Skip to content
Opens in a new window
Listen to this chapter • 6:16

[1] ऊज देशमा इयोब नाम गरेका एक जना मानिस थिए। तिनी निर्दोष र धर्मी मानिस थिए; तिनी परमेश्‍वरको डर मान्थे र दुष्‍टताबाट टाढै बस्थे।

[2] तिनका सात छोरा र तीन छोरी थिए।

[3] तिनका सात हजार भेडा, तीन हजार ऊँट, पाँच सय हल गोरु, पाँच सय गधैनी थिए; अनि धेरै नोकरचाकर पनि थिए। तिनी पूर्वका सबै मानिसहरूभन्दा महान् थिए।

[4] तिनका छोराहरूले आ-आफ्नो घरमा पालैपालो भोजको आयोजना गर्दथे। तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई आफूसँग खानपिन गर्नलाई बोलाउँथे।

[5] जब भोजको कार्यक्रम सकिन्थ्यो, तब इयोबले आफ्ना सन्तानहरूलाई बोलाउँथे, र तिनीहरूलाई शुद्ध पार्ने गर्दथे। तिनी बिहान सबेरै उठेर तिनीहरू हरेकका निम्ति होमबलिहरू चढाउँथे; किनकि तिनले यो सोच्थे, “सायद मेरा छोराछोरीहरूले पाप गरे होलान् अथवा कतै तिनीहरूले आफ्ना हृदयमा परमेश्‍वरलाई सरापे पो होलान् कि।” यसो भनेर इयोबले सधैँ यस्तै गर्नेगर्थे।

[6] एक दिन परमेश्‍वरका दूतहरूले आफूलाई याहवेहको सामु उपस्थित गराए, र शैतान पनि तिनीहरूसँगसँगै आयो।

[7] याहवेहले त्यसलाई सोध्नुभयो, “तँ कहाँबाट आइस्?” शैतानले याहवेहलाई जवाफ दियो, “पृथ्वीको चारैतिर ओहोर-दोहोर गर्दै घुमफिर गर्दैआएको हुँ।”

[8] तब याहवेहले शैतानलाई सोध्नुभयो, “के तैँले मेरो सेवक इयोबलाई विचार गरिस्? पृथ्वीमा ऊजस्तो अरू कोही पनि छैन; निर्दोष र धर्मी मानिस, परमेश्‍वरको डर मान्‍ने र दुष्‍टतादेखि टाढा रहने अरू मानिस छँदैछैन।”

[9] शैतानले याहवेहलाई जवाफ दिएर भन्यो, “के इयोबले कुनै कारणविना नै परमेश्‍वरको डर राखेको हो र?

[10] के तपाईंले उसलाई, उसको परिवारलाई र ऊसँग भएका सबै थोकलाई चारैतिरबाट घेरा लगाएर रक्षा गर्नुभएको छैन र? तपाईंले उसका हातका कामहरूमा आशिष् दिनुभएको छ, त्यसैकारण उसका बगाल र बथानहरू देशभरि फैलिएका छन्।

[11] तर अब तपाईंले आफ्नो हात पसारेर ऊसँग भएका सबै थोकलाई प्रहार गरेर त हेर्नुहोस्, तब उसले तपाईंको मुखकै सामु तपाईंलाई सराप्नेछ।”

[12] याहवेहले शैतानलाई भन्‍नुभयो, “ठिक छ, ऊसँग भएका सबै थोक तेरै हातमा छन्, तर त्यस मानिसमाथि चाहिँ औँलाले समेत छुन पाउँदैनस्।” तब शैतान याहवेहको उपस्थितिबाट गइहाल्यो।

[13] एक दिन जब इयोबका छोराछोरीहरू तिनीहरूका जेठा दाजुको घरमा भोज खाइरहेका र दाखमद्य पिइरहेका थिए; तब

[14] एउटा दूत इयोबकहाँ आएर भन्यो, “नजिकै गोरुहरूलाई जोतिरहेका र गधाहरू चरिरहेका थिए,

[15] तब शेबाका मानिसहरूले हमला गरे; र तिनीहरू सबैलाई लिएर गए। तिनीहरूले नोकरचाकरहरूलाई तरवारले मारे। म मात्र उम्केँ, र तपाईंलाई यो खबर बताउन आएको हुँ!”

[16] त्यो बोल्दाबोल्दै अर्को दूत पनि आयो र भन्यो, “आकाशबाट परमेश्‍वरको आगो बर्सियो, र त्यसले भेडाहरू र नोकरचाकरहरूलाई भस्म पार्‍यो। म मात्र उम्केँ, र तपाईंलाई यो खबर बताउन आएको हुँ!”

[17] त्यो बोल्दाबोल्दै अर्को दूत पनि आइपुग्यो र भन्यो, “कल्दीका तीन दल छापामारहरू आए, र तपाईंका ऊँटहरूलाई लिएर गए। तिनीहरूले नोकरचाकरहरूलाई पनि तरवारले मारे। म मात्र उम्केँ, र तपाईंलाई यो खबर बताउन आएको हुँ!”

[18] त्यो मानिस बोल्दाबोल्दै फेरि अर्को दूत पनि आइपुगेर भन्यो, “जब तपाईंका छोराछोरीहरू तिनीहरूका जेठा दाजुको घरमा भोजन खाइरहेका र दाखमद्य पिइरहेका थिए;

[19] तब अचानक मरुभूमिबाट एउटा ठूलो आँधीबेहरी आयो, र घरका चारै कुनामा बजारियो र त्यो घर तिनीहरूमाथि ढल्यो, र तिनीहरू मरे। म मात्र उम्केँ, र तपाईंलाई यो खबर बताउन आएको हुँ!”

[20] तब इयोब उठे, र आफ्नो लबेदा च्याते, र आफ्नो केश खौरे। त्यसपछि तिनी भुइँमा दण्डवत् गर्न घोप्टो परे,

[21] अनि तिनले भने: “म मेरी आमाको गर्भबाट नाङ्गै आएँ, र नाङ्गै फर्केर जानेछु। याहवेहले नै मलाई सबै थोक दिनुभयो, र याहवेहले नै सबै थोक लैजानुभयो; याहवेहको नामको प्रशंसा होस्।”

[22] यी सबै कुरामा इयोबले पाप गरेनन्, न त परमेश्‍वरलाई गलत कार्यको दोष नै लगाए।

इयोब — Chapters