Skip to content
Opens in a new window
Listen to this chapter • 6:15

[1] तब इयोबले जवाफ दिए:

[2] “मेरो कुरा ध्यानपूर्वक सुन्‍नुहोस्; यही नै तपाईंहरूले मलाई दिनुहुने सान्त्वना होस्।

[3] म बोल्दा तपाईंहरूले मलाई सहिदिनुहोस्, र मैले बोलिसकेपछि मेरो गिल्‍ला गर्दैरहनुहोस्।

[4] “के मेरो गुनासो मानिसहरूसँगको हो र? म किन अधैर्य नहुनु?

[5] मलाई हेर्नुहोस् र अचम्म मान्‍नुहोस्; छक्‍क परेर दुवै हातले आफ्नो मुख छोप्नुस्।

[6] जब म यो कुरा सोच्दछु, म त्रसित हुन्छु; मेरो शरीर डरले काँप्छ।

[7] दुष्‍ट मानिसहरू किन दीर्घायु हुन्छन्, तिनीहरू किन वृद्ध अवस्थासम्म बाँचिरहन्छन्, र शक्तिमा बढ्दै जान्छन्?

[8] तिनीहरूले आफ्ना छोराछोरीहरूलाई तिनीहरूकै वरिपरि स्थापित भएका र तिनीहरूका सन्तानहरू आफ्ना आँखाकै अगाडि रहेका देख्न पाउँछन्।

[9] तिनीहरूका घरहरू सुरक्षित र भयरहित छन्; परमेश्‍वरको छडी तिनीहरूमाथि पर्दैन।

[10] तिनीहरूका साँढेहरू प्रजनन्‌मा कहिल्यै असफल हुँदैनन्; तिनीहरूका गाईहरू बियाउँछन्, र तुहिँदैनन्।

[11] तिनीहरूका छोराछोरीहरू भेडाका बगालजस्तै दौडन्छन्; तिनीहरूका स-साना केटाकेटीहरू नाच्दै उफ्रन्छन्।

[12] तिनीहरूले खैँजडी र वीणाको सङ्गीतमा गाउँछन्; तिनीहरूले बाँसुरीको धुनमा आनन्द मनाउँछन्।

[13] तिनीहरूले आफ्ना वर्षहरू सम्पन्‍नतामा बिताउँछन्, र शान्तिसँग चिहानमा जान्छन्।

[14] तापनि तिनीहरूले परमेश्‍वरलाई भन्छन्, “हामीलाई एकलै छाडिदिनुहोस्! हामीलाई तपाईंका मार्गहरू जान्‍ने इच्छा छैन।

[15] सर्वशक्तिमान् को हुनुहुन्छ र हामी उहाँको सेवा गरौँ? उहाँलाई प्रार्थना गरेर हामीलाई के नै लाभ हुन्छ र?”

[16] तर तिनीहरूको उन्‍नति तिनीहरूको आफ्नो हातमा छैन, यसकारण म दुष्‍ट मानिसहरूको सल्‍लाहबाट धेरै टाढा रहन्छु।

[17] “तरै पनि दुष्‍ट मानिसको बत्ती कति पटक निभ्छ र? तिनीहरूमाथि कति पटक विपत्ति आउँछ र, परमेश्‍वरले आफ्नो क्रोधमा तिनीहरूलाई दण्ड दिनुभएको छ र?

[18] तिनीहरू कति पटक बतासको अगाडिको परालजस्तै, र आँधीले उडाएको भुसजस्तै भएका छन् र?

[19] यसो भनिएको छ, ‘परमेश्‍वरले दुष्‍ट मानिसहरूको दण्ड तिनका छोराछोरीहरूका निम्ति साँचेर राख्नुहुन्छ।’ उहाँले त्यस दुष्‍टलाई दण्ड देऊन्, ताकि तिनीहरू आफैँले त्यो अनुभव गरून्!

[20] तिनीहरूका आफ्नै आँखाहरूले आफ्नो विनाश देखून्; तिनीहरूले सर्वशक्तिमान्‌को क्रोधको कचौरा पिऊन्।

[21] जब तिनीहरूका तोकिएका महिनाहरू समाप्‍त हुन्छन्, तिनीहरूले आफूले छोडेर जाने परिवारको निम्ति के वास्ता गर्छन् र?

[22] “यदि परमेश्‍वरले सर्वोच्‍चमा हुनेलाई समेत न्याय गर्नुहुन्छ भने, के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ?

[23] कोही मानिस मृत्युको दिनसम्म स्वस्थ रहन्छ, पूर्ण रूपले सुरक्षित र सुखमा,

[24] हृष्‍टपुष्‍ट शरीरमा, हड्डी मासीले भरिएको अवस्थामा मर्छ।

[25] तर कोही मानिस भने असल कुराहरूको कहिल्यै उपभोग गर्न नपाई, आफ्नो प्राणको तितोपनामा मर्छ;

[26] ती दुवै सँगसँगै धुलोमा पस्रिएका हुन्छन्, र ती दुवैलाई किराहरूले ढाक्दछन्।

[27] “तपाईंहरूले के सोच्दै हुनुहुन्छ भनी म राम्ररी जान्दछु, मलाई हानि पुर्‍याउने तपाईंहरूको दुष्‍ट योजना मलाई थाहा छ।

[28] तपाईंहरूले भन्‍नुहुन्छ, ‘अब त्यो महान् मानिसको घर कहाँ छ, त्यो पाल जहाँ दुष्‍ट मानिस बस्दछ?’

[29] के तपाईंहरूले ती यात्रा गर्नेहरूलाई कहिल्यै सोध्नुभएको छैन? के तपाईंहरूले तिनीहरूले भनेका कुराहरूप्रति ध्यान दिनुभएको छैन—

[30] कि दुष्‍ट मानिसहरू विपत्तिको दिनमा बचाइनेछन्, तिनीहरू क्रोधको दिनबाट छुटाइनेछन्?

[31] कसले तिनीहरूकै सामु तिनीहरूलाई दोष लगाउँछ र? तिनीहरूले जे गरेका छन्, त्यसको बदला कसले लिन्छ र?

[32] तिनीहरूलाई चिहानमा लगिन्छ, र तिनीहरूको चिहानमाथि पहरा लगाइन्छ।

[33] बेँसीको माटो तिनीहरूलाई मिठो लाग्छ; सबै मानिसहरूले तिनीहरूलाई पछ्याउँछन्, र असंख्य भीड तिनीहरूको अगि लाग्छन्।

[34] “यसकारण तपाईंहरूले मलाई आफ्ना व्यर्थका कुराहरूले कसरी सान्त्वना दिन सक्नुहुन्छ? तपाईंहरूका जवाफ असत्यबाहेक अरू केही होइन!”

इयोब — Chapters