[1] तब इयोबले जवाफ दिए:
[2] “आज पनि मेरो गुनासो तितो छ; म आर्तनादमा छु, तर पनि उहाँको हात ममाथि भार भएको छ।
[3] यदि मैले उहाँलाई कहाँ भेट्टाउन सक्छु भनी जानेको भए; यदि म उहाँको वासस्थानमा जान सक्ने भए,
[4] म आफ्नो मुद्दा उहाँको सामु पेश गर्नेथिएँ, र मेरो मुख तर्कहरूले भर्नेथिएँ।
[5] उहाँले मलाई कस्तो जवाफ दिनुहुँदो रहेछ भनी म पत्तो लगाउनेथिएँ, र उहाँले मलाई के भन्नु हुँदोरहेछ, त्यो विचार गर्नेथिएँ।
[6] के उहाँले मलाई आफ्नो महान् शक्तिले विरोध गर्नुहुन्थ्यो? होइन, उहाँले मेरो विरुद्ध आरोप लगाउनुहुनेथिएन।
[7] त्यहाँ धर्मी मानिसले तिनीहरूको निर्दोषता उहाँको सामु स्थापित गर्न सक्छन्, र त्यहाँ मेरा न्यायकर्ताबाट मैले सदाको निम्ति छुटकारा पाउन सक्थेँ।
[8] “यदि म पूर्वमा गएँ भने, उहाँ त्यहाँ हुनुहुन्न; यदि म पश्चिममा गएँ भने, म उहाँलाई भेट्टाउन सक्दिनँ।
[9] जब उहाँ उत्तरमा काम गर्नुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ; जब उहाँ दक्षिणतिर फर्कनुहुन्छ, म उहाँको एक झलक पनि पाउन सक्दिनँ।
[10] तर उहाँले मैले लिएको मार्ग जान्नुहुन्छ; जब उहाँले मलाई जाँच गर्नुहुन्छ, म निखुर सुनजस्तै भएर आउनेछु।
[11] मेरा खुट्टाहरूले उहाँका पाइलाहरूलाई नजिकबाट पछ्याएका छन्; मैले नतर्किकन उहाँका मार्गहरूलाई पछ्याएको छु।
[12] म उहाँका ओठका आज्ञाहरूबाट तर्किएर गएको छैनँ; मैले उहाँका मुखका वचनहरूलाई मेरो दैनिक भोजनभन्दा पनि ज्यादै साँचेर राखेको छु।
[13] “तर उहाँ अपरिवर्तनीय हुनुहुन्छ, र कसले उहाँको विरोध गर्न सक्छ? उहाँले जे रुचाउनुहुन्छ, त्यही गर्नुहुन्छ।
[14] उहाँले आफ्नो आदेश मेरो विरुद्धमा जारी गर्नुहुन्छ, र उहाँले अझै यस्ता धेरै योजनाहरू साँच्नुभएको छ।
[15] यसैकारण म उहाँको सामु त्रसित हुन्छु; जब म यी सबै कुरा विचार गर्छु, तब म उहाँसँग भयभीत हुन्छु।
[16] परमेश्वरले मेरो हृदयलाई मूर्च्छा पार्नुभएको छ; सर्वशक्तिमान्ले मलाई त्रसित बनाउनुभएको छ।
[17] बाक्लो अन्धकारले मेरो अनुहारलाई छोप्छ, तापनि अन्धकारले मलाई चुप लगाउन सक्दैन।