Skip to content
Opens in a new window
Listen to this chapter • 4:14

[1] तब इयोबले जवाफ दिए:

[2] “मैले यस्ता धेरै कुराहरू सुनेको छु; तपाईंहरू सबै दुःखको सान्त्वना दिनेहरू हुनुहुन्छ!

[3] तपाईंहरूको वाहियात भाषणहरूको अन्त्य कहिल्यै हुँदैन? के कुराले गर्दा तपाईंहरू बहस गरिरहनुहुन्छ?

[4] यदि तपाईंहरू मेरो ठाउँमा हुनुभएको भए, म पनि तपाईंहरूजस्तै बोल्न सक्नेथिएँ, म तपाईंहरूको विरुद्धमा असल भाषण दिन सक्नेथिएँ; र तपाईंहरूको विरुद्धमा आफ्नो टाउको हल्‍लाउँदै हाँसो उडाउने थिएँ।

[5] तर मेरो मुखले तपाईंहरूलाई हौसला दिन्थ्यो; मेरा ओठको सान्त्वनाले तपाईंहरूलाई आराम दिने थियो।

[6] “मैले बोले तापनि मेरो दुःख कम हुँदैन; र म नबोल्दा पनि मेरो पीडा घट्दैन।

[7] साँच्‍चै नै परमेश्‍वर, तपाईंले मलाई थकित पार्नुभएको छ; तपाईंले मेरो पूरै परिवारलाई उजाड पार्नुभएको छ।

[8] तपाईंले मलाई हाड र छाला मात्र बनाउनुभएको छ, र यो मेरो विरुद्ध एउटा साक्षी भएको छ; म दुब्लो र पातलो भएको कारणले यसले मेरो विरुद्ध साक्षी दिन्छ।

[9] परमेश्‍वरले आफ्नो क्रोधमा मलाई छिन्‍नभिन्‍न पार्नुहुन्छ र घृणा गर्नुहुन्छ; र उहाँले मेरो विरुद्धमा दाह्रा किट्नुहुन्छ; मेरो शत्रुले मलाई आँखा तरेर हेर्छ।

[10] मानिसहरूले मलाई जिस्काउन आफ्ना मुख खोल्छन्; तिनीहरूले मलाई खिसी गर्दै मेरो गालामा हिर्काउँछन्, र मेरो विरुद्धमा एकमत हुन्छन्।

[11] परमेश्‍वरले मलाई अधर्मीहरूका हातमा सुम्पिदिनुभएको छ, र मलाई दुष्‍टहरूका पासोमा फ्याँकिदिनुभएको छ।

[12] सबै कुरा मसँग ठिकठाक थियो, तर उहाँले मलाई चकनाचुर पार्नुभएको छ; उहाँले मलाई गर्दनमा पक्रनुभयो र चुर-चुर पार्नुभयो। उहाँले मलाई आफ्नो निशाना बनाउनुभएको छ;

[13] उहाँका धनुर्धारीहरूले मलाई चारैतिरबाट घेरेका छन्। उहाँले दया नदेखाई मेरा मिर्गौलाहरू छेड्नुहुन्छ, र मेरो पित्त भुइँमा पोखाउनुहुन्छ।

[14] उहाँ पटक-पटक ममाथि आइलाग्नुहुन्छ; उहाँ एक योद्धाझैँ मलाई झम्टिनुहुन्छ।

[15] “मैले मेरो छालामाथि भाङ्ग्रा सिलाएको छु, र मैले मेरो सम्मान धुलोमा गाडेको छु।

[16] रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ, मेरो आँखाको वरिपरि कालो छायाले घेरेको छ;

[17] तापनि मेरा हातहरूले हिंसा गरेका छैनन्, र मेरो प्रार्थना शुद्ध छ।

[18] “हे पृथ्वी, मेरो रगतलाई नछोप्; मेरो रोदनले कहिल्यै विश्राम नपाओस्!

[19] अहिले पनि मेरो साक्षी स्वर्गमा हुनुहुन्छ; मेरो अधिवक्ता उच्‍चमा हुनुहुन्छ।

[20] मेरा आँखाले परमेश्‍वरको सामु धरधरी आँसु झार्दा मेरो मध्यस्थ मेरा मित्र हुन्छन्;

[21] एक व्यक्तिले मित्रको पक्षमा बिन्ती गरेझैँ, उसले मानिसको पक्षबाट परमेश्‍वरसँग बिन्ती गर्दछ।

[22] “थोरै वर्ष बितेर गइसकेपछि, म त्यो बाटो जानेछु, जहाँबाट म फेरि फर्कनेछैनँ।

इयोब — Chapters