Skip to content
Opens in a new window
Listen to this chapter • 6:10

[1] तब एलीपज तेमानीले जवाफ दिए:

[2] “के बुद्धिमान् मानिसले यस्तो खोक्रो ज्ञानले जवाफ दिन्छ, अथवा तिनीहरूको पेट तातो पूर्वीय बतासले भर्छन् र?

[3] के तिनीहरूले यस्ता व्यर्थका शब्दहरू र मूल्यहीन कुराहरूसँग बहस गर्छन् र?

[4] तर तपाईंले त परमेश्‍वरको सम्मानलाई नै त्याग्नुहुन्छ, र उहाँको भक्तिलाई बाधा पुर्‍याउनुहुन्छ।

[5] तपाईंको पापले तपाईंको मुखलाई उत्प्रेरित गर्छ; तपाईंले धूर्त जिब्रो रुचाउनुहुन्छ।

[6] तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मैले होइन; तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा साक्षी दिन्छ।

[7] “के तपाईं सबैभन्दा पहिलो जन्मेको मानिस हुनुहुन्छ? के तपाईं पहाडहरूभन्दा पहिले सृष्‍टि गरिनुभएको थियो?

[8] के तपाईंले परमेश्‍वरको सभामा बसेर सुन्‍नुभएको छ? के तपाईंको मात्रै बुद्धिमा एकाधिकार छ?

[9] हामीले नजानेको कुनचाहिँ कुरा तपाईं जान्‍नुहुन्छ? हामीसँग नभएको कस्तो अन्तर्ज्ञान तपाईंसँग छ?

[10] तपाईंका पिताभन्दा वृद्ध मानिस, केश फुलेका र पाका मानिसहरू हाम्रो पक्षमा छन्।

[11] परमेश्‍वरको सान्त्वना, तपाईंलाई भनिएका मधुर शब्दहरू तपाईंका निम्ति पर्याप्‍त छैनन् र?

[12] तपाईंको हृदयले तपाईंलाई किन बहकाउँछ? अनि तपाईंका आँखाहरूमा किन क्रोधको ज्वाला छन्?

[13] त्यसैले तपाईं आफ्नो रिस परमेश्‍वरको विरुद्ध भड्काउनुहुन्छ र आफ्ना मुखबाट यस्ता शब्दहरू पोख्नुहुन्छ?

[14] “मरणशील मानिस को हो र तिनीहरू शुद्ध हुन सक्छन्, अथवा स्त्रीबाट जन्मनेहरू, जो धर्मी हुन सक्छन्?

[15] यदि परमेश्‍वरले आफ्ना पवित्र जनहरूमाथि भरोसा राख्नुभएन भने, यदि उहाँको दृष्‍टिमा स्वर्गहरू पनि शुद्ध छैनन् भने,

[16] झन् मरणशील मानिस त कति कम होला, जो नीच र भ्रष्‍ट छन्, जसले दुष्‍टतालाई पानीझैँ पिउँछन्!

[17] “मेरो कुरा सुन्‍नुहोस् र म तपाईंलाई बयान गर्नेछु; मैले जे देखेको छु, तपाईंलाई भन्‍न दिनुहोस्,

[18] बुद्धिमान् मानिसहरूले जे घोषणा गरेका छन्, तिनीहरूका पितापुर्खाहरूबाट पाएका कुराहरू लुकाएका छैनन्,

[19] (जसलाई मात्रै देश दिइएको थियो, जबकि कुनै परदेशीहरूले तिनीहरूका बीचमा बसोबास गरेनन्।)

[20] दुष्‍ट मानिसले त्यसको जीवनकालभरि नै यातना भोग्छ, निर्दयी मानिसका निम्ति वर्षौँसम्म दुःख साँचिएको हुन्छ।

[21] त्यसका कान डरलाग्दा आवाजहरूले भरिएका हुन्छन्; जब सबै कुरा ठिक देखिएजस्तो हुन्छ, तब डाँकुहरूले त्यसलाई आक्रमण गर्छन्।

[22] त्यसमा अन्धकारको संसारबाट उम्कने आशा हुँदैन; किनकि त्यो तरवारको निशानामा हुन्छ।

[23] त्यो गिद्धजस्तै आहाराको निम्ति भौँतारिन्छ; त्यसले अन्धकारका दिनहरू नजिकै छन् भनी जान्दछ।

[24] कष्‍ट र वेदनाले त्यसलाई तर्साउँछ; आक्रमण गर्न तयार भएको राजाझैँ विपत्तिले त्यसलाई व्याकुल पार्छ;

[25] किनकि त्यसले आफ्नो मुड्की परमेश्‍वरको विरुद्धमा बढाउँछ, र त्यसले सर्वशक्तिमान्‌को विरुद्ध जोरी खोज्छ,

[26] आफ्नो मोटो र बलियो ढाल लिएर परमेश्‍वरको विरुद्धमा जाइलाग्छ।

[27] “त्यसको अनुहारलाई बोसोले छोपेको भए तापनि र त्यसको कम्मर मासुले भरिएको भए तापनि

[28] त्यो भत्किएका सहरहरूमा बास बस्‍नेछ, ती घरहरूमा जो भत्किएर थुप्रिनै लागेका छन्, जहाँ कोही पनि बास गर्दैनन्।

[29] त्यो फेरि धनी हुनेछैन, र त्यसको धनसम्पत्ति रहनेछैन, न त त्यसको सम्पत्ति देशभरि फैलिनेछ।

[30] त्यो अन्धकारबाट उम्कन सक्दैन; त्यसका टुसाहरूलाई आगोले सुकाइदिनेछ, र परमेश्‍वरको मुखको सासले त्यसलाई उडाउनेछ।

[31] त्यसले व्यर्थका कुराहरूमा भरोसा राखेर आफैँलाई धोका नदेओस्; किनकि त्यसको साटोमा त्यसले केही पनि पाउनेछैन।

[32] त्यसको समयभन्दा पहिले नै त्यो सुकेर जानेछ, र त्यसका हाँगाहरू फस्टाउने छैनन्।

[33] त्यो त नपाकिकनै झरेको अङ्‌गुरजस्तै हुनेछ, र फूल झरेको जैतुनको रूखजस्तै हुनेछ।

[34] किनकि परमेश्‍वर नमान्‍नेहरूको सङ्गत गर्नेहरू बाँझो हुनेछन्, र घूस लिन रुचाउनेहरूका पालहरू आगोले भस्म हुनेछन्।

[35] तिनीहरूले विपत्तिलाई गर्भधारण गर्छन्, र दुष्‍टता जन्माउँछन्; तिनीहरूका गर्भले छल रच्तछन्।”

इयोब — Chapters