[1] “तर अब हे मेरो सेवक याकोब, मैले चुनेको इस्राएल, ध्यानसित सुन्।
[2] तँलाई बनाउनुहुने, तँलाई गर्भमा रच्नुहुने, तँलाई सहायता गर्नुहुने याहवेह यसो भन्नुहुन्छ— हे याकोब, मेरो सेवक, मैले चुनेको यशूरून्, तँ नडरा!
[3] किनकि म तिर्खाएको जमिनमा पानी खन्याउनेछु, र सुक्खा भूमिमा खोलाहरू बहाउनेछु; म मेरो आत्मा तेरा सन्तानहरूमाथि खन्याउनेछु; अनि मेरा आशिष्हरू तेरा वंशमाथि खन्याउनेछु।
[4] तिनीहरू मैदानमा घाँस उम्रेझैँ उम्रनेछन्, बग्ने खोलाको किनारका लहरे पीपलझैँ हुनेछन्।
[5] कसैले भन्नेछ, ‘म याहवेहको हुँ।’ अर्कोले आफूलाई याकोबको नामद्वारा बोलाउनेछ; अझ अर्कोले आफ्नो हातमा, ‘म याहवेहको हुँ’ भनेर लेख्नेछ, र आफ्नो नाम इस्राएल राख्नेछ।
[6] “इस्राएलका महाराजा र उद्धारक, सेनाहरूका याहवेह भन्नुहुन्छ: पहिलो र पछिल्लो म नै हुँ; मबाहेक अरू कुनै परमेश्वर छैन।
[7] मजस्तो को छ र? त्यसले त्यो घोषणा गरोस्। मैले मेरा प्राचीन जातिलाई स्थापित गरेपछि के भयो? त्यसले घोषणा गरोस् र मेरो सामु राखिदेओस्; अनि अब के हुनेछ— हो, त्यसले अब के हुनेछ, सो पहिलेबाटै भनोस्।
[8] थरथर नकाँप र नडराओ। के मैले तिमीहरूलाई धेरै अगि नै यो घोषणा गरेको र बताएको होइन र? तिमीहरू मेरा साक्षी हौ। के मबाहेक अरू परमेश्वर छ र? होइन, अरू चट्टान छैन; म कसैलाई पनि चिन्दिनँ।”
[9] मूर्ति बनाउनेहरू सबै केही पनि होइनन्, र तिनीहरूले मूल्यवान् ठानेका कुराहरू बेकामका हुन्। तिनीहरूका पक्षमा बोल्नेहरू अन्धा छन्; आफ्नै बदनामीको निम्ति तिनीहरू अज्ञात छन्।
[10] आफूलाई केही फाइदा नहुने देवतालाई, कसले आकार दिएर ढलौटे मूर्ति बनाउँछ?
[11] त्यस्तो काम गर्ने सबै लाजमा पर्नेछन्; यस्ता कारिगरहरू मानिसबाहेक केही होइनन्। तिनीहरू सबै आएर आफ्ना अडान लिऊन्; तिनीहरू सबै त्रसित र लज्जित हुनेछन्।
[12] लोहारले एउटा हतियार लिन्छ, र त्यो लिएर उसले कोइलामा काम गर्छ; घनले मूर्तिको आकार निकाल्छ, र आफ्नो हातको शक्तिले त्यसलाई बनाउँछ। उसलाई भोक लाग्छ र त्यसको बल हराउँछ; पानी नपिएकोले ऊ कमजोर हुन्छ।
[13] सिकर्मीले सूत तानेर सिसाकलमले चिन्ह लगाउँछ। उसले रामोले चिल्लो पारेर त्यसको आकार निकाल्छ, र परकालले त्यसमा चिन्ह लगाएर घरमा राख्नलाई मानिसको सबै सुन्दरताको रूपमा त्यसको आकार निकाल्छ।
[14] उसले देवदारुहरू काट्छ, अथवा सिसौ र फलाँटको रूखहरू चुन्छ; उसले त्यसलाई वनका रूखहरूसित बढ्न दिन्छ, अथवा सालको रूख रोप्छ र वर्षाले त्यसलाई बढाउँछ।
[15] त्यो यस मानिसका निम्ति बाल्नलाई दाउरा हुन्छ; त्यसबाट केही लिएर उसले आफूलाई न्यानो पार्छ; उसले आगो सल्काएर रोटी पकाउँछ। तर उसले काठबाट देवता पनि बनाएर त्यसलाई पुज्छ; उसले मूर्ति बनाएर त्यसको सामु निहुरिन्छ।
