Skip to content
Opens in a new window
Listen to this chapter • 6:18

[1] “तर अब, हे इयोब, मेरो कुरा सुन्‍नुहोस्; मैले भनेको एक-एक कुरा ध्यान दिएर सुन्‍नुहोस्।

[2] मैले मेरो मुख खोल्नै लागेको छु; मेरा कुराहरू मेरो जिब्रोको टुप्पैमा छन्।

[3] मेरा शब्दहरू साँचो हृदयबाट आउँछन्; मेरा ओठले मैले जानेका कुराहरू इमानदारीतापूर्वक बोल्छन्।

[4] परमेश्‍वरको आत्माले मलाई बनाउनुभएको हो; सर्वशक्तिमान्‌को सासले मलाई जीवन दिन्छ।

[5] यदि तपाईंहरूले सक्नुहुन्छ भने मलाई जवाफ दिनुहोस्; तपाईंहरू उठ्नुहोस् र आफ्ना तर्कहरू मेरो सामु पेस गर्नुहोस्।

[6] परमेश्‍वरको दृष्‍टिमा म पनि तपाईंहरूजस्तै छु; म पनि माटोबाटै बनाइएको हुँ।

[7] तपाईंहरू मसँग डराउनुपर्दैन, न त तपाईंहरूमाथि मेरो हात नै गह्रौँ होस्।

[8] “तर तपाईंहरूले मैले सुन्‍ने गरी भन्‍नुभएको छ— मैले ती शब्दहरू सुनेको छु—

[9] ‘म पवित्र छु, र मैले पाप गरेको छैनँ; म शुद्ध छु; र पापरहित छु।

[10] तर पनि परमेश्‍वरले मेरो गल्ती भेट्टाउनुभयो; उहाँले मलाई आफ्नो शत्रुझैँ ठान्‍नुहुन्छ।

[11] उहाँले मेरा खुट्टाहरूलाई साङ्लाले बाँध्नुहुन्छ; उहाँले मेरा सबै मार्गहरू ध्यानसित नियाल्नुहुन्छ।’

[12] “तर म तपाईंलाई भन्दछु, यस कुरामा तपाईं ठिक हुनुहुन्‍न; किनकि परमेश्‍वर मरणशील मानिसभन्दा महान् हुनुहुन्छ।

[13] तपाईं किन उहाँलाई गुनासो पोख्नुहुन्छ, के उहाँले कुनै मानिसको तर्कहरूको जवाफ दिनुहुन्‍न भनेर हो?

[14] किनकि परमेश्‍वर मानिसहरूसँग बोल्नुहुन्छ—अहिले एक प्रकारले, र पछि अर्कै प्रकारले— यद्यपि त्यो कसैले बुझ्नै सक्दैन।

[15] सपनामा, रातको दर्शनमा, जब मानिसहरू गहिरो निन्द्रामा सुतेका हुन्छन्, अनि आफ्ना ओछ्यानमा मस्त निद्रामा परेका हुन्छन्;

[16] तब उहाँ तिनीहरूका कानमा बोल्नुहुन्छ, र चेताउनीहरूले तिनीहरूलाई त्रसित पार्नुहुन्छ,

[17] मानिसहरूलाई गलत काम गर्नदेखि फर्काउन र तिनीहरूलाई घमण्डदेखि टाढा राख्न,

[18] तिनीहरूलाई खाडलबाट जोगाउन, तिनीहरूको जीवनलाई तरवारबाट नाश हुनबाट जोगाउनुहुन्छ।

[19] “अथवा कसैलाई लगातार हड्डी दुख्‍ने रोगको साथ पीडाको ओछ्यानमा ताडना दिनुहुन्छ;

[20] त्यसकारण तिनीहरूको शरीरले भोजन रुचाउँदैन र तिनीहरूको प्राणले जस्तै मिठो भोजनलाई पनि घृणा गर्छ।

[21] तिनीहरूको शरीरको मासु सुकेर जान्छ, अनि तिनीहरूका एक समयमा नदेखिएका हड्डीहरू अब देखिन थाल्छन्।

[22] तिनीहरू खाडलको नजिकै पुग्छन्, र तिनीहरूको जीवन मृत्युको दूतकहाँ पुग्छन्।

[23] तरै पनि यदि तिनीहरूका पक्षमा एक जना स्वर्गदूत, हजारौँबाट एक जना दूत छन् भने, जसलाई तिनीहरूका निम्ति कसरी धर्मी हुने भनेर सिकाउन पठाइए भने,

[24] अनि उनले ती व्यक्तिप्रति अनुग्रही भएर परमेश्‍वरलाई भनिदिए, तिनीहरूलाई खाडलमा जानदेखि बचाइदिनुहोस्; मैले यिनीहरूका निम्ति छुटकाराको मोल प्राप्‍त गरेको छु—

[25] तिनीहरूको मासु बालकको जस्तै फेरि नयाँ भइजाओस्; तिनीहरू युवा अवस्थाका दिनहरूमा जस्तै फेरि पुनर्निर्माण होऊन्—

[26] तब त्यसले परमेश्‍वरसँग प्रार्थना गर्न सक्छ, र उहाँको कृपादृष्‍टि पाउन सक्छ; तिनीहरूले परमेश्‍वरको मुहार देख्नेछन्, र आनन्दले जयजयकार गर्नेछन्; उहाँले तिनीहरूलाई पूर्ण स्वास्थ्यमा पुनर्स्थापित गर्नुहुनेछ।

[27] तब तिनीहरू मानिसहरूकहाँ गएर भन्‍नेछन्, ‘मैले पाप गरेँ, जे कुरा ठिक थियो, मैले त्यसलाई बिगारेको छु; तर मैले भोग्नुपर्ने सजाय पाइनँ।

[28] परमेश्‍वरले मेरो प्राणलाई तल मृत्युको खाडलमा जानदेखि छुटाउनुभएको छ, अनि म जीवनको ज्योतिमा रमाउनलाई जीवित रहनेछु।’

[29] “परमेश्‍वरले यी सबै कुराहरू मानिसको लागि गर्नुहुन्छ— दुई पटक अथवा तीनपल्टसम्म—

[30] तिनीहरूलाई मृत्युको खाडलबाट फर्काएर ल्याउनलाई, ताकि जीवनको ज्योति तिनीहरूमाथि चम्कन सकोस्।

[31] “त्यसकारण हे इयोब, सुन्‍नुहोस्, र मेरो कुरामा ध्यान दिनुहोस्; चुप लागेर बस्‍नुहोस्, र म बोल्नेछु।

[32] यदि तपाईंलाई केही भन्‍न मन लागेको छ भने मलाई भन्‍नुहोस्; बोल्नुहोस्, किनकि म तपाईंलाई निर्दोष साबित गर्नेछु।

[33] तर यदि छैन भने मेरो कुरा सुन्‍नुहोस्; चुप लागेर बस्‍नुहोस्, र म तपाईंलाई बुद्धिका कुरा सिकाउनेछु।”

इयोब — Chapters