Skip to content
Opens in a new window
Listen to this chapter • 3:41

[1] त्यसपछि सोपर नमातीले यस्तो जवाफ दिए:

[2] “के यी सबै कुराहरूका जवाफ छैन र? के धेरै बोल्ने मानिस निर्दोष प्रमाणित हुन सक्छ र?

[3] के तपाईंका व्यर्थका कुराहरूले अरूलाई चुप गराउँछ र? के तपाईंले गिल्‍ला गर्दा कसैले तपाईंलाई नहप्काउनु र?

[4] तपाईंले परमेश्‍वरलाई भन्‍नुहुन्छ, ‘मेरो शिक्षा दोषरहित छ, र तपाईंको दृष्‍टिमा म शुद्ध छु।’

[5] अहो, यदि परमेश्‍वर बोल्नुहुने भए, उहाँले आफ्ना ओठ तपाईंको विरुद्धमा खोल्नुहुन्थ्यो,

[6] अनि तपाईंलाई बुद्धिका रहस्यहरू खोलिदिनुहुन्थ्यो; किनकि साँचो बुद्धिका दुई पक्ष हुन्छन्। यो कुरा बुझिराख्नुहोस्; परमेश्‍वरले तपाईंका केही पापहरू बिर्सिसक्नुभएको छ।

[7] “के तपाईंले परमेश्‍वरका रहस्यहरू बुझ्न सक्नुहुन्छ? के तपाईंले सर्वशक्तिमान्‌को सीमाको जाँच गर्न सक्नुहुन्छ?

[8] ती स्वर्गभन्दा उच्‍च छन्; तपाईंले के गर्न सक्नुहुन्छ र? ती पातालभन्दा गहिरा छन्; तपाईंले के पो जान्‍न सक्नुहुन्छ र?

[9] तिनीहरूका नाप पृथ्वीभन्दा लामा र समुद्रभन्दा फराकिला छन्।

[10] “यदि उहाँले तपाईंलाई पक्रेर कैदमा राख्नुभयो भने, र अदालतमा मुद्दाको लागि बोलाउनुभयो भने कसले उहाँको विरोध गर्न सक्छ र?

[11] निश्‍चय नै उहाँले छली मानिसहरूलाई चिन्‍नुहुन्छ; र उहाँले दुष्‍टता देख्नुहुँदा, के उहाँले ख्यालै गर्नुहुन्‍न र?

[12] जसरी जङ्गली गधाले मानिस जन्माउन सक्दैन, त्यसरी नै मूर्ख मानिस कहिल्यै बुद्धिमान् हुन सक्दैन।

[13] “तरै पनि यदि तपाईंको हृदय उहाँलाई समर्पित गर्नुभयो भने, र तपाईंका हातहरू उहाँतिर पसार्नुभयो भने,

[14] यदि तपाईंका हातका अधर्मलाई त्यागिदिनुभयो, र तपाईंको पालमा दुष्‍टतालाई कुनै ठाउँ दिनुभएन भने,

[15] तब तपाईंले निःसंकोच आफ्नो अनुहार उठाउनुहुनेछ; तपाईं दह्रिलो भई खडा हुनुहुनेछ, र डराउनुहुने छैन।

[16] निश्‍चय नै तपाईंले आफ्नो दुःखलाई बगेर गएको पानीजस्तो ठानी बिसर्नुहुनेछ।

[17] तपाईंको जीवन मध्यदिनको उज्यालोभन्दा चम्किलो हुनेछ; र अन्धकारचाहिँ बिहानजस्तै हुनेछ।

[18] अनि आशा भएको कारण सुरक्षित हुनुहुनेछ; हो, तपाईं ढुक्‍क हुनुहुनेछ र सुरक्षासाथ निदाउनुहुनेछ।

[19] तपाईं आनन्दसाथ ढल्किनुहुनेछ, कसैले तपाईंलाई भयभीत पार्नेछैन; र धेरैले तपाईंको निगाह चाहनेछन्।

[20] तर दुष्‍टहरूका आँखा कमजोर हुनेछन्; र तिनीहरूले उम्कने बाटो पाउनेछैनन्; अन्तिम सास लिनु नै तिनीहरूको आशा हुनेछ।”

इयोब — Chapters