[1] तब इयोबले यस्तो जवाफ दिए:
[2] “वास्तवमा यो कुरा सत्य हो भनी म जान्दछु। तर परमेश्वरको सामु मरणशील मानिसले आफूलाई कसरी निर्दोष साबित गर्न सक्छ र?
[3] उहाँसँग कसैले वाद-विवाद गर्न चाह्यो भने तापनि मानिसहरूले उहाँलाई हजारौँमा एउटाको पनि जवाफ दिन सक्दैनन्।
[4] उहाँको बुद्धि अथाह र उहाँको शक्ति विशाल छ। उहाँको विरोध गरेर को उम्केको छ, र हानिविना आएको छ?
[5] उहाँले पहाडहरूलाई तिनीहरूले चालै नपाई हटाउनुहुन्छ, अनि उहाँले आफ्नो रिसमा तिनीहरूलाई पल्टाइदिनुहुन्छ।
[6] परमेश्वरले पृथ्वीलाई त्यसको ठाउँबाट हल्लाइदिनुहुन्छ, र त्यसका खम्बाहरू थरथर काँप्छन्।
[7] उहाँले सूर्यलाई आज्ञा गर्नुहुन्छ, र त्यसले प्रकाश दिँदैन; उहाँले ताराहरूको चमकलाई बन्द गर्नुहुन्छ।
[8] उहाँ एकलैले आकाशहरूलाई फैलाउनुहुन्छ, र समुद्रका छालहरूमाथि कुल्चनुहुन्छ।
[9] उहाँ सप्तर्षि, मृगशिरा, किरकिटी नक्षत्रहरू र दक्षिणका तारामण्डलहरूका सृष्टिकर्ता हुनुहुन्छ।
[10] उहाँले हाम्रा समझशक्तिभन्दा बाहिरका अद्भुत कार्यहरू र अनगन्ती अचम्मका कामहरू गर्नुहुन्छ।
[11] जब उहाँ मेरो छेउबाट भएर जानुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ; उहाँ मेरै छेउबाट भएर जानुहुँदा पनि म थाहा पाउँदिनँ।
[12] यदि उहाँले कसैबाट केही खोस्नुभयो भने, कसले उहाँलाई रोक्न सक्छ र? कसले उहाँलाई ‘तपाईंले यो के गर्दै हुनुहुन्छ?’ भनेर सोध्न सक्छ र?
[13] परमेश्वरले आफ्नो रिस थाम्नुहुन्न; राहाबका सहयोगीहरूले समेत उहाँको पाउमा झुक्छन्।
[14] “त्यसो हो भने म कसरी उहाँसँग वाद-विवाद गर्न सक्छु र? उहाँसँग बहस गर्ने शब्दहरू म कसरी भेट्टाउन सक्छु र?
[15] यद्यपि म निर्दोष भए तापनि मैले उहाँलाई जवाफ दिन सक्दिनँ; म मेरा न्यायाधीससँग कृपाको निम्ति बिन्ती मात्र गर्न सक्छु।
[16] यदि मैले उहाँलाई बोलाएँ, र उहाँले जवाफ दिनुभए तापनि उहाँले मेरो कुरा सुन्नुहुन्छ भनी म विश्वास गर्दिनँ।
[17] उहाँले मलाई आँधीबेहरीले आक्रमण गर्नुहुन्छ, र कारणविना मेरा चोटहरू बढाइदिनुहुन्छ।
[18] उहाँले मलाई फेरि सास फेर्न पनि दिनुहुन्न, तर दुःखले मलाई व्याकुल पारिदिनुहुन्छ।
[19] यदि शक्तिकै कुरा गर्ने हो भने उहाँ शक्तिशाली हुनुहुन्छ! र यदि न्यायको कुरा हो भने कसले उहाँलाई चुनौती दिन सक्छ?
[20] म इमानदार भए तापनि मेरै मुखले मलाई दोषी ठहराउँछ; म दोषरहित भए तापनि उहाँले मलाई दोषी ठहराउनुहुनेछ।
[21] “यद्यपि म दोषरहित छु, मलाई मेरो आफ्नो कुनै वास्ता छैन; म आफ्नै जीवनलाई तुच्छ ठान्छु।
[22] सबै कुरा एउटै हो; त्यसैले म भन्दछु, ‘उहाँले निर्दोष र दुष्ट मानिस दुवैलाई नाश गर्नुहुन्छ।’
[23] ठूलो विपत्तिले अचानक मृत्यु ल्याए तापनि निर्दोष मानिसको बिजोग देखेर उहाँ हाँस्नुहुन्छ।
[24] जब दुष्ट मानिसको हातमा देश पर्छ; यसका न्यायकर्ताहरूलाई उहाँले अन्धा तुल्याइदिनुहुन्छ। यदि यसो गर्नुहुने उहाँ होइन भने अरू को होला त?
[25] “मेरा दिनहरू त धावक दौडिएको भन्दा पनि छिटो दौडिरहेका छन्; आनन्दको झलकविना नै ती उडेर जान्छन्।
[26] निगालाको डुङ्गा पानीमा सलल बगेझैँ, र चीलहरू आफ्नो शिकारमाथि वेगले झम्टिएझैँ, मेरा दिनहरू बितिरहेका छन्।
[27] ‘तपाईंप्रतिको मेरो गुनासो बिर्सनेछु, म आफ्नो अनुहारको उदासीपनलाई हटाएर मुस्कुराउँनेछु,’ भनि मैले भने तापनि
[28] आफूले भोगेका सबै कष्टहरूको कारण झन् म डराउँछु; किनकि म जान्दछु, तपाईंले मलाई निर्दोष ठहराउनुहुनेछैन।
[29] म पहिले नै दोषी ठहराइएको छु भने मैले किन आफूलाई निर्दोष साबित गर्ने व्यर्थमा कोसिस गरूँ?
[30] यदि मैले आफूलाई हिउँले नुहाएँ भने पनि, र मेरा हात खरानी पानीले धोएँ तापनि
[31] तपाईंले मलाई हिले खाडलमा चोप्नुहुन्छ, जसले गर्दा मेरा लुगाले समेत मलाई घिन मान्नेछ।
[32] “किनकि परमेश्वर मजस्तै मरणशील मानिस हुनुहुन्न, म कसरी उहाँलाई जवाफ दिन सक्छु, अनि हामी अदालतमा एक-अर्कासँग सामना गर्न सक्छौँ।
[33] यदि परमेश्वर र मेरो बीचमा मध्यस्थ गर्ने कोही छन् भने, यदि कसैले हामीलाई एकसाथ ल्याउने भइदिए,
[34] परमेश्वरको लहुरो मबाट कसैले हटाऊन्, ताकि उहाँको त्रासले मलाई अझ बढी भयभीत नपारोस्।
[35] तब म उहाँको डरविना नै बोल्नेथिएँ, तर अहिलेको मेरो अवस्थामा म सक्दिनँ।