Skip to content
Opens in a new window
Listen to this chapter • 3:49

[1] तब एलीपज तेमानीले इयोबलाई जवाफ दिए:

[2] “यदि कसैले तपाईंसँग कुरा गर्न खोज्दा के तपाईं झर्को मान्‍नुहुनेछ? तर कोचाहिँ केही नबोली बस्‍न सक्ला र?

[3] हेर्नुहोस्, तपाईंले धेरैलाई शिक्षा दिनुभएको छ; तपाईंले लुला हातहरूलाई बलियो पार्नुभएको छ।

[4] ठक्‍कर खानेहरूलाई तपाईंका वचनहरूले सम्हाल्नुभएको छ; निर्बल घुँडाहरूलाई तपाईंले बलियो पार्नुभएको छ।

[5] तर अहिले तपाईंलाई सङ्कष्‍ट आइपरेको छ, र तपाईं निरुत्साहित हुनुभएको छ; यसले तपाईंलाई प्रहार गरेको छ, त्यसैले तपाईं भयभीत हुनुभएको छ।

[6] के तपाईंको भक्तिभाव नै तपाईंको निम्ति आत्मविश्‍वास र तपाईंको निर्दोष जीवन नै तपाईंको निम्ति आशा हुनुपर्ने होइन र?

[7] “अब विचार गर्नुहोस्: कुनै निर्दोष मानिस, कहिल्यै नाश भएको छ? धर्मी मानिसलाई कहाँ नष्‍ट पारिएको छ र?

[8] दुष्‍टता जोत्ने र सङ्कट छर्नेहरूले त्यही अनुसारको कटनी गरेको मैले देखेको छु।

[9] परमेश्‍वरको सासद्वारा तिनीहरू नष्‍ट हुन्छन्; उहाँको क्रोधको रापमा तिनीहरू भस्म हुन्छन्।

[10] सिंहहरू जति नै गर्जून् र ङ्वार्र-ङुर्र गरून्, तर पनि ठूला सिंहहरूका दाँतहरू भाँचिन्छन्।

[11] शिकारको अभावले गर्दा सिंहहरू मर्छन्, र सिंहनीका डमरुहरू तितरबितर हुन्छन्।

[12] “गोप्य रूपमा एउटा खबर मकहाँ ल्याइयो, मेरो कानले त्यसको कानेखुसी सुन्यो।

[13] रातका तर्साउने सपनाहरू बीच मानिसहरू गहिरो निद्रामा परेका बेला,

[14] मलाई डर र कम्पले छोप्यो, जसले गर्दा मेरा सबै हड्डी समेत काँपे।

[15] एउटा आत्माले मेरो अनुहार छोएर गयो; अनि मेरो शरीरभरि रौँ ठाडो भयो।

[16] त्यो टक्‍क अडियो; तर त्यो के हो भनी मैले ठम्याउनै सकिनँ। एउटा आकृति मेरो आँखाको सामु उभियो। एकछिन चकमन्‍न भयो र मैले एउटा मधुर सोर सुनेँ,

[17] ‘के मरणशील मानिस परमेश्‍वरभन्दा धर्मी हुन सक्छ? के कुनै बलियो मानिस पनि उसको सृष्‍टिकर्ताभन्दा पवित्र हुन सक्छ?

[18] यदि परमेश्‍वरले आफ्नै सेवकहरूमाथि भरोसा गर्नुभएन भने, आफ्नै दूतहरूलाई गल्ती गर्दा दोष लगाउनुभयो भने,

[19] झन् ती माटोका घरमा बस्‍नेहरूलाई कति बढ्ता गर्नुहोला, जसको जग नै धुलोमा हुन्छ, जसलाई पुतलीलाई भन्दा सजिलैसँग कुल्चीमिल्ची पार्न सकिन्छ!

[20] तिनीहरू बिहान र बेलुकीको समयमा टुक्रा-टुक्रा पारिन्छन्; कसैले थाहा नपाई तिनीहरू सदाको लागि नाश हुन्छन्।

[21] तिनीहरूका पालका डोरीहरू तानियो भने, तिनीहरू बुद्धि नपाई मर्दैनन् र?’

इयोब — Chapters