[1] तब इयोबले जवाफ दिएर भने:
[2] “यदि मैले मेरो वेदना तौलिन मात्र सकेको भए, र मेरा सबै कष्ट तराजुमा राख्न सकेको भए!
[3] निश्चय नै यो समुद्रको बालुवाभन्दा पनि बढी गह्रौँ हुनेथियो— त्यसैले मेरो रुखो बोलीमा कुनै आश्चर्य मान्नुपर्दैन।
[4] सर्वशक्तिमान्का काँडहरू मभित्र छेडिएका छन्, जसको विष मेरो आत्माले पिउँदछ; परमेश्वरको त्रास मेरो विरुद्धमा लस्करै खडा भएका छन्।
[5] के जङ्गली गधाले घाँस पाउँदा हिनहिनाउँछ र? अथवा दानापानी पाउँदा गोरु डुक्रन्छ र?
[6] स्वाद नभएको भोजन नुनविना खान सकिन्छ र? अथवा अण्डाको सेतो भागमा स्वाद हुन्छ र?
[7] म त्यस्तो भोजनलाई छुन पनि इन्कार गर्छु; किनकि यसले मलाई वाक्कै बनाउँछ।
[8] “हाय, परमेश्वरले मेरो बिन्ती सुनिदिनुभएको भए, कि त मैले आशा गरेको कुरा दिनुभएको भए,
[9] यदि परमेश्वरले मलाई धुलोपिठो पार्न राजी हुनुभएको भए, अनि आफ्नो हात पसारेर मेरो जीवन मार्नुभएको भए त हुनेथियो!
[10] तब मैले मेरो मृत्युमा चैन पाउनेथिएँ, यस्तो असह्य कष्टमा आनन्दित हुनेथिएँ, किनकि मैले पवित्र परमेश्वरको वचनलाई अस्वीकार गरेको छैनँ।
[11] “अब मसँग सहन सक्ने बल नै छैन, तब मैले अझै के आशा राखूँ? अरू के नै सम्भावना छ, जसको लागि म धीरजी भइरहूँ?
[12] के म ढुङ्गाजस्तै बलियो छु र? के मेरो शरीर काँसोको हो र?
[13] के आफैँलाई बचाउने कुनै शक्ति मसँग छ र; अहिले प्रत्येक स्रोत मबाट खोसिएको छ?
[14] “कुनै मानिसले मित्रबाट पाउनुपर्ने दया पाउँदैन भने, त्यसले सर्वशक्तिमान्को भयलाई त्याग्दछ।
[15] तर मेरा दाजुभाइहरू खहरे खोलाहरू जस्तै भर पर्न नसकिने खालका छन्, तिनीहरू बगिजाने खोलाजस्तै मात्र छन्,
[16] तिनीहरू बरफ पग्लेर अन्धकार भएजस्तै र हिउँ पग्लेर उर्लिएका भलजस्तै छन्,
[17] तर त्यो सुक्खा ऋतुमा बग्नै छोड्छ, र गर्मीमा ती बगेका ठाउँहरूबाट हराइहाल्छन्।
[18] यात्री दलहरू पानीको खोजीमा आफ्नो बाटोबाट तर्किजान्छन्; तिनीहरू मरुभूमिको ठाउँमा पुग्छन् र नष्ट हुन्छन्।
[19] तेमाका यात्री दलहरूले पानी खोज्छन्, शेबाका व्यापारी यात्रीहरूले पनि आशाको साथ त्यसलाई खोज्दछन्।
[20] यात्रीहरू ढुक्क भएको कारण तिनीहरू दुःखी भएका छन्; तिनीहरू लाजमा पर्नलाई मात्र पुग्छन्।
[21] अहिले तपाईंहरू पनि मेरो लागि काम नलाग्ने साबित हुनुभयो; तपाईंहरू मेरो डरलाग्दो अवस्था देखेर डराउनु भएको छ।
[22] के मैले कहिल्यै यसो भनेको छु, ‘मलाई केही दिनुहोस्, अथवा तपाईंहरूको सम्पत्तिबाट मेरा लागि मोल तिर्नुहोस्,
[23] अथवा मलाई शत्रुको हातबाट छुटाउनुहोस्, वा निर्दयी मानिसहरूको पञ्जाबाट मलाई छुटाउनुहोस् भनेर कहिल्यै भनेको छु’?
[24] “मलाई सिकाउनुहोस्, र म चुप लाग्नेछु; मैले कहाँ गल्ती गरेको छु, देखाउनुहोस्!
[25] इमानदार वचनहरू कत्ति कष्टदायक छन्, तर तपाईंहरूका तर्कहरूले के प्रमाणित गर्दछ?
[26] के तपाईंहरूले मैले भनेका कुराहरूलाई सुधार्न खोज्नुभएको हो, र मेरा निराशजनक शब्दहरूलाई हावाझैँ सम्झनुहुन्छ?
[27] तपाईंहरूले त टुहुराहरूलाई पनि चिट्ठा हाल्नुहुन्छ, र आफ्ना मित्रलाई समेत साटफेर गर्नुहुन्छ।
[28] “तर अहिले मलाई हेरेर दया गर्नुहोस्। के म तपाईंहरूको सामु झूटो बोल्छु र?
[29] सोच्नुहोस्, अन्याय नगर्नुहोस्; फेरि विचार गर्नुहोस्; किनकि मेरो सत्यनिष्ठा अझै प्रश्नमा छ।
[30] के मेरो जिब्रोमा केही दुष्टता छ? के मेरो मुखले खराबी छुट्याउन सक्दैन र?