[1] तब इयोबले जवाफ दिए:
[2] “तपाईंले शक्तिहीनहरूलाई कसरी सहायता गर्नुभयो! तपाईंले कमजोर पाखुरालाई कसरी बचाउनुभयो!
[3] बुद्धिहीन मानिसलाई तपाईंले कस्तो सल्लाह दिनुभयो! अनि तपाईंले कस्तो महान् अन्तर्ज्ञान देखाउनुभयो!
[4] तपाईंलाई कसले यी शब्दहरू उच्चारण गर्न सघाए? अनि तपाईंको मुखबाट कसको आत्मा बोल्यो?
[5] “मरेकाहरू र पानीमुनि रहेकाहरू र त्यहाँ बास गर्नेहरू सबै गहिरो वेदनामा छन्।
[6] मृत-लोक परमेश्वरको सामु नाङ्गो छ; र विनाश छर्लङ्गै भएको छ।
[7] परमेश्वरले उत्तरको आकाशलाई रित्तो अन्तरिक्षमा फैलाउनुहुन्छ; उहाँले पृथ्वीलाई शून्यतामा झुण्ड्याउनुहुन्छ।
[8] उहाँले पानीलाई आफ्नो बादलमा बेह्रेर राख्नुहुन्छ; तापनि त्यसको गह्रुँङ्गो भारले गर्दा बादल फुट्दैन।
[9] उहाँले आफ्नो बादल फिँजाएर पूर्णिमाको चन्द्रमाको मुहारलाई ढाक्नुहुन्छ।
[10] उज्यालो र अँध्यारोको बीचको सिमाना तोक्न उहाँले समुद्रको सतहमा क्षितिजलाई चिन्ह बनाउनुभएको छ।
[11] उहाँको हप्कीमा आकाशका खम्बाहरू त्रासले काँप्छन्।
[12] उहाँले आफ्नो शक्तिद्वारा समुद्रलाई मन्थन गर्नुभयो; उहाँले आफ्नो बुद्धिद्वारा राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो।
[13] उहाँको सासद्वारा आकाश स्वच्छ भयो; बेगले भाग्दै गरेको सर्पलाई उहाँको हातले छेड्नुभयो।
[14] यी सबै त उहाँका कामहरूको एक झलक मात्र हुन्; हामी उहाँका कामको कानेखुसी मात्र सुन्छौँ! त्यसो भए उहाँको शक्तिको गर्जन कसले बुझ्न सक्छ र?”