[1] तब इयोबले जवाफ दिए:
[2] “तपाईंहरूले मलाई कहिलेसम्म यातना दिइरहनुहुन्छ र तपाईंहरूको वचनले मलाई आघात पुर्याउनुहुन्छ?
[3] तपाईंहरूले मलाई अहिलेसम्म दश पटक अपमान गर्नुभएको छ; तपाईंहरू मलाई निर्लज्ज भएर आक्रमण गर्नुहुन्छ।
[4] यदि म बरालिएको साँचो हो भने मेरो गल्तीको सरोकार मसँगै मात्र रहन्छ।
[5] यदि तपाईंहरूले आफूलाई मभन्दा उच्च ठान्नुहुन्छ, र मेरो अपमान मेरै विरुद्धमा प्रयोग गर्नुहुन्छ भने,
[6] तपाईंहरूले यो कुरा बुझ्नुहोस् कि परमेश्वरले ममाथि अन्याय गर्नुभएको छ, र उहाँले मलाई चारैतिरबाट पासोमा पार्नुभएको छ।
[7] “मैले, ‘अन्याय!’ भनेर कराए तापनि मैले कुनै जवाफ पाउँदिनँ; मैले सहायताको निम्ति गुहार मागे तापनि म कुनै न्याय पाउँदिनँ।
[8] उहाँले मेरो बाटो थुनिदिनुभएको छ त्यसैले म पार गर्न सक्दिनँ; उहाँले मेरो मार्गलाई अन्धकारले ढाकिदिनुभएको छ।
[9] उहाँले मेरो सम्मान मबाट खोस्नुभएको छ, र मेरो शिरबाट मुकुट हटाइदिनुभएको छ।
[10] उहाँले म नाश नभएसम्म चारैतिरबाट छिन्नभिन्न पार्नुहुन्छ; उहाँले एउटा रूखलाईझैँ मेरो आशालाई जरैसमेत उखेलिदिनुहुन्छ।
[11] उहाँको क्रोध मेरो विरुद्धमा जल्छ; उहाँले मलाई आफ्ना शत्रुहरू मध्येको एक ठान्नुहुन्छ।
[12] उहाँका सेनाहरू शक्तिसाथ अगि बढ्छन्; तिनीहरूले मेरो विरुद्ध घेरा लगाएर बस्छन्, र मेरो पालका चारैतिर छाउनी बनाएर बस्छन्।
[13] “उहाँले मेरा परिवारलाई मबाट बिरानो बनाइदिनुभएको छ; मेरा इष्टमित्रहरू पूर्ण रूपले मबाट पराई भएका छन्।
[14] मेरा आफन्तहरू टाढा भएका छन्; मेरा नजिकका मित्रहरूले मलाई बिर्सेका छन्।
[15] मेरा पाहुनाहरू र मेरा सेविकाहरूले मलाई विदेशीझैँ ठान्छन्; तिनीहरूले मलाई पराईझैँ ठान्छन्।
[16] म मेरो सेवकलाई बोलाउँछु, मैले आफैँले त्यसलाई अनुरोध गरे तापनि त्यसले मलाई जवाफ दिँदैन;
[17] मेरो सास मेरी पत्नीलाई आपत्तिजनक छ; मेरा आफ्नै दाजुभाइहरूका बीचमा म घृणित भएको छु।
[18] साना केटाकेटीहरूसमेतले मलाई हेला गर्छन्; जब म देखा पर्छु, तिनीहरूले मेरो हाँसो उडाउँछन्।
[19] मेरा सबै मिल्ने साथीहरूले मलाई घृणा गर्छन्; मैले अति प्रेम गरेकाहरू सबै मेरो विरुद्धमा उठेका छन्।
[20] अब त म मात्र हाड र छाला भएको छु; म मेरो दाँतको छालाले मात्र बचेर उम्केको छु।
[21] “मलाई दया देखाउनुहोस्, मेरा मित्रहरू, मलाई दया देखाउनुहोस्; किनकि परमेश्वरको हातले मलाई प्रहार गर्नुभएको छ।
[22] परमेश्वरले मेरो खेदो गर्नुभएझैँ तपाईंहरूले पनि किन मेरो खेदो गर्नुहुन्छ? मेरो मासु चपाएर के तपाईंहरूलाई अझै पुगेन?
[23] “अहो, मेरा शब्दहरू लेखिएका भए, ती एउटा चर्मपत्रमा लेखिएका भए,
[24] यदि ती सिसामा फलामको औजारले खोपिएका भए, अथवा सदाको निम्ति चट्टानमा खोपिएका भए हुनेथियो!
[25] म जान्दछु मेरा उद्धारकर्ता जीवित हुनुहुन्छ, र उहाँ अन्त्यको दिनमा यस पृथ्वीमा खडा हुनुहुनेछ।
[26] अनि मेरो छाला नष्ट भइसकेपछि पनि, अझै म मेरो शरीरमा परमेश्वरलाई देख्नेछु;
[27] म आफैँले उहाँलाई देख्नेछु, मेरो आफ्नै आँखाले—अरू कसैले होइन। मेरो हृदय मभित्र कति इच्छुक हुन्छ!
[28] “यदि तपाईंहरूले यसरी भन्नुहुन्छ, ‘हामी कसरी त्यसलाई दुःख दिन सक्छौँ; किनकि समस्याको जड त त्यो आफैँ हो,’
[29] तपाईंहरू आफैँमाथि तरवारको डर रहोस्; किनकि क्रोधले तरवारद्वारा दण्ड ल्याउनेछ, र त्यसपछि तपाईंहरूले न्याय छ भनेर जान्नुहुनेछ।”