[1] सान्त्वना, मेरा प्रजालाई सान्त्वना देओ! तिमीहरूका परमेश्वर भन्नुहुन्छ।
[2] यरूशलेमसित कोमलतासाथ कुरा गर। त्यसलाई भन, त्यसका कठिन सेवा पूरा भइसकेको छ, त्यसका पापको मूल्य तिरिएको छ; त्यसले याहवेहको हातबाट आफ्ना सबै पापका निम्ति दोबर पाएको छ।
[3] एक जना कराउनेको आवाज सुनिन्छ: “उजाडस्थानमा याहवेहको निम्ति बाटो तयार पार; उजाडस्थानमा हाम्रा परमेश्वरका निम्ति राजमार्ग सीधा बनाओ।
[4] प्रत्येक उपत्यका अग्लो पारिनेछ, प्रत्येक पर्वत र डाँडा होचो बनाइनेछ; टेढामेढा जमिन मिलाइनेछ, खाल्टाखुल्टी समतल बनाइनेछ।
[5] तब याहवेहको महिमा प्रकट हुनेछ, र सारा मानव जातिले त्यसलाई एकसाथ देख्नेछन्। किनकि याहवेहको मुखले यो भनेको छ।”
[6] एउटा आवाजले भन्छ, “करा।” अनि मैले भनेँ, “म के भनेर कराऊँ?” “सारा मानिसहरू घाँसजस्तै हुन्, र तिनीहरूका गौरव मैदानका फूलहरूझैँ हुन्।
[7] घाँस ओइलाउँछ र फूल झरिहाल्छ; किनकि याहवेहको सास तीमाथि फुकिन्छ। निश्चय नै मानिसहरू घाँस नै हुन्।
[8] घाँस ओइलाउँछ र फूल झरिहाल्छ, तर हाम्रा परमेश्वरको वचन सदासर्वदा रहिरहन्छ।”
[9] हे सियोनमा शुभ समाचार ल्याउने, अग्लो पर्वतमा चढ्! हे यरूशलेममा शुभ समाचार ल्याउने, आफ्नो सोर जोडले उचाल्, सोर उचाल्, नडरा; यहूदाका नगरहरूलाई भन्, “तिमीहरूका परमेश्वर यहाँ हुनुहुन्छ!”
[10] हेर, सार्वभौम याहवेह शक्तिसाथ आउनुहुन्छ, र आफ्नो बाहुलीले शासन गर्नुहुन्छ। हेर, उहाँको पुरस्कार उहाँसितै छ, र उहाँको प्रतिफल उहाँको साथमा छ।
[11] उहाँले आफ्ना बगाललाई गोठालाले झैँ हेरचाह गर्नुहुन्छ: उहाँले थुमाहरूलाई आफ्ना अँगालोमा लिनुहुन्छ; तिनीहरूलाई आफ्नो मुटुको नजिक राख्नुहुन्छ; उहाँले स-साना बच्चा भएकाहरूलाई बिस्तारै डोर्याउनुहुन्छ।
[12] कसले आफ्नो अञ्जुलीमा पानीलाई नापेको छ, अथवा आफ्ना हातको चौडाइले आकाश नापेको छ? कसले पृथ्वीको धुलोलाई एउटा डालोमा भरेको छ, अथवा पर्वतहरू र डाँडाहरूलाई तराजुमा जोखेको छ?
[13] कसले याहवेहको मनलाई बुझेको छ, वा उहाँको सल्लाहकार भएर उहाँलाई शिक्षा दिएको छ?
[14] समझको निम्ति याहवेहले कससित सल्लाह लिनुभयो, र कसले उहाँलाई उचित मार्ग देखायो? उहाँलाई ज्ञान सिकाउने अथवा समझको मार्ग देखाउने को हो?
