Skip to content
Opens in a new window
Listen to this chapter • 3:59

[1] तब बिल्दद शुहीले यस्तो जवाफ दिए:

[2] “कहिलेसम्म तपाईं यस्ता कुराहरू गर्नुहुन्छ? तपाईंको मुखका वचनहरू हुरीबतासजस्तै छन्।

[3] के परमेश्‍वरले अन्याय गर्नुहुन्छ? अथवा के सर्वशक्तिमान्‌ले ठिक कुरालाई बिगार्नुहुन्छ र?

[4] जब तपाईंका छोराछोरीहरूले उहाँको विरुद्धमा पाप गरे, तब उहाँले तिनीहरूलाई तिनीहरूकै पापको सजाय दिनुभयो।

[5] तर यदि तपाईंले परमेश्‍वरलाई इमानदारीसाथ खोज्नुभयो भने, र सर्वशक्तिमान्‌सँग बिन्ती गर्नुभयो भने

[6] यदि तपाईं निर्दोष र धर्मी हुनुहुन्छ भने, परमेश्‍वर आफैँ तपाईंको पक्षमा जाग्नुहुनेछ, र उहाँले तपाईंलाई पुनर्समृद्धिमा निर्माण गर्नुहुनेछ।

[7] तपाईंको सुरुवात सामान्य देखिएला, तर तपाईंको भविष्य अति समृद्ध हुनेछ।

[8] “पहिलेका पुस्ताहरूलाई सोध्नुहोस्, र तिनीहरूका पितापुर्खाहरूले सिकेका कुराहरूमा विचार गर्नुहोस्,

[9] किनकि हामी त हिजो मात्र जन्मेका हौँ, र हामी केही जान्दैनौँ; अनि पृथ्वीमा हाम्रा दिनहरू छायाजस्ता छन्।

[10] के तिनीहरूले तपाईंलाई सिकाउँदैनन्, र के तपाईंलाई बताउँदैनन् र? के तिनीहरूले आफ्ना समझशक्तिका कुराहरू निकाल्दैनन् र?

[11] के सिमसार नभएको ठाउँमा काँस लहलहाउँछ र? के निगालाहरू पानीविना सप्रन्छन् र?

[12] तिनीहरू बढ्दै जान्छन्, र नकाटीकनै ती अरू घाँसभन्दा छिटो ओइलाएर जान्छन्।

[13] परमेश्‍वरलाई बिर्सनेहरूको अवस्था पनि त्यस्तै हुन्छ; यसरी नै ईश्‍वरहीन मानिसहरूको आशा नष्‍ट हुन्छ।

[14] तिनीहरूले भरोसा राखेको कुरा कमजोर हुन्छ; तिनीहरूले भर परेको कुरा माकुराको जालजस्तो हुन्छ।

[15] तिनीहरू जालमा आड लिन खोज्छन्, तर त्यो टिक्दैन; तिनीहरू त्यसलाई समात्छन्, तर त्यसले थाम्दैन।

[16] तिनीहरू घामपानी पाएको बिरुवाजस्तै हुन्छन्, जसका टुसाहरू बगैँचाभरि फैलिएका हुन्छन्;

[17] त्यसले आफ्ना जराहरूलाई ढुङ्गाको थुप्रोभित्र बटार्छ, र ढुङ्गाहरूका बीचमा ठाउँ खोज्छ।

[18] तर जब त्यो त्यसको ठाउँबाट उखेलिन्छ, तब त्यस ठाउँले त्यसलाई त्यागेर भन्छ, ‘मैले तँलाई कहिल्यै देखिनँ।’

[19] निश्‍चय नै त्यसको जीवन यसरी नै अन्त्य हुन्छ, र त्यस माटोबाट अरू बोटबिरुवाहरू उम्रन्छन्।

[20] “निश्‍चय नै परमेश्‍वरले निर्दोष मानिसलाई त्याग्नुहुन्‍न अथवा दुष्‍ट काम गर्नेहरूका हातलाई बलियो पार्नुहुन्‍न।

[21] उहाँले अझै पनि तपाईंको मुखलाई हाँसोले र तपाईंका ओठलाई आनन्दको सोरले भरिदिनुहुनेछ।

[22] तपाईंका शत्रुहरू लाजले ढाकिनेछन्; र दुष्‍टका पालहरू रहनेछैनन्।”

इयोब — Chapters