Skip to content
Opens in a new window
Listen to this chapter • 3:34

[1] तब बिल्दद शुहीले यस्तो जवाफ दिए:

[2] “तपाईंले यी भाषणहरू कहिले समाप्‍त गर्नुहुन्छ? संवेदनशील हुनुहोस् र मात्र हामी कुरा गर्न सक्छौँ।

[3] हामीलाई किन पशुझैँ व्यवहार गर्नुहुन्छ, र तपाईंको दृष्‍टिमा हामीलाई मूर्ख सोच्नुहुन्छ?

[4] तपाईं जसले आफ्नो रिसमा स्वयम्‌लाई टुक्रा-टुक्रा पार्नुभएको छ; के तपाईंको खातिर पृथ्वीलाई त्यागिदिने? अथवा के चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिने?

[5] “दुष्‍ट मानिसको बत्ती निभाइन्छ; त्यसको आगोको ज्वाला बल्न छोड्छ।

[6] त्यसको पालमा भएको उज्यालो अँध्यारो हुन्छ; त्यसको छेउमा भएको बत्ती निभेर जान्छ।

[7] त्यसको बलियो पाइला कमजोर हुन्छ; त्यसका आफ्नै युक्तिहरूले त्यसलाई लडाइदिन्छन्।

[8] त्यसका खुट्टाले त्यसलाई पासोमा पार्छ; त्यो त्यसको फन्दामा भौँतारिन्छ।

[9] धरापले त्यसको कुर्कुच्‍चामा पक्रन्छ; पासोले त्यसलाई जोडसित समातेर राख्छ।

[10] त्यसका निम्ति एउटा पासो जमिनमा लुकाइएको छ; त्यसका बाटोमा एउटा धराप थापिएको छ।

[11] त्यसलाई त्रासले चारैतिरबाट तर्साउँछ, र त्यसको हरेक पाइलालाई खेद्‌दछ।

[12] विपत्ति त्यसको निम्ति भोकाएको छ; जब त्यो लड्छ, तब प्रकोपले त्यसलाई पर्खिरहेको हुन्छ।

[13] रोगले त्यसका छालाका भागहरू खाइदिन्छ; मृत्युको पहिलो सन्तानले त्यसका अङ्गहरू निल्दछ।

[14] त्यसको पालको सुरक्षाबाट त्यसलाई टाढा लैजान्छ; र आतङ्कहरूको राजाकहाँ लगिन्छ।

[15] त्यसको पालमा आगोले बास गर्छ, त्यसका वासस्थानमा बल्दैगरेको गन्धक छरिएको छ।

[16] तल फेदमा त्यसका जराहरू सुकेर जान्छन्, र माथि त्यसका हाँगाहरू बोटमै ओइलिएर जान्छन्।

[17] त्यसको सम्झना पृथ्वीबाटै मेटिएर जानेछ; देशमा त्यसको नामनिशानै रहनेछैन।

[18] त्यसलाई उज्यालोबाट अन्धकारमा धपाइनेछ र त्यसलाई संसारबाटै निकालिनेछ।

[19] त्यसका मानिसहरूको बीचमा त्यसका कुनै सन्तानहरू अथवा वंशहरू छैनन्; एक समय जहाँ त्यो बसेको थियो, त्यहाँ बाँचेकाहरू कोही पनि छैनन्।

[20] त्यसको दशामा पश्‍चिमका मानिसहरू चकित हुनेछन्; र पूर्वका मानिसहरू त्रसित हुनेछन्।

[21] साँच्‍चै दुष्‍ट मानिसको घरको दशा यस्तै हुनेछ; परमेश्‍वरलाई नचिन्‍नेहरूको घरको दशा पनि यस्तै हुनेछ।”

इयोब — Chapters