Skip to content
Opens in a new window
Listen to this chapter • 5:50

[1] “के तैँले लिव्यातनलाई माछाको बल्छीले तान्‍न सक्छस्, वा त्यसको जिब्रोलाई डोरीले बाँध्न सक्छस्?

[2] के तैँले त्यसको नाकबाट डोरी छिराउन सक्छस्; वा त्यसको चिउँडोलाई बल्छीले छेड्न सक्छस्?

[3] के त्यसले तँसँग दयाको भीख माग्ला? वा त्यसले तँसँग नम्र भएर बोल्‍ला?

[4] के जीवनकालभरि नै तेरो कमारो हुनलाई त्यसले तँसँग वाचा बाँध्ला र?

[5] के तैँले त्यसलाई चरालाई झैँ घरमा पाल्न सक्छस्? अथवा तेरो घरका युवतीहरूका निम्ति त्यसलाई बाँधेर राख्न सक्छस्?

[6] के व्यापारीहरूले त्यसलाई किन्‍ने प्रयास गर्लान् र? के तिनीहरूले त्यसलाई पसलेहरूका बीचमा भागबण्डा लाउनान् र?

[7] के तैँले त्यसको छालामा भालाले रोप्न सक्छस्? अथवा त्यसको टाउकोलाई माछा मार्ने अङ्कुसेले छेड्न सक्छस्?

[8] यदि तैँले त्यसमाथि हात उठाइस् भने तैँले त्यससँगको लडाइँलाई जिन्दगीभर याद गर्नेछस्, अनि त्यससित फेरि कहिल्यै जोरी खोज्नेछैनस्!

[9] त्यसलाई वशमा ल्याउन आशा राख्नु नै बेकार छ; त्यसलाई देख्दैखेरि पनि मानिस हताश हुन्छ।

[10] त्यसलाई कसैले उक्साउने साहस गर्दैन भने, झन् मेरो विरुद्धमा खडा हुने आँट कसले गर्न सक्ला?

[11] मैले फिर्ता गर्नैपर्छ भनेर मेरो विरुद्धमा को उभिन सक्छ? किनकि आकाशमुनि भएका हरेक थोक मेरै हुन्।

[12] “म लिव्यातनका अङ्गहरू, त्यसको बल र त्यसको सुन्दर बनावटको विषयमा बोल्न चुप रहनेछैनँ।

[13] त्यसको बाहिरी छाला कसले उतार्न सक्छ? कसले त्यसको दोबर मोटो हतियारलाई छेड्न सक्छ?

[14] डरलाग्दा दाँतहरूले घेरेको त्यसको मुखलाई कसले खोल्ने आँट गर्न सक्छ?

[15] त्यसका खपटा ढालहरू मिलेर बनेका पङ्‌क्तिहरू जस्तै एकसाथ कस्सिएर बसेका छन्;

[16] एक-अर्कासँग एकदमै खापैखाप टाँसिएकोले, त्यसको बीचबाट हावा पनि छिर्न सक्दैन।

[17] ती एक-आपसमा कस्सिएर जोडिएका छन्; तिनीहरू एक-आपसमा टाँसिएका छन्, र त्यसलाई छुट्टाउन सकिँदैन।

[18] लिव्यातनले हाच्छिउँ गर्दा ज्योतिको ज्वालाझैँ चम्कन्छ; त्यसका आँखाहरू बिहानीको किरणहरूजस्ता छन्।

[19] त्यसको मुखबाट आगोका ज्वालाहरू निस्कन्छन्; आगोका झिल्काहरू बाहिर निस्कन्छन्।

[20] बलिरहेको आगोमाथि उम्‍लेको भाँडाबाट निस्केको वाफझैँ त्यसको नाकबाट धुवाँको मुस्लो निस्कन्छ।

[21] त्यसको मुखबाट ज्वालाहरू निस्कन्छन्, र त्यसको सासले कोइलाहरूमा आगो सल्काइदिन्छ।

[22] त्यसको गर्दनमा बलको बास हुन्छ; जहाँ-जहाँ त्यो जान्छ, त्रास फैलिन्छ।

[23] त्यसको मासु पत्रैपत्रा परेर कस्सिएर जोडिएको हुन्छ; त्यो स्थिर र अटल हुन्छ।

[24] त्यसको छाती चट्टानजस्तै कडा, जाँतोको तल्‍लो भागजस्तै कडा हुन्छ।

[25] जब त्यो खडा भएर उठ्छ, तब शक्तिशालीहरू पनि डराउँछन्; त्यसले आक्रमण गर्नुअगि नै तिनीहरू पछि हट्छन्।

[26] त्यसलाई न तरवार, न भाला न तीर, अथवा न त बर्छाले नै केही असर पार्न सक्छ।

[27] त्यसले फलामलाई परालझैँ, र काँसोलाई कुहेको काठझैँ ठान्छ।

[28] काँडले त्यसलाई भगाउन सकिँदैन; त्यसका निम्ति घुयेँत्रोको ढुङ्गाहरू भुसजस्तै हुन्।

[29] त्यसले मुङ्ग्रोलाई परालको टुक्राझैँ ठान्छ; अनि भाला चलाउँदाको आवाजमा त्यो हाँस्छ।

[30] त्यसको पेट मुनिको भाग फुटेका भाँडाका तीखा-तीखा खपटाझैँ हुन्छन्; दाँदे लाउँदा खेत कोतरिएझैँ त्यसले हिलोमा आफ्नो छाप छोड्छ।

[31] त्यसले गहिरो सागरलाई भाँडामा उम्‍लेको पानीझैँ बनाउँछ, र त्यसले समुद्रलाई भाँडामा मलम घोलेझैँ घोल्छ।

[32] टलक्‍क टल्किने धार छोड्दै त्यो हिँड्छ; कसैले त्यस गहिरो सागरलाई सेतो कपाल फुलेको झैँ ठान्छन्।

[33] पृथ्वीमा त्योजस्तो अरू कुनै जीव छैन, जसलाई निडर प्राणीको रूपमा बनाइएको छ।

[34] त्यसले सबै अहङ्कारी जनावरहरूलाई केही ठान्दैन; त्यो सबै घमण्डीहरूका राजा हो।”

इयोब — Chapters