[1] उज्जियाह राजा मरेको वर्ष मैले प्रभुलाई एउटा अग्लो र उच्च सिंहासनमाथि विराजमान हुनुभएको देखेँ। उहाँको वस्त्रको फेरले मन्दिर ढाकिएको थियो।
[2] उहाँका मास्तिर छ-छ वटा पखेटा भएका सराफहरू थिए: तिनीहरूले दुई वटा पखेटाले आफ्ना अनुहार ढाकेका थिए, दुई वटाले तिनीहरूका खुट्टाहरू ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दथे।
[3] तिनीहरूले एकले अर्कोलाई यसो भन्दैथिए: “सेनाहरूका याहवेह, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ; सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।”
[4] तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्लिए; अनि मन्दिर धुवाँले भरियो।
[5] म कराएँ, “धिक्कार छ मलाई! म नाश भएँ! किनकि म अशुद्ध ओठ भएको मानिस हुँ। म अशुद्ध ओठ भएका मानिसहरूको बीचमा बस्छु; अनि मेरा आँखाले राजा, सेनाहरूका याहवेहलाई देखेका छन्।”
[6] तब सराफहरूमध्ये एक जना आफ्नो हातमा बल्दैगरेको कोइला लिएर आए, जुन तिनले वेदीबाट चिम्टाले टिपेर ल्याएका थिए।
[7] तिनले मेरो मुख छोएर भने, “हेर्, यसले तेरो ओठ छोएको छ; तेरा अपराध हटाइएको छ र तेरो पाप क्षमा भएको छ।”
[8] तब मैले यसो भन्ने प्रभुको सोर सुनेँ, “म कसलाई पठाऊँ? र हाम्रा निम्ति को जाला?” तब मैले भनेँ, “म हाजिर छु। मलाई पठाउनुहोस्!”
[9] उहाँले भन्नुभयो, “जा, र मानिसहरूलाई भन्: “ ‘तिमीहरू सधैँ सुनिरहन्छौ, तर कहिल्यै बुझ्दैनौ; तिमीहरू सधैँ हेरिरहन्छौ, तर कहिल्यै देख्दैनौ।’
[10] यी मानिसहरूका हृदय कठोर तुल्याइदे; तिनीहरूका कानहरू मन्द गरिदे; अनि तिनीहरूका आँखा बन्द गरिदे। नत्रता तिनीहरूले आफ्ना आँखाहरूले देख्लान्, र आफ्ना कानहरूले सुन्लान्; तिनीहरूका हृदयहरूले बुझ्लान्; अनि फर्कलान् र फेरि निको होलान्।”
[11] तब मैले भनेँ, “हे प्रभु, कहिलेसम्म?” तब उहाँले जवाफ दिनुभयो: “सहरहरू विनाश भएर निर्जन नभएसम्म, र घरहरू नत्यागिएसम्म; अनि खेतहरू पूर्ण रूपले नष्ट नभएसम्म,
[12] जबसम्म याहवेहले कुनै पनि मानिसलाई टाढा पठाउनुहुन्न, र देश पूर्ण रूपले त्यागिँदैन।
[13] अनि देशमा दसौँ भाग छोडिए तापनि त्यो फेरि उजाड पारिनेछ। तर जसरी फलाँटको रूख काटिए तापनि तिनीहरूले ठुटा छोडिराख्छन्, त्यसरी नै पवित्र बिउचाहिँ देशमा ठुटा हुनेछ।”