Skip to content
Opens in a new window
Listen to this chapter • 4:30

[1] “यस्ता कुराले गर्दा मेरो मुटुको ढुकढुकी ज्यादै बढ्छ, अनि यो आफ्नो ठाउँबाट उफ्रन्छ।

[2] सुन्‍नुहोस्! उहाँको आवाजको गर्जनलाई सुन्‍नुहोस्, उहाँको मुखबाट निस्केको गडगडाहट सुन्‍नुहोस्।

[3] उहाँले आफ्नो बिजुली सारा स्वर्गमुनि छोडिदिनुहुन्छ; र यसलाई पृथ्वीको अन्तिमसम्म पठाइदिनुहुन्छ।

[4] त्यसपछि उहाँको गर्जनको आवाज आउँछ; उहाँ आफ्नो प्रतापी आवाजमा गर्जनुहुन्छ। जब उहाँको आवाज गुञ्जन्छ, तब उहाँले केही पनि रोकेर राख्नुहुन्‍न।

[5] परमेश्‍वरको आवाज अद्‌भुत किसिमले गर्जन्छ; उहाँले हाम्रो समझभन्दा बाहिरका महान् कामहरू गर्नुहुन्छ।

[6] उहाँले हिउँलाई भन्‍नुहुन्छ, ‘पृथ्वीमा झर्,’ भारी वर्षालाई भन्‍नुहुन्छ, ‘मुसलधारे झरी पर्।’

[7] यसर्थ उहाँले सृष्‍टि गर्नुभएका हरेक मानिसहरूले उहाँका कामलाई जानून्, उहाँले सबै मानिसहरूलाई तिनीहरूका परिश्रमबाट रोक्नुहुन्छ।

[8] पशुहरू ओडारमा पस्छन्; तिनीहरू आफ्ना गुफामा बस्छन्।

[9] प्रचण्ड आँधी आफ्नो स्थानबाट निस्कन्छ, र तेज बतासबाट धेरै जाडो आउँछ।

[10] परमेश्‍वरको सासले बरफ उत्पादन गर्छ, र फराकिलो समुद्रको पानी जम्छ।

[11] उहाँले बादललाई ओसको भारी बोकाउनुहुन्छ; उहाँले आफ्नो बिजुली बादलद्वारा छर्नुहुन्छ।

[12] उहाँको आदेशमा उहाँले खटाउनुभए अनुसार तिनीहरू पृथ्वीको सतहभरि मडारिन्छन्।

[13] परमेश्‍वरले मानिसहरूलाई दण्ड दिन, अथवा उहाँको पृथ्वीलाई भिजाउन र उहाँको प्रेम देखाउन बादललाई पठाउनुहुन्छ।

[14] “इयोब, यो कुरा सुन्‍नुहोस्; रोकिनुहोस्, र परमेश्‍वरका अद्‌भुत कार्यहरूमा विचार गर्नुहोस्।

[15] परमेश्‍वरले बादललाई कसरी वशमा राख्नुहुन्छ, अनि कसरी आफ्नो बिजुली चम्काउनुहुन्छ भनी के तपाईं जान्‍नुहुन्छ?

[16] बादल कसरी शान्त भएर एक ठाउँमा अडिरहन्छ, ज्ञानमा सिद्ध हुनुहुनेले कसरी ती अद्‌भुत कार्यहरू गर्नुहुन्छ भन्‍ने कुरा के तपाईं जान्‍नुहुन्छ?

[17] देश दक्षिणी बतासको प्रभावमा परेको बेला तपाईं आफ्ना वस्त्रहरूभित्र न्यानो भएर रहनुहुन्छ,

[18] के तपाईं काँसोको ऐनाजस्तै कडा आकाशलाई, फैलाउने काममा उहाँलाई साथ दिन सक्नुहुन्छ?

[19] “हामीले उहाँलाई के भन्‍नुपर्छ, भन्‍नुहोस्; हामी अन्धकारमा रहेको कारण आफ्नो तर्क प्रस्तुत गर्न सक्दैनौँ।

[20] के उहाँलाई म केही बोल्न चाहन्छु भनेर बताउनुपर्छ र? के कुनै मानिसले आफू निलिएको चाहन्छ र?

[21] तर अब बतासलाई बढारेर सफा पारेको आकाशमा भएको चम्किलो सूर्यलाई कसैले पनि हेर्न सक्दैन।

[22] उत्तरतिरबाट उहाँ सुनौलो भव्यतामा आउनुहुन्छ; परमेश्‍वर अद्‌भुत महिमामा आउनुहुन्छ।

[23] सर्वशक्तिमान् हाम्रो पहुँचभन्दा बाहिर र शक्तिमा उच्‍च हुनुहुन्छ; उहाँको न्याय र महान् धार्मिकतामा उहाँले मानिसहरूलाई थिचोमिचो गर्नुहुन्‍न।

[24] यसकारण मानिसहरूले उहाँलाई श्रद्धा गर्दछन्; किनकि उहाँले हृदयमा बुद्धिमान् छु भनेर दाबी गर्नेहरू सबैलाई आदर गर्नुहुन्‍न।”

इयोब — Chapters