[1] “म यो जीवनदेखि विरक्तिएको छु; यसकारण म धीत नमरुन्जेल गुनासो पोख्नेछु; र म मेरो मनको तितोपना व्यक्त गर्नेछु।
[2] म परमेश्वरलाई भन्दछु: मलाई दोषी नठहराउनुहोस् तर मेरो विरुद्ध तपाईंका कस्ता आरोपहरू छन्, मलाई भन्नुहोस्।
[3] मलाई सताएर, आफ्नै हातको कामलाई घृणा गरेर के तपाईंलाई खुशी मिल्छ र? जबकि तपाईं दुष्टको युक्तिमा चाहिँ मुस्कुराउनुहुन्छ?
[4] के तपाईंका आँखाहरू मानिसका जस्ता छन्? के तपाईं मरणशील मानिसले हेरेँझैँ हेर्नुहुन्छ र?
[5] के तपाईंका दिनहरू मरणशील मानिसका जस्तै छन् र? अथवा तपाईंका वर्षहरू एक बलियो मानिसका जस्तै छन् र?
[6] तब तपाईंले मेरा दोषहरू सोधखोज गर्नुहुन्छ, र मेरा पापहरू खोतल्नुहुन्छ?
[7] यद्यपि म दोषी छैनँ भनेर तपाईं जान्नुहुन्छ, र मलाई तपाईंको हातबाट कसैले छुटाउन सक्दैन।
[8] “तपाईंका आफ्नै हातले मलाई आकार दिनुभयो, र मलाई बनाउनुभयो। के अब तपाईं आफैँले मलाई नाश गर्नुहुन्छ त?
[9] सम्झना गर्नुहोस्, तपाईंले नै मलाई माटोबाट रच्नुभयो; के अब तपाईंले मलाई फेरि धुलोमै पठाउनुहुन्छ?
[10] के तपाईंले मलाई दूधजस्तै खन्याउनुभएको, अनि मलाई पनिरझैँ जमाउनुभएको छैन र?
[11] तपाईंले मलाई छाला र मासु पहिराउनुभई, अनि मलाई हड्डी र नसाहरूले एकसाथ गाँस्नुभएको होइन र?
[12] तपाईंले मलाई जीवन दिनुभयो र मलाई दया देखाउनुभएको छ; र तपाईंको हेरचाहले मेरो आत्मा सुरक्षित भएको छ।
[13] “तर यी कुराहरू तपाईंले आफ्नो हृदयमा लुकाएर राख्नुभएको थियो; र यी कुराहरू तपाईंको मनमा थियो भनी म जान्दछु:
[14] यदि मैले पाप गरेको भए, तपाईंले मलाई हेरिरहनुहुनेथियो; र मेरा अपराधको दण्ड नदिई छोड्नुहुने थिएन।
[15] यदि म दोषी छु भने मलाई धिक्कार होस्! म निर्दोष भए तापनि म आफ्नो शिर उठाउन सक्दिनँ; किनकि म शर्ममा परेको छु, अनि आफ्नो दुःखमा डुबेको छु।
[16] यदि मैले शिर उठाउन कोसिस गरेँ भने पनि, सिंहले झैँ तपाईंले मलाई खेद्नुहुन्छ; र फेरि मेरो विरुद्धमा तपाईंले आफ्नो डरलाग्दो शक्ति देखाउनुहुन्छ।
[17] तपाईंले फेरि मेरो विरुद्धमा नयाँ साक्षीहरू भेला पार्नुहुन्छ, र मेरो विरुद्ध आफ्नो क्रोध बढाउनुहुन्छ; तपाईंका सेनाहरू मेरो विरुद्धमा छालहरू जस्तै आइलाग्छन्।
[18] “मलाई त्यस्तै गर्ने तपाईंको आसय थियो भने किन तपाईंले मलाई गर्भबाट बाहिर निस्कन दिनुभयो? कसैको आँखाले मलाई देख्नुअगि नै बरु म मरेको भए हुनेथियो।
[19] यदि म अस्तित्वमै नआएको भए हुनेथियो, अथवा गर्भबाट सीधै चिहानमा लगिएको भए हुनेथियो!
[20] के अब मेरा थोरै दिनहरू सकिनै लागेका छैनन् र? मबाट टाढा रहनुहोस्, ताकि केही क्षणको निम्ति म आनन्द पाउन सकूँ।
[21] मबाट टाढा रहनुहोस्, म फेरि नफर्किने देशमा जानुअगि; जहाँ अन्धकार र घोर अन्धकार छ।
[22] घोर अन्धकारको त्यो देशमा जान दिनुहोस्, जहाँ अन्धकार र अस्तव्यस्त छ, जहाँ उज्यालो पनि अँध्यारोझैँ छ।”