Skip to content
Opens in a new window
Listen to this chapter • 7:30

[1] “मैले कुनै कन्यालाई कामुक दृष्‍टिले नहेर्ने भनी मैले आफ्ना आँखाहरूसँग करार बाँधेको छु।

[2] किनकि हाम्रो निम्ति स्वर्गबाट परमेश्‍वरले ठहराउनुभएको भाग, उच्‍चमा रहनुहुने सर्वशक्तिमान्‌बाटको अंश के हो?

[3] के दुष्‍ट मानिसहरूका निम्ति विनाश, र खराब काम गर्नेहरूका निम्ति विपत्ति छैन र?

[4] के उहाँले मेरा मार्गहरू देख्नुहुन्‍न र मेरो प्रत्येक पाइला गन्ती गर्नुहुन्‍न र?

[5] “यदि म झूटो मार्गमा हिँडेको छु भने अथवा मेरा पाउहरू छलतर्फ हतारिएका छन् भने,

[6] परमेश्‍वरले मलाई न्यायको तराजुमा तौलून्, अनि उहाँले म निर्दोष छु भनी जानून्।

[7] यदि मेरा पाइलाहरू सोझो मार्गबाट तर्केका छन् भने, यदि मेरो हृदयलाई मेरा आँखाहरूले डोर्‍याइएका छन् भने, अथवा मेरा हातहरू अशुद्ध पारेको भए,

[8] तब मैले छरेका अन्‍नहरू कसैले खाओस्, र मेरा बालीहरू उखालिओस्।

[9] “यदि मेरो हृदय कुनै स्त्रीद्वारा मोहित पारेको भए, अथवा यदि मेरो छिमेकीको ढोकामा म ढुकिबसेको भए,

[10] मेरी पत्नीले अर्कै मानिसको जाँतो पिँध्न परोस्, र परपुरुषहरू ऊसँग सुतून्;

[11] किनकि त्यो घोर कुकर्म हो; र न्याय गरिनुपर्ने पाप हो।

[12] किनकि यो त जलेर भस्म पार्ने आगो हो; यसले मेरो सबै खेतीलाई जरैसमेत उखेलिदिन्छ।

[13] “मेरा कुनै पनि सेवकहरूले गुनासो गर्दा, चाहे स्त्री होस् वा पुरुष, यदि तिनीहरूलाई मैले न्याय गर्न इन्कार गरेको भए,

[14] परमेश्‍वरसँग मेरो सामना हुँदा म के गरूँ? उहाँले मेरो लेखा लिनुहुँदा म उहाँलाई के जवाफ दिऊँ?

[15] के मलाई आमाको गर्भमा बनाउनुहुनेले नै तिनीहरूलाई पनि बनाउनुभएको होइन र? के उहाँले नै हाम्रा आमाको गर्भमा हामी दुवैलाई रच्नुभएको होइन र?

[16] “यदि मैले गरिबहरूका इच्छालाई इन्कार गरेको भए, अथवा विधवाहरूका आँखालाई निराश पारिदिएको भए,

[17] यदि मैले आफ्नो लागि मात्र खानेकुरा राखेको भए, यदि मैले अनाथहरूसँग बाँडचुँड नगरी आफूसँगै राखेको भए—

[18] तर मैले आफ्नो कलिलै उमेरदेखि बुबाले जस्तै गरी तिनीहरूलाई हुर्काएँ, र मेरो जन्मदेखि नै मैले विधवाहरूलाई डोर्‍याएँ—

[19] यदि मैले कोही लुगा नभएर नष्‍ट भइरहेको देख्दा, अथवा लुगा नभएर खाँचोमा परेकाहरूलाई देख्दा,

[20] अनि मेरो भेडाको ऊनले तिनीहरूलाई न्यानो पार्दा तिनीहरूको हृदयले मलाई आशिष् नदिएको भए,

