[1] मलाई सास फेर्न गाह्रो परेको छ; मेरा दिनहरू घटाइएका छन्, चिहान मेरो पर्खाइमा छ।
[2] साँच्चै, ठट्टा गर्नेहरूले मलाई घेरेका छन्; मेरा आँखाहरूले तिनीहरूका ठट्टामाथि टुलुटुलु हेर्नुपरेको छ।
[3] “हे परमेश्वर, तपाईंले माग गर्नुभएको धरौटी मलाई दिनुहोस्। मेरो निम्ति कसले जमानी बसिदेला र?
[4] तपाईंले तिनीहरूको बुझ्ने दिमागलाई बन्द गरिदिनुभएको छ; यसकारण तपाईंले तिनीहरूलाई विजयी हुन दिनुहुनेछैन।
[5] यदि कसैले आफ्नो फाइदाको निम्ति आफ्ना मित्रहरूलाई धोका दिन्छ भने, तिनीहरूका छोराछोरीका आँखाहरू कमजोर हुन्छन्।
[6] “परमेश्वरले मलाई हरेकको निम्ति एउटा उखान बनाउनुभएको छ, त्यो मानिस जसको अनुहारमा मानिसहरूले थुक्छन्।
[7] मेरा आँखा शोकले गर्दा धमिला भएका छन्; मेरो सम्पूर्ण शरीर केवल एउटा छायाजस्तै मात्र छ।
[8] धर्मी मानिसहरू मेरो यस्तो हालत देखेर तीन छक्क परेका छन्; निर्दोष मानिसहरू ईश्वरहीनहरूको विरुद्धमा उठेका छन्।
[9] तापनि धर्मी मानिसहरू आफ्नै मार्गमा अटल रहनेछन्; र निर्दोष हात हुनेहरू अझ बलियो हुँदै जानेछन्।
[10] “तर तपाईंहरू सबै आएर फेरि कोसिस गर्नुहोस्! म तपाईंहरूको माझमा एउटै बुद्धिमान् मानिस भेट्टाउँदिनँ।
[11] मेरा दिनहरू बितेर गए, मेरा योजनाहरू चकनाचुर भए; अझ मेरो हृदयका इच्छाहरू पनि हराएर गए।
[12] तिनीहरूले रातलाई दिन भन्छन्; अन्धकार हुन लाग्दा ज्योति नजिकै हुन्छ भन्दछन्।
[13] यदि मैले आशा गरेको घर भनेकै चिहान हो भने यदि मैले अन्धकारमा आफ्नो ओछ्यान लगाएँ भने,
[14] यदि मैले चिहानलाई, ‘तपाईं मेरो पिता हुनुहुन्छ,’ र किरालाई, ‘मेरी आमा’ अथवा ‘मेरी दिदीबहिनी,’ भन्छु भनेँ,
[15] त्यसो भए मेरो आशा खोइ कहाँ छ त? मेरो निम्ति केही आशा छ भनेर कसले देख्न सक्छ त?
[16] के मेरो त्यो आशा तल मृत्युको ढोकासम्म जानेछ र? के हामी एकसाथ धुलोमा जानेछौँ र?”