Skip to content
Opens in a new window
Listen to this chapter • 6:57

[1] तब एलिहूले भने:

[2] “हे बुद्धिमान् मानिसहरू हो, मेरा कुराहरू सुन्‍नुहोस्; हे विद्वान् मानिसहरू हो, मेरा कुरा सुन्‍नुहोस्।

[3] किनकि जिब्रोले भोजनलाई चाखेजस्तै, कानले शब्दहरूको जाँच गर्छ।

[4] जे ठिक छ, त्यसलाई हामी आफैँले छुट्याऊँ; जे कुरा असल छ, त्यो कुरा एकसाथ मिलेर सिकौँ।

[5] “इयोबले भन्‍नुहुन्छ, ‘म निर्दोष छु, तर पनि परमेश्‍वरले मलाई न्याय गर्न इन्कार गर्नुभयो।

[6] म ठिक भए तापनि म झूटो ठहराइएको छु; म दोषरहित भए तापनि उहाँको काँडले निको नहुने चोट दिएको छ।’

[7] इयोबजस्तै अर्को कुनै मानिस छ, जसले अपमानलाई पानी पिएजस्तै पिउँछ?

[8] जसले दुष्‍ट काम गर्नेहरूको सङ्गत गर्छन्; जो दुष्‍ट मानिसहरूसँग मिल्नुहुन्छ।

[9] किनकि उहाँ भन्‍नुहुन्छ, ‘परमेश्‍वरलाई खुशी पार्न खोजेर मानिसलाई केही लाभ छैन।’

[10] “यसकारण मेरो कुरा सुन्‍नुहोस्, तपाईं समझदार मानिसहरू। दुष्‍ट काम गर्न परमेश्‍वरबाट अलग हुनुहोस्, गलत काम गर्न सर्वशक्तिमान्‌बाट टाढा रहनुहोस्।

[11] उहाँले मानिसहरूलाई तिनीहरूका कामअनुसार प्रतिफल दिनुहुन्छ; उहाँले तिनीहरूका व्यवहारअनुसारको फल दिनुहुन्छ।

[12] परमेश्‍वरले दुष्‍ट कार्य गर्नुहुन्छ, र सर्वशक्तिमान्‌ले खराब गर्नुहुन्छ भन्‍ने कुरा सोच्नै नसकिने कुरा हो।

[13] कसले उहाँलाई पृथ्वीमा नियुक्त गर्‍यो? कसले उहाँलाई सारा संसारको जिम्मा दियो?

[14] यदि उहाँको यस्तो इच्छा भएको भए र उहाँले आफ्नो आत्मा र सास फर्काउनुभयो भने,

[15] सारा मानव-जाति एकसाथ नाश हुनेछन्, र मानिस जाति सबै माटैमा फर्किजानेछन्।

[16] “यदि तपाईंसँग समझशक्ति भए, यो कुरा सुन्‍नुहोस्; म के कुरा भन्छु, त्यो सुन्‍नुहोस्।

[17] जसले न्यायलाई घृणा गर्छ, के उसैले शासन गर्न सक्छ र? के तपाईं धर्मी र सर्वशक्तिमान्‌लाई दोषी ठहराउनुहुन्छ र?

[18] के उहाँ त्यही परमेश्‍वर हुनुहुन्‍न, जसले राजाहरूलाई, ‘तिमीहरू बेकामे छौ,’ र शासकहरूलाई, ‘तिमीहरू दुष्‍ट मानिसहरू हौ,’ भन्‍नुहुन्छ,

[19] जसले शासकहरूलाई पक्षपात गर्नुहुन्‍न, र गरिबलाई भन्दा धनीलाई निगाह देखाउनुहुन्‍न, किनकि तिनीहरू सबै उहाँकै हातका काम हुन्?

