[1] हे सियोन, जाग्, जाग्, तेरो बल धारण गर्। हे पवित्र सहर यरूशलेम, तेरो महिमाको पोशाक लगा; खतना नभएकाहरू र अशुद्धहरू तँभित्र फेरि पस्नेछैनन्।
[2] हे यरूशलेम, तेरो धुलो टक्टक्या; उठ्, र सिंहासनमा बस्। हे सियोनकी कैदी छोरी तेरो घाँटीका बन्धनका साङ्लाहरूबाट आफूलाई मुक्त पार्।
[3] किनकि याहवेह यसो भन्नुहुन्छ: “तँ सित्तैँमा बेचिएकी थिइस्, र तँ रकमविना नै छुटाइनेछस्।”
[4] किनकि प्रभु याहवेह यसो भन्नुहुन्छ: “सुरुमा मेरा मानिसहरू बसोबास गर्न भनी इजिप्टमा गए; अनि पछि अश्शूरले तिनीहरूमाथि अत्याचार गर्यो।
[5] “अब यहाँ मेरो के छ र?” याहवेह घोषणा गर्नुहुन्छ। “किनकि मेरा मानिसहरू विनाकारण लगिएका छन्; अनि शासन गर्नेहरूले तिनीहरूलाई ठट्टा गर्छन्,” याहवेह घोषणा गर्नुहुन्छ। “अनि दिनभरि नै मेरो नामको निन्दा लगातार भइरहन्छ।
[6] यसकारण मेरा मानिसहरूले मेरो नाम जान्नेछन्; यसकारण यो पहिलेबाटै बताउने म नै हुँ भनी त्यस दिन तिनीहरूले जान्नेछन्। हो, त्यो म नै हुँ।”
[7] सुसमाचार ल्याउनेहरू, शान्ति घोषणा गर्नेहरू, उद्धार घोषणा गर्नेहरू, सियोनलाई “तेरा परमेश्वरले राज्य गर्नुहुन्छ!” सुसमाचार ल्याउनेहरूका पाउ पहाडहरूहुँदो कति सुन्दर!
[8] सुन्! तेरा पहरेदारहरू आफ्ना सोर उचाल्छन्; तिनीहरू आनन्दले एकसाथ चिच्याउँछन्। जब याहवेह सियोनमा फर्केर आउनुहुन्छ, तब तिनीहरूले त्यो आफ्नै आँखाले छर्लङ्गै देख्नेछन्।
[9] हे यरूशलेमका भग्नावशेषहरू हो, आनन्दका गीतहरू जोडसित एकसाथ गाओ; किनकि याहवेहले उहाँका मानिसहरूलाई सान्त्वना दिनुभएको छ; उहाँले यरूशलेमलाई मोल तिरेर छुटाउनुभएको छ।
[10] सबै जातिहरूले देख्ने गरी याहवेहले आफ्ना पवित्र बाहुली देखाउनुभएको छ; पृथ्वीको पल्लो छेउका मानिसहरूले हाम्रा परमेश्वरको उद्धार देख्नेछन्।
[11] गइहाल! गइहाल! त्यहाँबाट निस्केर गइहाल! कुनै अशुद्ध थोक नछोओ! तिमीहरू जो याहवेहका पात्र बोक्छौ, त्यसबाट निस्केर आओ र शुद्ध होओ!
[12] तर तिमीहरू हतार-हतार गरी जानेछैनौ; अनि न त भागेर जानेछौ; किनकि याहवेह तिमीहरूका अगि-अगि जानुहुनेछ, र इस्राएलका परमेश्वर तिमीहरूका पछिल्तिर रक्षक बन्नुहुनेछ।
[13] हेर, मेरो सेवकले बुद्धिमानीसाथ काम गर्नेछ; ऊ उठाइनेछ र उच्च पारिनेछ, र ऊ अति सम्मानित पारिनेछ।
[14] जसरी उसदेखि धेरै जना चकित थिए— उसको अनुहार चिन्नै नसकिने गरी र उसको रूप मानिसको भन्दा पनि कुरूप बनाइएको थियो—
[15] त्यसरी नै उसले धेरै जातिहरूलाई पवित्र पार्नेछ; उसको कारण राजाहरूले आफ्ना मुख बन्द गर्नेछन्। किनकि तिनीहरूलाई नभनिएको कुराहरू तिनीहरूले देख्नेछन्; तिनीहरूले नसुनेका कुराहरू तिनीहरूले नै बुझ्नेछन्।