[16] आधा काठ उसले आगोमा जलाउँछ; त्यसमा उसले आफ्नो भोजन पकाउँछ, त्यसैबाट उसले मासु पोल्छ र अघाउन्जेल खान्छ। उसले आफूलाई न्यानो पारेर भन्छ, “अहो! म न्यानो भएँ, मैले आगो देख्न पाएँ।”
[17] बाँकी भागबाट उसले एउटा देवता बनाउँछ, त्यसको मूर्ति बनाउँछ; ऊ त्यसको सामु घोप्टो परेर त्यसलाई पुज्छ। उसले त्यसलाई प्रार्थनामा भन्छ, “मलाई बचाउनुहोस्, तपाईं मेरा ईश्वर हुनुहुन्छ।”
[18] तिनीहरू केही जान्दैनन्, न त तिनीहरूले केही बुझ्छन्; तिनीहरूका आँखामा पट्टी बाँधिएको छ र तिनीहरू देख्न सक्दैनन्; अनि तिनीहरूका मन बन्द भएका छन् र तिनीहरू बुझ्न सक्दैनन्।
[19] कसैले पनि विचार गर्दैन, “यसको आधा भाग मैले दाउराको रूपमा जलाएँ; यसको कोइलामा मैले रोटी पनि पोलेँ, र मैले मासु पोलेर खाएँ। त्यसको बाँकी भागबाट के म एउटा घृणित कुरा बनाऊँ? के म काठको टुक्राको सामु घोप्टो परूँ?” भन्ने ज्ञान र समझशक्ति कसैसित छैन।
[20] उसले खरानी खान्छ, एउटा ठगिएको हृदयले त्यसलाई पथभ्रष्ट पार्छ; उसले आफूलाई बचाउन सक्दैन, अथवा “के मेरो दाहिने हातमा भएको यो कुरो झूट होइनँ?” भन्न सक्दैन।
[21] “हे याकोब, यी कुराहरू सम्झना गर्; किनकि हे इस्राएल, तँ मेरो सेवक होस्। मैले तँलाई बनाएँ, तँ मेरो सेवक होस्; हे इस्राएल, म तँलाई बिर्सनेछैनँ।
[22] मैले तेरा अपराधहरूलाई बादलझैँ, र तेरा पापहरूलाई बिहानको तुवाँलोझैँ हटाइदिएँ। मकहाँ फर्की; किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु।”
[23] हे आकाश आनन्दले गा; किनकि याहवेहले यसो गर्नुभएको छ; हे पृथ्वीको गहिराइ, चर्को सोरले करा। हे पर्वतहरू हो, उच्च सोरले गा! हे जङ्गल र रूखहरू हो, आनन्दले गा; किनकि याहवेहले याकोबलाई मोल तिरेर छुटाउनुभएको छ, र उहाँले आफ्नो महिमा इस्राएलमा देखाउनुहुन्छ।
[24] “तेरा उद्धारकर्ता, तँलाई गर्भमा रच्नुहुने याहवेह यसो भन्नुहुन्छ: म नै तेरा याहवेह हुँ, जसले सबै कुराहरू बनाउनुभएको छ; जसले आकाशलाई फैलाउनुभयो, र पृथ्वीलाई फिँजाउनुभयो;
[25] जसले झूटा अगमवक्ताका अलौकिक चिन्हहरू विफल पारिदिनुहुन्छ र जोखना हेर्नेहरूलाई मूर्ख तुल्याउनुहुन्छ; जसले बुद्धिमान्हरूका विद्यालाई उल्टो पारिदिनुहुन्छ र त्यसलाई मूर्ख बनाइदिनुहुन्छ;
[26] “जसले उहाँका सेवकहरूका वचनहरू पक्का गर्नुहुन्छ, र आफ्ना सन्देशवाहकहरूका भविष्यवाणीहरू पूरा गरिदिनुहुन्छ। जसले यरूशलेमलाई, ‘यो बसोबास हुनेछ,’ र यहूदाका नगरहरूलाई, ‘ती बनाइनेछन्,’ र भग्नावशेषको विषयमा, ‘म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु’ भन्नुहुन्छ।
[27] जसले गहिरा पानीलाई भन्नुहुन्छ, ‘सुकिजा! म तेरा खोलाहरूलाई सुकाउनेछु’,
[28] जसले कोरेसलाई भन्नुहुन्छ, ‘त्यो मेरो गोठालो हो र मेरा सबै इच्छा त्यसले पूरा गर्नेछ। उहाँले यरूशलेमलाई भन्नुहुन्छ, “त्यो पुनर्निर्माण गराइओस्,” र मन्दिरलाई “यसको जग बसालिओस्।” ’