Skip to content
Opens in a new window
Listen to this chapter • 5:54

[1] “तर अहिले त मभन्दा साना उमेरकाहरूले मेरो हाँसो उडाउँछन्, जसका बुबाहरूलाई मेरा भेडाहरूलाई हेर्ने कुकुरहरूसँग राख्न पनि अयोग्य ठान्थेँ।

[2] तिनीहरूको जोश तिनीहरूबाट गइसकेको हुनाले, मेरा निम्ति तिनीहरूका हातको बल के नै कामको थियो र?

[3] अभाव र भोकले दुब्लाएर, तिनीहरू राति सुक्खा जमिनमा भौँतारिन्थे, र उजाड ठाउँतिर डुलिहिँड्थे।

[4] तिनीहरूले झाडीबाट नुनिला झारपातहरू बटुल्थे, र तिनीहरूको भोजन कुचोको झाङका जराहरू थिए।

[5] तिनीहरू मानव समाजबाट धपाइएका थिए, चोरहरूलाई कराएर लखेटेजस्तै तिनीहरूलाई लखेटिन्थ्यो।

[6] तिनीहरू खोलाका सुक्खा बगरहरू, जमिनका दुलाहरू र चट्टानका चिराहरूमा बस्‍न बाध्य हुन्थ्यो।

[7] तिनीहरू झाडीहरूमा कराई हिँड्थे र पोथ्राहरूको मुनि गुटमुटिरहन्थे।

[8] तिनीहरू मूर्ख र बेनामका सन्तानहरू; तिनीहरू देशबाट निकालिएकाहरू थिए।

[9] “तर अहिले तिनीहरूका छोराहरूले गीत गाएर मलाई गिल्‍ला गर्छन्; म त तिनीहरूको बीचमा हाँसोको पात्र भएको छु।

[10] तिनीहरूले मलाई घृणा गर्छन्, र मबाट टाढै रहन्छन्; तिनीहरूले मेरो मुखमा थुक्नधरि अप्ठ्यारो मान्दैनन्।

[11] अहिले परमेश्‍वरले मेरो धनुलाई तारविनाको बनाइदिनुभएको छ र मलाई पीडा दिनुभएको छ; तिनीहरूले मेरो सामु संयमता त्यागेका छन्।

[12] मेरो दाहिनेतिर एउटा झुण्डले आक्रमण गर्छ; तिनीहरूले मेरो खुट्टाको लागि पासो थाप्छन्, तिनीहरूले मेरो विरुद्धमा घेरा लगाउँछन्।

[13] तिनीहरूले मेरो बाटो भत्काउँछन्; तिनीहरूले, ‘यसलाई कसैले सहायता गर्दैन,’ भनेर मलाई नाश गर्न सफल हुन्छन्।

[14] तिनीहरू पर्खालका चेपहरूबाट छिरेर अगि बढ्छन्; तिनीहरू भग्नावशेषहरूबाट ठेलमठेल गर्दै मतिर आउँछन्।

[15] मलाई त्रासले छाएको छ; मेरो प्रतिष्‍ठा बतासले उडाएजस्तै भएको छ, मेरो सुरक्षा बादलजस्तै हराएको छ।

[16] “र अहिले मेरो जीवन मभित्रै छोटिँदै गइरहेको छ; कष्‍टपूर्ण दिनहरूले मलाई पक्रेका छन्।

[17] रातले मेरा हड्डीहरूलाई छेड्छ; मलाई पिरोल्‍ने पीडा कहिल्यै थामिँदैन।

[18] परमेश्‍वर आफ्नो महान् शक्तिमा मेरो लुगाझैँ हुनुभएको छ; उहाँले मलाई मेरो लुगाको कठालोले जस्तै गरी घाँटीमा अँठ्यानुभएको छ।

[19] उहाँले मलाई हिलोमा फ्याँक्नुभएको छ, अनि म धुलो र खरानीजस्तै भएको छु।

[20] “हे परमेश्‍वर, म तपाईंलाई पुकार्दछु, तर तपाईंले मलाई जवाफ दिनुहुन्‍न; म प्रार्थनामा खडा हुन्छु, तर तपाईंले मलाई हेर्नु पनि हुन्‍न।

[21] तपाईं मसँग निर्दयी हुनुभएको छ; आफ्नो बलियो हातले मलाई आक्रमण गर्नुहुन्छ।

[22] तपाईंले मलाई उचाल्नुहुन्छ र हावाको अगाडि पछार्नुहुन्छ; तपाईंले मलाई आँधीमा यताउति हुर्र्याउनुहुन्छ।

[23] म जान्दछु कि तपाईंले मलाई मृत्युमा पुर्‍यानुहुन्छ, त्यस ठाउँमा, जुन सबै जीवित प्राणीहरूका निम्ति तोकिएको छ।

[24] “पीडित मानिसले आफ्नो कष्‍टमा सहायताको निम्ति बिन्ती गर्दा निश्‍चय नै त्यसमाथि कसैले हात उठाउँदैन।

[25] के म सङ्कष्‍टमा परेकाहरूका निम्ति रोएको थिइनँ र? के मेरो आत्मा गरिबका निम्ति शोकित भएन र?

[26] तरै पनि मैले असल कुराको निम्ति आशा गर्दा दुष्‍टता नै आइलाग्यो; मैले ज्योतिको खोजी गर्दा अन्धकार नै आइलाग्यो।

[27] मभित्रको उथलपुथल कहिल्यै थामिँदैन; कष्‍टका दिनहरूले मेरो सामना गर्छन्।

[28] म कालो भएको छु, तर घामले होइन; म सभामा खडा हुन्छु, र सहायताको निम्ति कराउँछु।

[29] म त स्यालहरूको भाइ, उल्‍लुहरूको साथी भएको छु।

[30] मेरो छाला डढेर कालो भएको छ, र पिल्सिएको छ; मेरो शरीर ज्वरोले जलेको छ।

[31] मेरो वीणा शोकमा परिणत भएको छ, र मेरो बाँसुरीले विलापको आवाज निकाल्छ।

इयोब — Chapters