Skip to content
Opens in a new window
Listen to this chapter • 4:55

[1] “मेरा आँखाले यी सबै कुरा देखेका छन्, मेरा कानले सुनेका छन्, र मैले यो बुझेको छु।

[2] तपाईंहरूले जे जान्‍नुहुन्छ, त्यो म पनि जान्दछु; म पनि तपाईंहरूभन्दा कमको छैनँ।

[3] तर म सर्वशक्तिमान्‌सँग कुरा गर्न चाहन्छु, र मेरो मुद्दाको विषयमा परमेश्‍वरसँग बहस गर्न चाहन्छु।

[4] तर तपाईंहरूको झूटले मलाई बदनाम गर्नुहुन्छ; तपाईंहरू सबै जना निकम्मा वैद्यहरू हुनुहुन्छ!

[5] यदि तपाईंहरू चुप लागेर बसिदिनुभए त! यही नै तपाईंहरूको निम्ति बुद्धिमानी हुनेथियो।

[6] अब मेरो बहस सुन्‍नुहोस्; मेरा ओठका बिन्ती ध्यानसँग सुन्‍नुहोस्।

[7] के तपाईंहरू परमेश्‍वरको पक्षबाट झूटो बोल्नुहुनेछ? के तपाईंहरू उहाँको निम्ति छलपूर्ण कुरा गर्नुहुनेछ?

[8] के तपाईंहरूले उहाँलाई पक्षपात गर्नुहुनेछ? के तपाईंहरूले परमेश्‍वरको निम्ति मुद्दाको बहस गर्नुहुनेछ?

[9] यदि उहाँले तपाईंहरूलाई जाँच गर्नुभयो भने के त्यो असल होला र? मानिसहरूलाई छल गरेझैँ के तपाईंहरूले उहाँलाई छल्न सक्नुहुन्छ र?

[10] यदि तपाईंहरूले गुप्‍तमा पक्षपात गर्नुभयो भने उहाँले तपाईंहरूलाई निश्‍चय नै हप्काउनुहुनेछ।

[11] के उहाँको महानताले तपाईंहरूलाई भयभीत पार्दैन र? अनि उहाँको डर तपाईंहरूमाथि आइपर्दैन र?

[12] तपाईंहरूका उपदेशहरू खरानीका उखानहरूजस्तै छन्; तपाईंहरूका सुरक्षाहरू माटोजस्तै कमजोर छन्।

[13] “चुप लाग्नुहोस् र मलाई बोल्न दिनुहोस्; अनि ममाथि जे आइपर्ला, सो भोग्न तयार छु।

[14] मैले आफूलाई किन जोखिममा पारूँ, र मेरो जीवन आफ्नै हातमा लिएर हिँडूँ?

[15] उहाँले मेरो ज्यान लिनुभए तापनि उहाँमाथि नै म आफ्नो भरोसा राख्नेछु; निश्‍चय नै म उहाँसामु आफ्नो निम्ति बहस गर्नेछु।

[16] सम्भवतः यी कुराहरू मेरो छुटकाराको निम्ति हुनेछन्, किनकि दुष्‍ट मानिसहरू उहाँको सामु आउने साहस गर्न सक्दैनन्!

[17] मैले भनेका कुराहरू ध्यानसित सुन्‍नुहोस्; मेरा शब्दहरू तपाईंहरूका कानभित्र गुञ्जोस्!

[18] अहिले मैले मेरो मुद्दा तयार गरिसकेको छु, म जान्दछु कि म निर्दोष ठहरिनेछु।

[19] कसले मेरो विरुद्धमा आरोप लगाउन सक्छ? यदि सक्छ भने म चुपचाप बस्‍नेछु र मर्नेछु।

[20] “हे परमेश्‍वर, मलाई केवल यी दुई कुराहरू मात्र दिनुहोस्, त्यसपछि म तपाईंदेखि लुक्नेछैनँ:

[21] तपाईंको हात मबाट टाढा हटाउनुहोस्; र तपाईंका डरले मलाई भयभीत नपारोस्।

[22] तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु, अथवा मलाई बोल्न दिनुहोस्, र मलाई तपाईंले जवाफ दिनुहोस्।

[23] मैले कति गल्ती र पापहरू गरेँ? मलाई मेरो अपराध र मेरो पाप देखाइदिनुहोस्।

[24] किन तपाईंले आफ्नो मुहार लुकाउनुहुन्छ, र मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ?

[25] के तपाईं हावाले उडाएको एउटा पातलाई सताउनुहुन्छ? के तपाईं सुकेको भुसलाई लखेट्नुहुन्छ?

[26] किनकि तपाईंले मेरो विरुद्धमा तिता कुराहरू लेख्नुहुन्छ, र मैले जवानीमा गरेका पापहरूको कटनी गराउनुहुन्छ।

[27] तपाईंले मेरा पाउहरू साङ्लोले बाँध्नुभएको छ; मेरा खुट्टाका पैतालाहरूमा छाप लगाउनुभएर, मेरा सबै कदमहरूलाई नजिकबाट नियाल्नुहुन्छ।

[28] “त्यसकारण मानिस कुहेको फोहोरमैलाझैँ, किराले खाएको लुगाझैँ नष्‍ट भएर जान्छ।

इयोब — Chapters