[1] तब एलीपज तेमानीले जवाफ दिए:
[2] “के कुनै मानिस परमेश्वरको निम्ति लाभदायक हुन सक्छ र? के कुनै बुद्धिमानी मानिसले पनि उहाँलाई लाभ दिन सक्छ र?
[3] यदि तपाईं धर्मी व्यक्ति हुनुभएको भए तापनि सर्वशक्तिमान्लाई यसले के आनन्द दिन्छ र? तपाईंका मार्गहरू निर्दोष भएका भए तापनि त्यसले उहाँलाई के लाभ हुन्छ र?
[4] “के तपाईंको भक्तिको कारण उहाँले तपाईंलाई हप्काउनुहुन्छ, र तपाईंको विरुद्धमा आरोप लगाउनुहुन्छ?
[5] के तपाईंको दुष्टता ठूलो छैन र? के तपाईंका पापहरू नटुङ्गिने छैनन् र?
[6] तपाईंले कारणविना आफ्ना दाजुभाइहरूबाट सुरक्षाको माग गर्नुहुन्छ; तपाईंले मानिसहरूलाई निर्वस्त्र पारेर तिनीहरूलाई नाङ्गो बनाइदिनुभएको छ।
[7] तपाईंले थाकेकाहरूलाई पिउनलाई पानी दिनुभएन, र तपाईंले भोकाएकाहरूको भोजन रोकिदिनुभयो;
[8] यद्यपि तपाईं जमिन भएको एक शक्तिशाली र त्यसैमा बस्ने एक सम्मानित मानिस हुनुहुन्थ्यो।
[9] तपाईंले विधवाहरूलाई रित्तै हात पठाउनुभयो, र अनाथहरूका बललाई तोड्नुभयो।
[10] त्यसैकारण तपाईंका चारैतिर पासोहरू छन्, र अचानक खतराले तपाईंलाई तर्साउँछ,
[11] त्यसैले यति धेरै अँध्यारो छ कि तपाईंले देख्न सक्नुहुन्न; र बाढीको पानीले तपाईंलाई डुबाएको छ।
[12] “के परमेश्वर स्वर्गका सर्वोच्चमा हुनुहुन्न र? हेर्नुहोस् ताराहरू कति उचाइमा छन्!
[13] तापनि तपाईं भन्नुहुन्छ, ‘परमेश्वरले के जान्नुहुन्छ र? के उहाँले यस्तो अन्धकारबाट न्याय गर्नुहुन्छ र?
[14] जब उहाँ आकाशमण्डलहरूमा यताउति हिँड्डुल गर्नुहुन्छ, उहाँलाई बाक्लो बादलले छोपेको हुनाले हामीलाई देख्नुहुन्न।’
[15] के तपाईं दुष्ट मानिसहरू हिँडेको त्यस पुरानो मार्गमा हिँडिरहनुहुन्छ?
[16] तिनीहरूको समयभन्दा अगि नै तिनीहरूलाई लगिए; तिनीहरूका जगहरू बाढीद्वारा बगाइए।
[17] तिनीहरूले परमेश्वरलाई भने, ‘हामीलाई एकलै छाडिदिनुहोस्! हामीलाई सर्वशक्तिमान्ले के गर्न सक्नुहुन्छ र?’
[18] तरै पनि उहाँले तिनीहरूका घरहरू उत्तम कुराहरूले भरिदिनुभयो; यसकारण म दुष्ट मानिसहरूका योजनाहरूबाट अलग रहन्छु।
[19] धर्मीहरूले तिनीहरूको बरबादी देख्छन् र रमाउँछन्; निर्दोषहरूले तिनीहरूलाई यसो भन्दै गिल्ला गर्दछन्,
[20] ‘निश्चय हाम्रा बैरीहरू नष्ट भएका छन्, र आगोले तिनीहरूको सम्पत्ति भस्म पार्छ।’
[21] “परमेश्वरमा समर्पित हुनुहोस्, र उहाँसँग मिलाप गर्नुहोस्; यसरी सम्पन्नता तपाईंकहाँ फर्केर आउनेछ।
[22] उहाँको मुखको निर्देशन स्वीकार गर्नुहोस्, र उहाँका वचनहरू तपाईंको हृदयमा साँच्नुहोस्।
[23] यदि तपाईं सर्वशक्तिमान्कहाँ फर्कनुभयो भने, उहाँले तपाईंलाई फेरि पुनर्निर्माण गर्नुहुनेछ। यदि तपाईंले पालबाट दुष्टता टाढा हटाउनुभयो भने,
[24] र तपाईंको सुनहरू धुलोमा, तपाईंका ओपीरका सुन चट्टानहरूका खोल्साहरूमा फालिदिनुभयो भने,
[25] तब सर्वशक्तिमान् नै तपाईंका निम्ति सुन र अति उत्कृष्ट चाँदी हुनुहुनेछ।
[26] तब निश्चय नै तपाईंले सर्वशक्तिमान्मा खुशी पाउनुहुनेछ, र तपाईंको मुहार परमेश्वरतिर उठाउनुहुनेछ।
[27] तपाईंले परमेश्वरसँग प्रार्थना गर्नुहुनेछ, र उहाँले तपाईंलाई सुन्नुहुनेछ, अनि तपाईंले आफ्ना भाकलहरू पूरा गर्नुहुनेछ।
[28] तपाईंले निर्णय गर्नुभएका कुराहरू पूरा हुनेछन्, र तपाईंका मार्गहरूमा ज्योति चम्कनेछन्।
[29] जब मानिसहरूलाई होच्याइनेछ, र तपाईंले ‘तिनीहरूलाई उचाल्नुहोस्!’ भनी भन्नुहुनेछ, तब उहाँले हताश भएकाहरूलाई बचाउनुहुनेछ।
[30] उहाँले पापीहरूलाई समेत छुटाउनुहुनेछ, तपाईंका निर्दोष हातद्वारा तिनीहरूलाई छुटाइनेछ।”