[1] तब याहवेह आँधीबेहरीको बीचबाट इयोबसँग बोल्नुभयो। उहाँले भन्नुभयो:
[2] “ज्ञानविनाका शब्दहरूले मेरो योजनालाई धमिल्याउने यो को हो?
[3] अब मर्दझैँ कम्मर कसेर खडा हो; म तँलाई प्रश्न गर्नेछु, अनि तैँले मलाई जवाफ दिनेछस्।
[4] “मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? यदि तैँले बुझेको छस् भने मलाई भन्।
[5] पृथ्वीको नाप कसले गर्यो? निश्चय नै तँलाई थाहा होला! कसले यसको वरिपरि नाप्ने रेखा खिच्यो?
[6] पृथ्वीका खम्बाहरू केमाथि अड्याइएको छ, अथवा कसले त्यसको कुनेढुङ्गा बसाल्यो?
[7] जब बिहानको ताराहरूले एकसाथ गाउँदा र सारा स्वर्गदूतहरू आनन्दले जयजयकार गर्दा तँ कहाँ थिइस्?
[8] “पृथ्वीको गर्भबाट समुद्र फुटिनिस्कँदा, कसले समुद्रको ढोका थुनिदियो?
[9] जब मैले बादललाई पृथ्वीको वस्त्र बनाएँ, र यसलाई बाक्लो अन्धकारले लपेटिदिएँ,
[10] जब मैले यसको सिमाना तोकिदिएँ, र त्यसका ढोकाहरू र आग्लाहरू ठिक ठाउँमा राखिदिएँ,
[11] तब मैले भनेँ, ‘तँ यतिसम्म मात्र आउन सक्छस् र यहाँभन्दा अगि होइन; अनि तेरा घमण्डी छालहरू यहाँ अडिऊन्।’
[12] “के तैँले बिहानलाई कहिल्यै हुकुम गरेको छस्, अथवा प्रभातलाई त्यसको ठाउँ देखाएको छस्,
[13] ताकि यसले पृथ्वीको कुनाहरूमा पक्रोस्, र दुष्टहरूलाई हल्लाएर बाहिर फ्याँकोस्?
[14] चिम्टे माटोमा परेको छापजस्तै पृथ्वीले आकृति लिन्छ; त्यसका विशेषताहरू लुगाझैँ देखिन्छन्।
[15] दुष्ट मानिसहरूको ज्योति खोसिन्छ, र तिनीहरूका उठेका पाखुराहरू भाँचिन्छन्।
[16] “के तैँले कहिल्यै समुद्रका मुहानहरूभित्र यात्रा गरेको छस्? अथवा सागरको गहिराइमा हिँडेको छस्?
[17] के तँलाई मृत्युका ढोकाहरू देखाइएका छन्? के तैँले घोर अन्धकारका ढोकाहरू देखेको छस्?
[18] के तैँले पृथ्वी कति विशाल फैलिएको छ भनी जान्दछस्? यदि तैँले यी सबै कुरा जानेको छस् भने मलाई भन्।
[19] “ज्योतिको निवासको बाटो कहाँ छ? र अन्धकारले कहाँ बास बस्छ?
[20] के तैँले तिनीहरू हरेकलाई तिनीहरूका ठाउँमा लैजान सक्छस्? के तँलाई तिनीहरूका वासस्थानहरूको बाटो थाहा छ?
[21] निश्चय नै तँलाई थाहा छ; किनकि तँ पहिल्यै नै जन्मिसकेको थिइस्! तँ कति धेरै वर्ष बाँचेको छस्!
[22] “के तँ हिउँको भण्डारगृहमा प्रवेश गरेको छस्, अथवा असिनाको भण्डारगृह देखेको छस्;
[23] जो मैले विपत्तिको समयको निम्ति, युद्ध र लडाइँका दिनहरूका निम्ति जम्मा गरेको छु?
[24] कुन बाटो भएर बिजुली छरिएर निस्कन्छ, अथवा कुन ठाउँबाट पूर्वीय बतास पृथ्वीमा चारैतिर फैलिन्छ, के तँ जान्दछस्?
[25] मुसलधारे वृष्टिको निम्ति कसले नहर खनेको छ? र चट्याङको निम्ति कसले बाटो तयार गरेको छ?
[26] कोही मानिस नबस्ने जमिन, कोही बास नगरिएको मरुभूमिलाई भिजाउन,
[27] उजाड मरुभूमिलाई प्रशस्त भिजाउन र त्यसमा हरियो घाँसहरू उमार्न,
[28] के झरीको पिता छ? अथवा शीतका थोपाहरूलाई कसले जन्माएको हो?
[29] कसको गर्भबाट हिउँ निस्कन्छ? आकाशबाट झर्ने तुसारोलाई कसले जन्माउँछ,
[30] पानी कहिले ढुङ्गाजस्तै कडा हुन्छ, र कहिले गहिरो समुद्रको सतह बरफ बन्छ?
[31] “के तैँले किरकिटी ताराहरूलाई एकसाथ बाँध्न सक्छस्? अथवा के तैँले मृगशिराको बन्धनलाई फुकाल्न सक्छस्?
[32] के तैँले तारामण्डललाई तिनीहरूका ऋतुअनुसार ठिकठिक ठाउँमा निकाल्न सक्छस्? अथवा सप्तर्षि तारा र त्यसका उपग्रहहरूलाई डोर्याउन सक्छस्?
[33] के तैँले आकाशका नियमहरू जान्दछस्? के तैँले परमेश्वरको शासन पृथ्वीमा स्थापित गर्न सक्छस्?
[34] “के तैँले आफ्नो सोर बादलसम्मै पुर्याउन सक्छस्, र आफूलाई पानीको भेलले ढाक्न सक्छस्?
[35] के तैँले बिजुली चम्कनलाई त्यसको बाटोमा पठाउँछस्? के तँलाई तिनीहरूले, ‘हामी यहाँ हाजिर छौँ’ भनी भन्न आउँछन्?
[36] कसले हृदयमा अन्तर्ज्ञान र दिमागलाई समझ दियो?
[37] बादलहरूलाई गन्ने बुद्धि कोसँग छ? कसले आकाशका पानीका गाग्राहरूलाई घोप्ट्याउन सक्छ,
[38] कहिले धुलो कडा हुन्छ, र माटोका ढिकाहरू एकसाथ टाँसिएर बस्छन्?
[39] “के तैँले सिंहनीका निम्ति शिकार गरिदिन्छस्, र सिंहको भोकलाई तृप्त पार्न सक्छस्,
[40] जब तिनीहरू आफ्नो गुफामा लुकेर बसेका हुन्छन्, अथवा झाडीमा ढुकेर बसेका हुन्छन्?
[41] जब कागका बचेराहरूले आहाराको अभावको कारण परमेश्वरलाई पुकार्दा, तब कसले कागलाई आहारा जुटाइदिन्छ?