[1] तब एलिहूले भने:
[2] “के तपाईं यो न्यायसङ्गत हो भनी सोच्नुहुन्छ? तपाईं भन्नुहुन्छ, ‘म ठिक छु, तर परमेश्वर ठिक हुनुहुन्न।’
[3] अझ पनि तपाईं उहाँलाई यसरी सोध्नुहुन्छ, ‘मलाई के फाइदा छ र, अनि मैले पाप नगरेर के लाभ भयो र?’
[4] “म तपाईंलाई र तपाईंसँग भएका तीन जना साथीलाई जवाफ दिन चाहन्छु।
[5] आकाशतिर दृष्टि लगाएर हेर्नुहोस्; तपाईंभन्दा धेरै माथि भएका बादललाई नियालेर हेर्नुहोस्।
[6] यदि तपाईंले पाप गर्नुभयो भने त्यसले उहाँलाई कसरी असर गर्छ र? यदि तपाईंका पापहरू धेरै भए तापनि त्यसले उहाँलाई के गर्छ र?
[7] यदि तपाईं धर्मी हुनुहुन्छ भने तापनि तपाईंले उहाँलाई के दिनुहुन्छ, अथवा उहाँले तपाईंका हातबाट के पाउनुहुन्छ र?
[8] तपाईंको दुष्टताले तपाईंजस्तै मानिसलाई मात्र असर पार्छ, र तपाईंका धार्मिकताले अरू मानिसहरूलाई मात्र प्रभाव पार्छ।
[9] “मानिसहरू अत्याचारको बोझमा परेर कराउँछन्; तिनीहरू शक्तिशालीहरूको पाखुराबाट छुटकाराको निम्ति बिन्ती गर्छन्।
[10] तर कसैले पनि यसो भन्दैन, ‘मलाई बनाउनुहुने परमेश्वर कहाँ हुनुहुन्छ; जसले अन्धकारमा गीतहरू दिनुहुन्छ,
[11] जसले हामीलाई पृथ्वीका पशुहरूलाई भन्दा बढी सिकाउनुहुन्छ, र हामीलाई आकाशका पक्षीहरूलाई भन्दा बुद्धिमान् तुल्याउनुहुन्छ?’
[12] दुष्ट मानिसहरूको घमण्डको कारण उनीहरूले पुकार गर्दा उहाँले जवाफ दिनुहुन्न।
[13] वास्तवमा परमेश्वरले तिनीहरूको खोक्रो बिन्ती सुन्नुहुन्न; सर्वशक्तिमान्ले त्यसलाई ध्यानै दिनुहुन्न।
[14] त्यसो भए, जब तपाईंले उहाँलाई देख्दिनँ भन्नुहुन्छ, उहाँले झन् कति थोरै सुन्नुहोला; जबकि तपाईंको मुद्दा उहाँको सामु छ; र तपाईंले उहाँलाई पर्खनैपर्छ,
[15] अनि अझ बढी, जब तपाईंले भन्नुहुन्छ कि उहाँको रिसले कहिल्यै दण्ड दिँदैन, र उहाँले दुष्टतामा पटक्कै ध्यान दिनुहुन्न।
[16] यसकारण इयोबले खोक्रो कुराहरू लिएर आफ्नो मुख खोल्नुहुन्छ; ज्ञानविना उहाँले धेरै शब्द बोल्नुहुन्छ।”