Skip to content
Opens in a new window
Listen to this chapter • 6:15

[1] एलिहू बोल्दै गए:

[2] “मसँग केही बेर धैर्य धारण गर्नुहोस्, र म तपाईंलाई देखाउनेछु, कि परमेश्‍वरको पक्षबाट भन्‍नुपर्ने कुराहरू अझ धेरै छन्।

[3] मैले आफ्नो ज्ञान टाढाबाट पाउनेछु; र न्यायको श्रेय मेरा सृष्‍टिकर्तालाई दिनेछु।

[4] मेरा कुराहरू झूटो होइनन् भनी निश्‍चित रहनुहोस्; ज्ञानमा अति सिद्ध हुनुहुने उहाँ तपाईंसँग हुनुहुन्छ।

[5] “परमेश्‍वर शक्तिशाली हुनुहुन्छ, तर उहाँले कसैलाई तुच्छ ठान्‍नुहुन्‍न; उहाँ शक्तिशाली र उहाँको उद्देश्यमा दृढ हुनुहुन्छ।

[6] उहाँले दुष्‍टलाई जीवित राख्नुहुन्‍न; तर पीडितहरूलाई तिनीहरूका अधिकार दिनुहुन्छ।

[7] उहाँले धर्मीहरूबाट आफ्नो नजर हटाउनुहुन्‍न; उहाँले तिनीहरूलाई राजाहरूसँग सिंहासनमा बसाल्नुहुन्छ; र तिनीहरूलाई सदाकालको निम्ति उच्‍च पार्नुहुन्छ।

[8] तर यदि मानिसहरू साङ्लामा बाँधिएका, र पीडाका डोरीहरूले जकडिएका छन् भने,

[9] तिनीहरूले के गरे भनी उहाँले तिनीहरूलाई भन्‍नुहुन्छ— किनकि तिनीहरूले घमण्डसाथ पाप गरेका छन्।

[10] उहाँले तिनीहरूलाई सुधार्नको लागि सल्‍लाह दिनुहुन्छ, र तिनीहरूलाई आफ्ना दुष्‍टताबाट पश्‍चात्ताप गर्न आज्ञा दिनुहुन्छ।

[11] यदि तिनीहरूले आज्ञा मानेर उहाँको सेवा गरे भने, तिनीहरूले आफ्ना बाँकी रहेका दिनहरू समृद्धिमा र तिनीहरूका वर्षहरू सुखैसुखमा बिताउनेछन्।

[12] तर यदि तिनीहरूले सुनेनन् भने, तिनीहरू तरवारद्वारा नाश हुनेछन्, र ज्ञानविनै मरेर जानेछन्।

[13] “ईश्‍वरहीन मानिसहरूले हृदयमा क्रोध पाल्छन्; परमेश्‍वरले तिनीहरूलाई बन्धनमा राख्दाधरि तिनीहरू सहायताका निम्ति पुकार्दैनन्।

[14] तिनीहरू मन्दिरका देवदासहरूका बीचमा अनैतिक जीवन बिताएर, जवान उमेरमै मरेर जान्छन्,

[15] तर उहाँले पीडितहरूलाई तिनीहरूका पीडाबाट छुटाउनुहुन्छ; उहाँ तिनीहरूको कष्‍टमा तिनीहरूसँग बोल्नुहुन्छ।

[16] “उहाँले तपाईंलाई कष्‍टको मुखबाट निकालेर स्वतन्त्रताको खुल्‍ला ठाउँमा, मिठो भोजनले भरिएको तपाईंको आरामदायी टेबुलमा ल्याउनुहुनेछ।

[17] तर अहिले तपाईं अरू दुष्‍टको दण्डको कारणले लादिनुभएको छ; अहिले तपाईंलाई न्याय र दण्डले पक्रिराखेको छ।

[18] होसियार हुनुहोस्, कसैले पनि तपाईंलाई धनसम्पत्तिले नलोभ्याओस्; तपाईंलाई प्रशस्त घूसले नबहकाओस्।

[19] के तपाईंको धन अथवा तपाईंको सारा सामर्थी प्रयासले तपाईंलाई थाम्न सक्छ र तपाईंले कष्‍ट भोग्नुपर्दैन?

[20] मानिसहरूलाई तिनीहरूका घरहरूबाट घिस्याएर लैजाने रातको चाह नगर्नुहोस्।

[21] दुष्‍टताबाट फर्कन होसियार हुनुहोस्; किनकि तपाईं कष्‍टभन्दा त्यसैलाई रुचाउँदै हुनुहुन्छ।

[22] “परमेश्‍वर उहाँको शक्तिमा उच्‍च पारिनुभएको छ। उहाँजस्तो शिक्षक को छ र?

[23] कसले उहाँका निम्ति मार्ग निर्धारित गरिदिएको छ, अथवा कसले उहाँलाई, ‘तपाईंले गल्ती गर्नुभएको छ’ भनी भन्‍न सक्छ र?

[24] तपाईंले उहाँको कामको प्रशंसा गर्न स्मरण गर्नुहोस्, जुन कामलाई मानिसहरूले गीतद्वारा प्रशंसा गरेका छन्।

[25] सबै मानिस जातिहरूले उहाँको कामलाई देखेका छन्; मरणशील मानिसहरूले टाढाबाट त्यसलाई हेरिरहन्छन्।

[26] परमेश्‍वर कति महान् हुनुहुन्छ—हाम्रो समझशक्तिभन्दा बाहिर! उहाँका आयुका वर्षहरू पत्ता लगाउन असम्भव छ।

[27] “उहाँले पानीका थोपाहरू माथितिर खिँच्नुहुन्छ, जसलाई त्यसको बाफअनुसार झरीको रूपमा बर्साउनुहुन्छ।

[28] बादलले तिनीहरूको आफ्नो ओस पृथ्वीमा बर्साउँछन्, अनि मानिस जातिहरूमा प्रचुर झरी भएर बर्सिन्छ।

[29] उहाँले बादललाई कसरी फिँजाउनुभयो, उहाँको मण्डपबाट मेघ कसरी गर्जन्छ भनी कसले बुझ्न सक्छ?

[30] उहाँले कसरी आफ्नो चारैतिर बिजुली चम्काउनुहुन्छ, तर समुद्रको गहिराइचाहिँ अँध्यारो नै रहन्छ।

[31] उहाँले यसरी जाति-जातिहरूमाथि शासन गर्नुहुन्छ, र तिनीहरूलाई प्रशस्त मात्रामा भोजन जुटाउनुहुन्छ।

[32] उहाँले आफ्नो हात बिजुलीले भर्नुहुन्छ; अनि बिजुलीलाई निशानामा प्रहार गर्ने आज्ञा दिनुहुन्छ।

[33] उहाँको मेघ गर्जनले आँधीबेहरी आउने सूचना दिन्छ; गाईबस्तुले समेत आँधीबेहरी आइरहेको आभास गर्छन्।

इयोब — Chapters