[1] हे याहवेह, तपाईं मेरा परमेश्वर हुनुहुन्छ; म तपाईंलाई उच्च पार्नेछु र तपाईंको नामको प्रशंसा गर्नेछु; किनकि पूर्ण विश्वासयोग्यतामा तपाईंले अद्भुत कार्यहरू गर्नुभएको छ; ती कामहरू धेरै अगि योजना गरिएका कुराहरू थिए।
[2] तपाईंले सहरलाई ढुङ्गाको थुप्रोझैँ पारिदिनुभयो। अनि सुरक्षित नगरलाई ध्वंस बनाइदिनुभएको छ। परदेशीहरूका शक्तिशाली गढ अब सहर रहेन; त्यो फेरि कहिल्यै बनाइनेछैन।
[3] यसकारण बलवान् मानिसहरूले तपाईंलाई आदर गर्नेछन्; निष्ठुर जातिहरूका सहरहरूले तपाईंलाई सम्मान गर्नेछन्।
[4] तपाईं गरिबहरूका निम्ति, कष्टमा परेकाहरूका निम्ति, आँधीबतासमा शरण र गर्मीबाट जोगाउने छाया हुनुभएको छ। किनकि निष्ठुरहरूको सास पर्खालमा ठोक्किने आँधी,
[5] र मरुभूमिको गर्मीझैँ हो। तपाईंले परदेशीहरूको खैलाबैला बन्द गराउनुहुन्छ; गर्मीलाई बादलको छायाले कम गरिदिएझैँ, निष्ठुरहरूको गीत बन्द गराइन्छ।
[6] यस पर्वतमा सेनाहरूका याहवेहले सबै मानिसहरूका निम्ति मिठा-मिठा थोकहरू, छिप्पिएको मद्यको ठूलो भोज, सर्वोत्तम मासु र सर्वोत्तम मद्य तयार पार्नुहुनेछ।
[7] यस पर्वतमा उहाँले सबै मानिसहरूलाई ढाक्ने वस्त्र, र सबै जातिहरूलाई छोप्ने तन्ना नष्ट गर्नुहुनेछ;
[8] उहाँले मृत्युलाई सधैँको निम्ति निलिदिनुहुनेछ। प्रभु याहवेहले सबै अनुहारहरूबाट आँसु पुछिदिनुहुनेछ; उहाँले समस्त पृथ्वीबाट आफ्ना मानिसहरूका अपमान हटाइदिनुहुनेछ। याहवेह बोल्नुभएको छ।
[9] त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ; हामीले उहाँमा भरोसा राख्यौँ, र उहाँले हामीलाई बचाउनुभयो। उहाँ नै याहवेह हुनुहुन्छ, र हामीले उहाँमाथि भरोसा राख्यौँ; हामी उहाँले दिनुभएको मुक्तिमा आनन्दित होऔँ र रमाऔँ।”
[10] किनकि यस पर्वतमा याहवेहको हात रहनेछ; तर मोआबचाहिँ मलमा पराल कुल्चीमिल्ची पारिएझैँ तिनीहरूको देशमा कुल्चीमिल्ची पारिनेछ।
[11] पौडी खेल्नेले पौडी खेल्दा आफ्ना हात पसारेझैँ, तिनीहरूले त्यसमा आफ्ना हात पसार्नेछन्। तिनीहरूले आफ्ना हातको चतुरता देखाए तापनि परमेश्वरले तिनीहरूका घमण्ड चुर पार्नुहुनेछ।
[12] उहाँले तेरा अग्ला-अग्ला सुरक्षित पर्खालहरू ढालिदिनुहुनेछ, र ती होच्याइनेछन्; उहाँले ती भुइँमा खसाइदिनुहुनेछ, र ती धुलोमै मिलाउनुहुनेछ।