[21] यदि मैले अदालतमा मेरो प्रभाव छ भनेर, मैले अनाथहरूका विरुद्ध हात उठाएको भए,

[22] त्यसो हो भने मेरा पाखुरा कुमबाट खुस्किजाओस्, त्यो जोर्नीबाट चुँडिओस्।

[23] किनकि परमेश्‍वरबाटको विनाशसँग म त्रसित थिएँ, र उहाँको गौरवको डरले मैले त्यस्ता कामहरू गर्नै सकिनँ।

[24] “यदि मैले मेरो भरोसा सुनमाथि राखेको छु भने अथवा निखुर सुनलाई यसरी भनेको छु भने, ‘तँ मेरो सुरक्षा होस्,’

[25] यदि म आफ्नो प्रशस्त धनसम्पत्तिमा, मेरो हातको समृद्धिमा आनन्दित भएको छु भने

[26] यदि मैले सूर्यको प्रतापलाई अथवा चन्द्रमाको गौरवलाई कदर गरेको भए,

[27] जसले गर्दा मेरो हृदय गोप्य रूपमा तिनीहरूतर्फ मोहित हुनेथिए, र मेरा हातले तिनीहरूलाई श्रद्धाको चुम्बन चढाउनेथिए,

[28] त्यसो भएको भए यो न्याय गरिने योग्यका पाप हुनेथिए; किनकि म उच्‍चमा हुनुहुने परमेश्‍वरप्रति अविश्‍वासयोग्य हुनेथिएँ।

[29] “यदि म आफ्नो शत्रुहरूका दुर्भाग्यमा रमाएको भए, अथवा तिनीहरूमाथि आएको विपत्तिमा खुशी भएको भए—

[30] मैले तिनीहरूको जीवनको विरुद्ध श्राप दिएर आफ्नो मुखलाई पाप गर्न दिएको छैनँ—

[31] यदि मेरो घरानाका मानिसहरूले कहिल्यै यसो नभनेको भए, “इयोबको भोजनबाट कोचाहिँ तृप्‍त भएको छैन?”

[32] तर कुनै पनि परदेशीले सडकमा रात बिताउनु पर्दैनथ्यो; किनकि मेरो घरको ढोका सधैँ यात्रीहरूका लागि खुल्‍लै रहन्थ्यो,

[33] के मैले अरू मानिसहरूले जस्तै मेरो हृदयमा मेरो दोष लुकाएर मेरो पाप ढाकेको छु र?

[34] म भीडसँग धेरै डराएर, आफन्तहरूले गिल्‍ला पो गर्लान् कि भनी, म चुपचाप घरमै लुकेर बसेको छु र?

[35] (“अहो, मेरो कुरा सुनिदिने कोही भइदिए त! अब म आफ्नो बहसमा हस्ताक्षर गर्छु—सर्वशक्तिमान्‌ले नै मलाई जवाफ देऊन्; मलाई अभियोग लगाउनेहरूले आफ्नो दोषपत्रमा लेखेर देऊन्।

[36] निश्‍चय नै म त्यो मेरो काँधमा बोकेर हिँड्नेथिएँ, म त्यसलाई मुकुटजस्तै लगाउनेथिएँ।

[37] म उहाँलाई मेरो हरेक पाइलाको हिसाब दिनेथिएँ; म उहाँको सामु शासकझैँ उपस्थित हुनेथिएँ।)

[38] “यदि मेरो जमिन मेरो विरुद्धमा कराउँथ्यो, र त्यसका सबै ड्याङहरू आँसुले भिजेका हुन्थे भने,

[39] यदि मैले त्यसको फसल रकम नतिरी खाएको छु भने अथवा मोहीहरूलाई आत्महत्या गर्न बाध्य बनाएको छु भने

[40] त्यसो भए गहुँको सट्टामा काँडैकाँडा, र जौको सट्टामा गन्हाउने झारपात उम्रून्।” यति भनिसकेपछि इयोबका वचनहरू समाप्‍त भए।

इयोब — Chapters