[15] निश्चय नै जातिहरू त बाल्टीमा भएको एक थोपा पानीजस्ता हुन्; तिनीहरू त तराजुमा भएको धुलोझैँ ठानिएका छन्; उहाँले टापुहरूलाई धुलोजस्तै तौलिनुहुन्छ।
[16] वेदीका दाउराको निम्ति लेबनान पर्याप्त छैन, न त त्यसका जन्तुहरू होमबलिको निम्ति प्रशस्त छन्।
[17] उहाँको सामु सबै जातिहरू केही होइनन्; तिनीहरूलाई उहाँले व्यर्थको र शून्यभन्दा पनि थोरै ठान्नुभएको छ।
[18] तब तिमीहरू परमेश्वरलाई कोसित तुलना गर्छौ? तिमीहरूले उहाँलाई कुन आकृतिसित तुलना गर्छौ?
[19] मूर्तिलाई कारिगरले खोपेर बनाउँछ, सुनारले त्यसलाई सुनले मोहर्छ, र त्यसको निम्ति चाँदीको सिक्रीहरू बनाउँछ।
[20] यस्तो भेटी चढाउन नसक्ने अति गरिबले चाहिँ एउटा नकुहिने काठ छान्छ; त्यसले नहल्लिने किसिमको एउटा मूर्ति बनाउन एक जना सिपालु कारिगर खोज्छ।
[21] के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के तिमीहरूलाई यो सुरुदेखि नै भनिएको थिएन? के तिमीहरूले पृथ्वीको जग बसालिएदेखि नै बुझेका छैनौ?
[22] उहाँ पृथ्वीको गोलाइमाथि सिंहासनमा विराजमान हुनुहुन्छ; पृथ्वीका मानिसहरू फट्याङ्ग्राजस्ता छन्। उहाँले आकाशलाई मण्डपझैँ तन्काउनुहुन्छ; अनि त्यसमा बास गर्नलाई त्यो पालझैँ फिँजाउनुहुन्छ।
[23] उहाँले राजकुमारहरूलाई शून्य ठहराउनुहुन्छ, र यस संसारका शासकहरूलाई हटाएर बेकम्मा तुल्याउनुहुन्छ।
[24] तिनीहरू रोपिनेबित्तिकै, छरिनासाथ, तिनीहरूले जमिनमा जरा हाल्नसाथ, उहाँले तिनीहरूलाई फुकिदिनुहुन्छ, र तिनीहरू ओइलिन्छन्; अनि भुमरीले तिनीहरूलाई भुसझैँ उडाएर लैजान्छ।
[25] “तिमीहरू मलाई कससित तुलना गर्छौ? अथवा को म समान छ?” पवित्र परमेश्वर भन्नुहुन्छ।
[26] आफ्ना आँखा उठाएर आकाशतिर हेर: कसले यी सबै कुराहरू सृष्टि गरे? उहाँ, जसले तारामण्डललाई एक-एक गरी ल्याउनुहुन्छ, र प्रत्येकलाई नामद्वारा बोलाउनुहुन्छ। उहाँको महान् पराक्रम र बलवान् शक्तिको कारण तीमध्ये एउटै पनि हराएको छैन।
[27] हे याकोब, तँ किन गुनासो पोख्छस्, हे इस्राएल, तँ किन यस्तो भन्छस्, “मेरो मार्ग याहवेहबाट लुकेको छ; मेरो मुद्दा मेरा परमेश्वरले बेवास्ता गर्नुभएको छ?”
[28] के तँ जान्दैनस्? के तैँले सुनेको छैनस्? याहवेह अनन्तका परमेश्वर हुनुहुन्छ, सारा पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ। उहाँ थाक्नुहुन्न, न त गल्नु हुन्छ, उहाँको बुद्धि अपरम्पार छ।
[29] उहाँले थकितहरूलाई सामर्थ्य दिनुहुन्छ, र दुर्बलहरूको शक्ति बढाइदिनुहुन्छ।
[30] जवानहरू पनि थाक्छन् र गल्छन्; अनि जवान मानिसहरू ठक्कर खाएर लड्छन्;
[31] तर याहवेहमा आशा राख्नेहरूले नयाँ सामर्थ्य पाउँछन्। तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्; तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्; तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।