Skip to content
Opens in a new window
Listen to this chapter • 4:20

[1] तब इयोबले आफ्नो बहस जारी राखे:

[2] “सर्वशक्तिमान् परमेश्‍वर जीवित हुनुभएझैँ, जसले मेरो न्याय गर्नलाई इन्कार गर्नुभएको छ, र मेरो जीवन तितो बनाइदिनुभएको छ,

[3] जबसम्म मभित्र जीवन रहन्छ, र परमेश्‍वरको सास मेरा नाकमा रहन्छ,

[4] मेरा ओठले कहिल्यै पनि खराबी बोल्नेछैन, मेरो जिब्रोले झूटो कुरा उच्‍चारण गर्नेछैन।

[5] तपाईंहरू ठिक हुनुहुन्छ भनी म कहिल्यै मान्‍नेछैनँ; म नमरुन्जेल मेरो निष्‍ठालाई म इन्कार गर्नेछैनँ।

[6] म मेरो धार्मिकतालाई कायम राख्नेछु र त्यसलाई कहिल्यै छोड्नेछैनँ; म बाँचुन्जेल मेरो विवेकले मलाई धिक्‍कार्नेछैनँ।

[7] “मेरो शत्रु दुष्‍टजस्तै, र मेरो विरोधीचाहिँ अधर्मीजस्तै होऊन्!

[8] किनकि जब ईश्‍वरहीन मानिस नाश हुन्छ, तब त्यसको के आशा हुन्छ र? जब परमेश्‍वरले त्यसको जीवनलाई लिनुहुन्छ,

[9] तब त्यसमाथि कष्‍ट आइलाग्दा, के परमेश्‍वरले त्यसको विलाप सुन्‍नुहुनेछ र?

[10] के त्यसले सर्वशक्तिमान्‌बाट आनन्द पाउनेछ र? के त्यसले सधैँ परमेश्‍वरको नाम पुकार्नेछ र?

[11] “म तपाईंहरूलाई परमेश्‍वरको शक्तिको विषयमा सिकाउनेछु; सर्वशक्तिमान्‌का मार्गहरू म लुकाउनेछैनँ।

[12] तपाईंहरू आफैँले यो कुरा देख्नुभएको छ। तर पनि तपाईंहरू यस्ता व्यर्थका कुराहरू गर्नुहुन्छ।

[13] “परमेश्‍वरले दुष्‍ट मानिसहरूको यस्तो दशा तोक्नुहुन्छ, निर्दयी मानिसले सर्वशक्तिमान्‌बाट प्राप्‍त गर्ने उत्तराधिकार यही हो:

[14] त्यसका छोराछोरीहरू जति धेरै भए तापनि त्यसको अन्त्य तरवारद्वारा हुनेछ; त्यसका सन्तानहरूसँग कहिल्यै पनि प्रशस्त भोजन हुनेछैन।

[15] अनि बाँचेकाहरूलाई रूढीले चिहानमा लानेछ, र त्यसका विधवाहरूले त्यसका निम्ति शोक गर्नेछैनन्।

[16] त्यसले धुलोसरी चाँदी थुपारे तापनि माटोको थुप्रो जतिकै लुगाफाटा थुपारे तापनि

[17] त्यसले थुपारेका कुराहरू धर्मीहरूले पहिरनेछन्, र निर्दोषहरूले त्यसको चाँदी बाँडचुँड गर्नेछन्।

[18] त्यसले बनाएको घर माकुराको जालजस्तै कमजोर हुन्छ, पहरेदारले बनाएको झुपडीजस्तै हुन्छ।

[19] दुष्‍ट धनी भएर सुत्छ, तर अब उसो त्यसले गर्न सक्नेछैन; त्यसले आफ्नो आँखा खोल्दा सबै गइसकेका हुनेछन्।

[20] भलबाढीले जस्तै त्यसलाई त्रासले हताश पार्नेछ; आँधीले रातमा त्यसलाई खोसेर टाढा लैजानेछ।

[21] पूर्वीय बतासले त्यसलाई उडाएर लैजान्छ, र त्यो रहँदैन; बतासले त्यसलाई उसको ठाउँबाट सोहोरेर लैजानेछ।

[22] बतासको शक्तिबाट त्यो टाढा भागे तापनि बतास त्यसको विरुद्धमा दया नदेखाई जाइलाग्नेछ।

[23] बतासले त्यसलाई उपहासको थपडी मार्नेछ, र सुसेल्दै त्यसको ठाउँबाट त्यसलाई हटाउनेछ।”

इयोब — Chapters