Skip to content
Opens in a new window
Listen to this chapter • 5:16

[1] “के तैँले घोरलहरू कहिले बियाउँछ भनी जान्दछस्? के तैँले हरिणीहरूले बच्‍चाहरू बियाएका कहिल्यै देखेको छस्?

[2] के तैँले तिनीहरूले बच्‍चा बियाउँने महिनाहरू गन्दछस्? के तैँले तिनीहरूको बच्‍चा बियाउँने समय जान्दछस्?

[3] तिनीहरूले निहुरेर बच्‍चा बियाउँछन्; तब तिनीहरूको प्रसव वेदनाको अन्त्य हुन्छ।

[4] तिनीहरूका बच्‍चाहरू हुर्कन्छन्, र जङ्गलमा बलिया हुँदै जान्छन्; तिनीहरूले आफ्ना घरलाई छोड्छन् र फर्केर आउँदैनन्।

[5] “कसले जङ्गली गधालाई स्वतन्त्र छाडिदियो? कसले त्यसका डोरीहरू खोलिदियो?

[6] गधाका निम्ति मैले मरुभूमिलाई घरको रूपमा, र नुनिला बेँसीहरू निवासको रूपमा दिएको छु।

[7] त्यसले सहरको होहल्‍लालाई खिसी गर्छ; त्यसले धपाउनेको गाली सुन्दैन।

[8] त्यो चरनको निम्ति डाँडातिर घुमिहिँड्छ, र त्यसले हरेक हरियो कुराको खोजी गर्दछ।

[9] “के जङ्गली साँढेले तेरो सेवा गर्न मान्ला र? के त्यसले तेरो गोठमा रात बिताउला र?

[10] के तैँले जङ्गली साँढेलाई जुवाको डोरीले बाँध्न सक्छस् र? के त्यसले तेरो पछिल्तिरको बेँसीहरू जोत्ला र?

[11] के तैँले त्यसको ठूलो शक्तिमाथि भरोसा गर्नेछस्? के तेरो गाह्रो काम त्यसलाई छोडिदिनेछस्?

[12] के त्यसले तेरो अन्‍न जम्मा गर्ला र खलामा ल्याइदेला भनेर तँ ढुक्‍क हुन सक्छस्?

[13] “शुतुरमुर्गका पखेटाहरू आनन्दले फर्फराउँछन्, यद्यपि तिनीहरूलाई सारसका पखेटाहरू र प्वाँखहरूसँग तुलना गर्न सकिँदैन।

[14] त्यसले आफ्ना अण्डाहरू बालुवाले तातो पारिदिओस् भनी जमिनमा अण्डाहरू पारेर छोडिराख्छे।

[15] अनि खुट्टाले तिनलाई कुल्चेला, अथवा कुनै जङ्गली पशुले धुलोपिठो पार्ला भनी त्यसले सोच्दिन।

[16] आफ्ना चल्‍लाहरू त्यसले आफ्ना होइनन् जस्तै गरी निर्दयी व्यवहार गर्छे; त्यसले आफ्नो प्रसव वेदना खेर गएकोमा वास्तै गर्दिन,

[17] किनकि परमेश्‍वरले त्यसलाई बुद्धि दिनुभएको छैन, अथवा त्यसलाई असल विवेक दिनुभएको छैन।

[18] तापनि जब त्यसले दगुर्नलाई आफ्नो पखेटाहरू फैलाउँछे, त्यसले घोडा र घोडसवारको खिसी गर्छे।

[19] “के तैँले घोडालाई त्यसको शक्ति दिएको हो र? अथवा त्यसको घिच्रोमा जगर पहिर्‍याएको हो र?

[20] के तैँले त्यसलाई सलहलाई जस्तै उफार्न सक्छस् र? त्यसको घमण्डी हिनहिनाइले त्रसित पार्दैन र?

[21] त्यसले आफ्नो शक्तिमा आनन्दित हुँदै डरलाग्दो गरी टाप मार्छ, र युद्धको निम्ति जाइलाग्छ।

[22] त्यसले डरलाई खिसी गर्छ, कुनै कुरासँग डराउँदैन; त्यसले तरवारलाई देखेर पनि पिठिउँ फर्काएर भाग्दैन।

[23] त्यसको छेउमा काँडको ठोकर बज्दछन्, र त्यसको साथमा बर्छा र भाला चम्कन्छन्।

[24] अति जोशसँग त्यो धेरै वेग गतिका साथ अगि बढ्छ; तुरहीको आवाज सुनेर त्यो स्थिर रहन सक्दैन।

[25] तुरहीका आवाजहरू गुन्जँदा त्यसले, ‘आह!’ भन्छ, अनि त्यसले टाढैबाट लडाइँको गन्ध थाहा पाउँछ, सेनापतिहरूका गर्जन र लडाइँको चर्को आवाजहरू थाहा पाउँछ।

[26] “के तेरो बुद्धिद्वारा बाज उँभो-उँभो उड्छ; र त्यसले आफ्ना पखेटाहरू दक्षिणतिर फैलाउँछ र?

[27] के चीलले तेरो हुकुम पाएर उँभो उड्छ, र त्यसले आफ्नो गुँड अग्लो ठाउँमा बनाउँछ र?

[28] त्यो पहरामा बास गर्छ, र रातमा त्यहीँ नै बस्छ; त्यसको गढ चट्टानको धाँदो हो।

[29] त्यहाँबाट त्यसले आफ्नो शिकार खोज्छ; त्यसका आँखाहरूले यसलाई टाढैबाट चिनिहाल्छ।

[30] त्यसका बचेराहरूले रगत चुस्छन्; र जहाँ सिनो हुन्छ, त्यो त्यहीँ नै हुन्छ।”

इयोब — Chapters