Skip to content
Opens in a new window
Listen to this chapter • 4:26

[1] यसरी ती तीन जना मानिसहरूले इयोबलाई जवाफ दिन छोडे; किनकि तिनी आफ्नै दृष्‍टिमा धर्मी थिए।

[2] तर रामका परिवारका बूजी बारकेलका छोरा एलिहू इयोबसँग धेरै रिसाए; किनकि तिनले परमेश्‍वरलाई भन्दा आफूलाई धर्मी ठहराइरहेका थिए।

[3] तिनी तिनका तीन जना मित्रहरूसँग पनि रिसाए; किनकि तिनीहरूले इयोबलाई खण्डन गर्ने कुनै कुरा पाएका थिएनन्, र पनि तिनलाई दोषी नै ठहराइरहेका थिए।

[4] तब इयोब बोलुन्जेल एलिहूले पर्खेर बसे; किनकि तिनीहरू उनीभन्दा बढी उमेरका थिए।

[5] तर ती तीन जना मानिससँग इयोबलाई जवाफ दिन कुनै कुरा नभएको देखेर एलिहूलाई धेरै रिस उठेको थियो।

[6] यसकारण बूजी बारकेलका छोरा एलिहूले भने: “म उमेरमा तपाईंहरूभन्दा कान्छो छु, तर तपाईंहरू मभन्दा पाको हुनुहुन्छ; त्यसैकारण म डराएको थिएँ, अनि मैले जानेका कुराहरू तपाईंहरूलाई भन्‍न आँट गरेको थिइनँ।

[7] ‘पाका उमेरकाहरूले बोल्नुपर्छ, र उमेरमा पाको हुनेहरूले बुद्धिका कुराहरू सिकाउनुपर्छ’ भनी मैले सोचेको थिएँ।

[8] तर यो त मानिसमा हुनुहुने आत्माले; सर्वशक्तिमान्‌को सासले पो तिनीहरूलाई समझशक्ति दिनुहुँदोरहेछ।

[9] ठूला मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्, न त बुढापाका हुँदैमा सबै ठिक छ भनी बुझेका हुन्छन्।

[10] “यसैकारण म भन्दछु: मेरो कुरा सुन्‍नुहोस्; म पनि जे जान्दछु, तपाईंहरूलाई त्यही कुराहरू भन्‍नेछु।

[11] तपाईंहरू बोल्नुहुँदा मैले पर्खेँ, तपाईंहरूले के बोलौँ भनेर शब्दहरू खोज्नुभएको बेला, तपाईंहरूका तर्कहरू मैले ध्यान दिएर सुनिरहेँ।

[12] मैले तपाईंहरूलाई पूरा ध्यान दिएँ। तर तपाईंहरूमध्ये कसैले पनि इयोबको गल्ती प्रमाणित गर्नुभएन; तपाईंहरू कसैले पनि तिनका तर्कहरूको जवाफ दिनुभएन।

[13] तपाईंहरूले यसरी नभन्‍नुहोस्, ‘हामीले बुद्धि भेट्टाएका छौँ; मानिसले होइन, तर परमेश्‍वरले तिनको खण्डन गरून्।’

[14] तर इयोबका तर्कहरू मेरो विरुद्धमा थिएनन्; अनि म तिनलाई तपाईंहरूका तर्कहरूले जवाफ दिनेछैनँ।

[15] “तिनीहरू हैरान भए; र तिनीहरू अक्‍क न बक्‍क भए; तिनीहरूसँग बोल्नलाई शब्दहरू नै थिएन।

[16] अहिले तिनीहरू जवाफरहित भएर उभिएका छन्; अनि तिनीहरू बोलेनन् भनेर के म पर्खिबसूँ त?

[17] मसँग पनि मैले भन्‍नुपर्ने कुराहरू छन्; म पनि आफ्नो बिचार राख्नेछु;

[18] किनकि मसँग प्रशस्त शब्दहरू छन्, र मभित्र भएको आत्माले मलाई बाध्य बनाउँछ।

[19] म भित्रभित्रै उकुसमुकुस भएर बिर्को लगाइएको मद्यको बोतलजस्तै भएको छु; फुट्न लागेको नयाँ मद्यको मशकजस्तै भएको छु।

[20] मैले बोल्नैपर्छ; र मन हल्का पार्नैपर्छ; मैले आफ्नो मुख खोल्नैपर्छ र जवाफ दिनैपर्छ।

[21] म पक्षपात गर्नेछैनँ, न त कुनै मानिससँग चापलुसी नै गर्नेछु;

[22] किनकि यदि म चापलुसी गर्न सिपालु भएको भए, मलाई मेरा सृष्‍टिकर्ताले चाँडै नाश गर्नुहुनेथियो।

इयोब — Chapters