[1] तरै पनि त्यो सङ्कष्टमा परेकाहरूका निम्ति निराशा हुनेछैन। बितेका समयमा उहाँले जबूलून र नप्तालीको मुलुकलाई नम्र तुल्याउनुभयो। तर भविष्यमा उहाँले यर्दनतिरको समुद्र छेउको गैरयहूदीहरूको गालीललाई सम्मानित पार्नुहुनेछ—
[2] अन्धकारमा जिउनेहरूले एउटा ठूलो ज्योति देखेका छन्; घोर अन्धकारमा बस्नेहरूमाथि ज्योति उदाएको छ।
[3] तपाईंले जातिलाई फराकिलो पार्नुभएको छ; अनि तिनीहरूका आनन्द बढाइदिनुभएको छ; मानिसहरूले कटनीमा रमाएझैँ लुटको माल बाँड्दा रमाएझैँ, तिनीहरू तपाईंको सामु रमाउनेछन्।
[4] किनकि मिद्यानको पराजयको दिनमा झैँ तपाईंले तिनीहरूलाई भार भएको जुवा, र तिनीहरूका काँधमा परेको बोझ, साथै तिनीहरूलाई सताउनेहरूका लहुरोलाई भाँचिदिनुभएको छ।
[5] प्रत्येक योद्धाले लडाइँमा लगाएको जुत्ता, र रगतमा लतपतिएको हरेक वस्त्र आगोमा भस्म हुनेछ। त्यो आगोको निम्ति इन्धन हुनेछ।
[6] किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ; हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँलाई उदेकको सल्लाहकार, शक्तिशाली परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार भनिनेछ।
[7] उहाँको शासन वृद्धि र शान्तिको अन्त्य हुनेछैन। उहाँले दावीदको सिंहासनमाथि र तिनका राज्यमाथि शासन गर्नुहुनेछ। उहाँले राज्यलाई त्यस समयदेखि अनन्तसम्म न्याय र धार्मिकतासँग स्थापित गर्नुहुनेछ र दृढ पार्नुहुनेछ। सेनाहरूका याहवेहको जोशले यसलाई सम्पन्न गर्नेछ।
[8] प्रभुले याकोबको विरुद्धमा एउटा सन्देश पठाउनुभएको छ; जुन इस्राएलमाथि पर्नेछ।
[9] सबै मानिसहरूले त्यसलाई जान्नेछन्; एफ्राइम र सामरियाका बासिन्दाहरू, जो घमण्ड र अभिमानको हृदयले यसो भन्छन्,
[10] “इँटाहरू लडेका छन्, तर हामी काटेका ढुङ्गाहरूले बनाउनेछौँ; नेभाराका रूखहरू ढालिएका छन्, तर हामी त्यसको सट्टामा देवदारुका रूखहरू लगाउनेछौँ।”
[11] तर याहवेहले तिनीहरूको विरुद्ध रसीनका शत्रुहरूलाई बलियो पार्नुभएको छ; अनि तिनीहरूका शत्रुहरूलाई सुर्याउनुभएको छ।
[12] पूर्वबाट अरामीहरू र पश्चिमबाट पलिश्तीहरूले मुख खोलेर इस्राएललाई खाएका छन्। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै पनि उठिराखेकै छ।
[13] तर उहाँले प्रहार गर्नुभएका मानिसहरू उहाँतिर फर्केका छैनन्, न त तिनीहरूले सेनाहरूका याहवेहलाई खोजेका छन्।
[14] यसकारण याहवेहले इस्राएलबाट शिर र पुच्छर, खजूरको हाँगा र निगालो दुवै एकै दिनमा अलग गरिदिनुहुनेछ।
[15] प्रधानहरू र विशिष्ट व्यक्तिहरू शिर हुन्; अनि झूट सिकाउने अगमवक्ताहरूचाहिँ पुच्छर हुन्।
[16] यस जातिलाई डोर्याउनेहरूले तिनीहरूलाई पथभ्रष्ट पार्छन्, र डोर्याइएकाहरू बरालिएका छन्।
[17] यसकारण प्रभु जवान मानिसहरूसित प्रसन्न हुनुहुनेछैन। न त उहाँले अनाथ र विधवाहरूलाई टिठाउनुहुनेछ। किनकि हरेक मानिस ईश्वरहीन र दुष्ट छ; प्रत्येक मुखले नीच कुरा बोल्छ। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन; उहाँको हात उठिराखेकै छ।
[18] किनकि निश्चय नै दुष्टता आगोझैँ बल्छ; यसले सिउँडी र काँडालाई भस्म पार्नेछ; यसले वनका झाडीहरू आगो लगाइदिनेछ, र त्यो धुवाँको मुस्लोमा बटारिँदै उँभो-उँभो जानेछ।
[19] सेनाहरूका याहवेहको क्रोधद्वारा सबै देश भस्म हुनेछ; अनि मानिसहरू आगोको निम्ति दाउरा हुनेछन्; कसैले पनि आफ्नो दाजुभाइलाई बाँकी राख्नेछैन।
[20] तिनीहरूले आफ्ना दाहिनेतिर खानेछ, र पनि अझ भोकै रहनेछ; देब्रेतिर तिनीहरूले खानेछन्, तर तृप्त हुनेछैनन्। प्रत्येकले आफ्नै सन्तानको मासु खानेछ:
[21] मनश्शेले एफ्राइमलाई खानेछ र एफ्राइमले मनश्शेलाई खानेछ; ती दुवै एकसाथ यहूदाको विरुद्ध जाइलाग्नेछन्। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै उठिराखेकै छ।