
[13] जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठ्याउँछन्, त्यसरी नै याहवेहले उहाँको भय मान्नेहरूलाई टिठ्याउनुभएको छ;
[14] किनकि उहाँले हाम्रो बनावट जान्नुहुन्छ, हामी धुलो मात्र हौँ भनी उहाँ सम्झनुहुन्छ।
[15] मानिसको आयु घाँसजस्तो छ, मैदानका फूलझैँ त्यो ढकमक्क फुल्दछ;
[16] अनि बतास त्यस फूलमाथि भएर जाँदा त्यो विलाएर जान्छ; र त्यसको ठाउँले पनि त्यसको याद गर्दैन।
[17] तर याहवेहको अचुक प्रेम, उहाँको भय मान्नेहरूमाथि अनन्तदेखि अनन्तसम्म रहिरहन्छ र उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूका सन्तानहरूमाथि रहन्छ—
[18] तिनीहरूमाथि जस-जसले उहाँको करार पालन गर्दछन्, र उहाँका विधिहरू स्मरण गरेर त्यसअनुसार चल्दछन्।
[19] याहवेहले आफ्नो सिंहासन स्वर्गमा स्थापित गर्नुभएको छ; र उहाँको प्रभुत्वले सबैमाथि शासन गर्दछ।
[20] हे उहाँका शक्तिशाली स्वर्गदूतहरू हो, उहाँका आदेश सुनेर उहाँका योजना पूरा गर्नेहरू हो, याहवेहको प्रशंसा गर!
[21] हे उहाँका सारा स्वर्गीय सेनाहरू हो, उहाँको इच्छाअनुसार काम गर्ने सेवकहरू हो, याहवेहको प्रशंसा गर।
[22] हे याहवेहका सारा सृष्टि हो, उहाँका सबै राज्यमा रहेकाहरू हो, उहाँको प्रशंसा गर! हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!