[20] तिनीहरू अचानक मध्यरातमा मरेर जान्छन्; मानिसहरू हल्‍लाइन्छन् र तिनीहरू मरिहाल्छन्; शक्तिशाली शासकहरू मानिसको हातै नपरे तापनि लोप भएर जान्छन्।

[21] “उहाँका नजर मरणशील मानिसहरूका मार्गमा हुन्छ; उहाँले तिनीहरूका हरेक कदम देख्नुहुन्छ।

[22] यस्तो कुनै अँध्यारो, घोर अन्धकार स्थान छैन, जहाँ दुष्‍ट काम गर्नेहरू उहाँको नजरदेखि लुक्न सक्छन्।

[23] परमेश्‍वरको सामु न्यायको निम्ति को आउनुपर्छ भनेर उहाँले मानिसहरूलाई जाँचिरहनुपर्दैन।

[24] उहाँले शक्तिशालीलाई सोधपुछ नै नगरी चकनाचुर पार्नुहुन्छ, र तिनीहरूका ठाउँमा अरूलाई बसाल्नुहुन्छ।

[25] किनकि उहाँले तिनीहरूका कामको ख्याल राख्नुहुन्छ, उहाँले तिनीहरूलाई रातमा भताभुङ्ग पार्नुहुन्छ, र तिनीहरू धुलोपिठो भएर जान्छन्।

[26] उहाँले तिनीहरूलाई तिनीहरूका दुष्‍टताको निम्ति दण्ड दिनुहुन्छ, जहाँ हरेक मानिसहरूले तिनीहरूलाई देख्न सक्छन्,

[27] किनभने तिनीहरूले परमेश्‍वरलाई पछ्याउन छोडेका छन्, र उहाँका मार्गहरूको कुनै पनि मतलब नै गर्दैनन्।

[28] तिनीहरूको कारण गरिबको चीत्कार उहाँको कानमा पर्छ, त्यसैले उहाँले खाँचोमा परेकाहरूको पुकार सुन्‍नुहुन्छ।

[29] तर यदि उहाँ चुप रहनुभयो भने कसले उहाँलाई दोष दिन सक्छ र? यदि उहाँले आफ्नो मुहार लुकाउनुभयो भने उहाँलाई कसले देख्न सक्छ र? यद्यपि उहाँ त हरेक मानिस र जाति-जातिहरू दुवैमाथि हुनुहुन्छ;

[30] ताकि ईश्‍वरहीन मानिस शासक नबनोस्, र मानिसहरू पासोमा नपरून्।

[31] “मानौ कुनै मानिसले परमेश्‍वरलाई यसो भन्यो, ‘म दोषी छु, तर अब कहिल्यै अपराध गर्दिनँ।

[32] मैले देख्न नसकेका कुराहरू मलाई सिकाउनुहोस्; यदि मैले गलत गरेको छु भने अब म फेरि त्यसो गर्नेछैनँ।’

[33] तपाईंले पश्‍चात्ताप गर्न अस्वीकार गर्नुहुँदा, के परमेश्‍वरले तपाईंको सर्तअनुसार तपाईंलाई प्रतिफल दिनुपर्छ? मैले होइन, तपाईंले नै निर्णय लिनुपर्छ; यसकारण तपाईंलाई के थाहा छ, त्यो मलाई भन्‍नुहोस्।

[34] “समझशक्ति भएका मानिसहरूले घोषणा गर्छन्, मेरा कुरा सुन्‍ने बुद्धिमान् मानिसहरूले मलाई भन्छन्,

[35] ‘इयोबले ज्ञानविनै बोल्छन्; तिनका कुराहरूमा अन्तर्ज्ञान छैन।’

[36] अहो, दुष्‍ट मानिसले जवाफ दिएजस्तै विवाद गरेकोमा इयोबलाई सकेसम्म जाँच गरिएको भए त!

[37] तिनको पापमा तिनले विद्रोह थप्दछन्; तिनले हाम्रो बीचमा अपमानको ताली बजाउँछन्, र परमेश्‍वरको विरुद्ध अझ धेरै कुराहरू बोल्छन्।”

इयोब — Chapters