Skip to content
Opens in a new window
Listen to this chapter • 4:36

[1] “स्त्रीको कोखबाट जन्मेको मरणशील मानिसको आयु छोटो र दुःख-पीडाले भरिएको हुन्छ।

[2] तिनीहरू फूलझैँ फक्रन्छन्, र ओइलाइहाल्छन्; हराइजाने छायाजस्तै तिनीहरू रहिरहँदैनन्।

[3] के तपाईंले त्यस्ता प्राणीहरूमा आफ्नो दृष्‍टि राख्नुहुन्छ? के तपाईंले मलाई न्यायको लागि आफ्नो सामु ल्याउनुहुन्छ?

[4] अशुद्ध वस्तुबाट कसले शुद्ध वस्तु बनाउन सक्छ र? कसैले पनि सक्दैन!

[5] हरेक व्यक्तिका दिनहरू निर्धारित छन्; तपाईंले त्यसका महिनाहरूको संख्या तोकिदिनुभएको छ र त्यसले पार गर्न नसक्ने सीमा राखिदिनुभएको छ।

[6] यसकारण ज्यालादार मजदुरले जस्तै आफ्नो समय पूरा नगरेसम्म, त्यसबाट आफ्नो दृष्‍टि टाढा राख्नुहोस् र त्यसलाई एकलै रहन दिनुहोस्।

[7] “किनकि रूखको समेत पनि आशा हुन्छ: त्यो काटेर ढालिए तापनि त्यो फेरि पलाउनेछ, र त्यसका नयाँ टुसाहरू निक्लन छोड्नेछैन।

[8] त्यसका जराहरू जमिनमै छिप्पिए पनि र त्यसको ठुटो माटोमा सुके तापनि

[9] पानीको गन्ध पायो भने त्यसमा फेरि पालुवा लाग्न थाल्छ, र नयाँ बोटबिरुवामा जस्तै त्यसमा टुसा उम्रन्छ।

[10] तर मानिस मरेपछि मेटिएर जान्छ; जब उसले अन्तिम सास फेर्छ, र त्यसपछि त्यो कहाँ रहन्छ?

[11] तालको पानी सुकेजस्तै, अथवा खोलानदी सुकेर सुक्खा भएजस्तै हुन्छ,

[12] त्यसरी नै मानिस मर्छ, र फेरि उठ्दैन; जबसम्म आकाशहरू टलेर जाँदैनन्, मानिसहरू बिउँझनेछैनन्, अथवा तिनीहरू निद्राबाट फेरि उठ्नेछैनन्।

[13] “यदि तपाईंले मलाई चिहानमा लुकाइदिनुभएको भए त, अनि तपाईंको रिस नमरेसम्म मलाई लुकाउनुभएको भए त हुनेथियो! यदि तपाईंले, मेरो समयको सीमा तोकिदिनुभएको भए त, अनि मलाई फेरि सम्झनुभएको भए हुनेथियो!

[14] कोही मरेपछि फेरि जीवित हुन्छ र? मेरो कठिन परिश्रम जतिसुकै लामो भए तापनि मेरो नवीकरणको निम्ति म प्रतीक्षा गर्नेछु।

[15] तपाईंले बोलाउनुहुनेछ, र म तपाईंलाई जवाफ दिनेछु; तपाईं आफ्नो हातले बनाउनुभएको प्राणीलाई हेर्न उत्सुक हुनुहुनेछ।

[16] तब निश्‍चय नै तपाईंले मेरा पाइलाहरू गन्‍नु हुनेछ, तर मेरो पापको हिसाबचाहिँ राख्नुहुनेछैन।

[17] मेरा अपराधहरूलाई एउटा थैलीमा लाहाछाप लगाएर राख्नुहुनेछ; तपाईंले मेरो पाप ढाकिदिनुहुनेछ।

[18] “तर पर्वतहरू बिस्तारै खिइएर खसेझैँ र चट्टान त्यसको ठाउँबाट हटेर गएझैँ,

[19] पानीले ढुङ्गाहरू खियाएर लगेझैँ, र भलबाढीले माटो बगाएर लगेझैँ, त्यसरी नै तपाईंले मानिसको आशा नष्‍ट पारिदिनुहुन्छ।

[20] तपाईंले तिनीहरूलाई एकै पटकमा सधैँको निम्ति जित्नुहुन्छ, र तिनीहरू समाप्‍त भएर जान्छन्; तपाईंले तिनीहरूको स्वरूपलाई कुरूप बनाइदिनुहुन्छ र तिनीहरूलाई टाढा पठाइदिनुहुन्छ।

[21] तिनीहरूका सन्तानहरूले सम्मान पाए तापनि तिनीहरूले त्यो थाहा पाउँदैनन्; यदि तिनीहरूका सन्तानहरू होच्याइए तापनि तिनीहरूले त्यो देख्दैनन्।

[22] तिनीहरूले आफ्नै शरीरको पीडा मात्र महसुस गर्छन्, र आफ्नै लागि मात्र विलाप गर्छन्।”

इयोब — Chapters