[1] याहवेहले इयोबलाई भन्नुभयो:
[2] “के सर्वशक्तिमान्सँग तर्क गर्नेले उहाँलाई सुधार गर्न सक्छ? परमेश्वरलाई दोष लगाउनेले नै उहाँलाई जवाफ देओस्!”
[3] तब इयोबले याहवेहलाई जवाफ दिए:
[4] “म अयोग्य छु, म तपाईंलाई कसरी जवाफ दिन सक्छु? म मेरो हातले आफ्नो मुख छोप्दछु।
[5] म एक पटकको लागि बोलिहालेँ, तर मसँग कुनै जवाफ छैनँ, दुई पटक म बोलेँ, तर अब म केही भन्नेछैनँ।”
[6] तब याहवेह आँधीबेहरीको बीचबाट इयोबसँग बोल्नुभयो:
[7] “अब मर्दझैँ कम्मर कसेर खडा हो; म तँलाई प्रश्न गर्नेछु, अनि तैँले मलाई जवाफ दिनेछस्।
[8] “के तैँले मेरो न्यायलाई गलत ठहराउँछस्? के तैँले आफूलाई सही ठहराउनलाई मलाई दोषी ठहराउँछस्?”
[9] के तेरो पाखुरा परमेश्वरको जस्तो छ? के तेरो सोर उहाँको जस्तै गर्जन सक्छ?
[10] त्यसो भए आफूलाई महिमा र गौरवले आभूषित गर्! अनि आफूलाई आदर र सम्मानको वस्त्रले ढाक्।
[11] तेरो रिसको आगो पोखिदे; घमण्डीहरूलाई हेर्, र तिनीहरूलाई विनम्र पारिदे,
[12] हरेक घमण्डीलाई हेर्, र तिनीहरूलाई होच्च्याइदे, दुष्टलाई तिनीहरू उभिएकै ठाउँमा कुल्चिदे।
[13] तिनीहरूलाई एकसाथ धुलोमा गाडिदे; चिहानमा तिनीहरूका अनुहार कात्रोले छोपिदे।
[14] तब तेरो आफ्नै दाहिने हातले तँलाई रक्षा गर्न सक्छ भनी म आफैँले तँसँग स्वीकार गर्नेछु।
[15] “तँसँगै मैले बनाएको जलगैँडालाई हेर, जसले गोरुले जस्तै घाँस खान्छ।
[16] त्यसको कम्मरमा कति बल छ, त्यसको पेटका मांसपेशीहरूमा कति शक्ति छ!
[17] त्यसको पुच्छर देवदारुजस्तै बलियो हुन्छ; त्यसका तिघ्राका नशाहरू खूब कसिएर बुनिएका छन्।
[18] त्यसका हड्डीहरू काँसोका नलीहरू जस्तै बलिया छन्; त्यसका हातखुट्टाहरू फलामका छडी जस्तै छन्।
[19] त्यो परमेश्वरका कामहरूमध्ये पहिलो दर्जामा आउँछ; तापनि त्यसलाई बनाउनुहुनेले आफ्नो तरवारले त्यसलाई भेट्न सक्नुहुन्छ।
[20] डाँडाहरूले तिनीहरूका उब्जनी ल्याउँछन्, र सबै जङ्गली जनावरहरू त्यसको छेउछाउतिरै खेल्छन्।
[21] कमलको बोटमुनि त्यो ढल्कन्छ, सिमसारका निगालोहरूका आडमा लुक्छ।
[22] कमलका फूलहरूले त्यसलाई आफ्ना छायामुनि लुकाउँछन्; खोलाको किनारका लहरे पीपलले त्यसलाई घेरेर राख्छन्।
[23] वेगसँग उर्लेर आएको नदीलाई देखेर त्यो डराउँदैन; यर्दन नदीको भेल त्यसको विरुद्ध मुखैमा उर्लेर आए तापनि त्यो सुरक्षित रहन्छ।
[24] के त्यसको आँखा खुल्ला हुँदा कसैले त्यसलाई पक्रन सक्छ? वा त्यसलाई पासोमा पारेर त्यसको नाक छेड्न सक्छ?